डिल्लीप्रसाद गौतम
आगामी मंसीर १० गते हुने संघ तथा प्रदेश सभाको निर्वाचनको लागि ३२ जिल्लामध्ये बागलुङमा पनि दलहरुले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । खास गरि पछिल्लो समयमा तीब्र रुपमा गति लिएको राजनीतिक ध्रुबिकरण सँगै बागलुङमा पनि बाम गठबन्धनको तर्फबाट संयुक्त रुपमा उम्मेदवारी दर्ता भएको छ । कार्तिक ५ गते निर्धारित समयभित्र बागलुङको दुबै निर्वाचन क्षेत्रको लागि आठ राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । कार्तिक ६ गते ५ बजेसम्म दाबी बिरोधको समय राखिएकोमा उक्त समय अवधिभित्र कसैको पनि दाबी बिरोध परेको छैन भने कार्तिक ८ गते बुधबार अर्थात आजकै दिन उम्मेद्वारी फिर्ता तथा निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । कार्तिक ५ गते आईतवार निर्धारित समय सिमा भित्र बागलुङको निर्वाचन क्षेत्र नं. १ र २ को लागि संघीय संसदको सदस्यका लागि नेपाली कांग्रेसका चम्पादेवी खड्का र नरबहादुर पुन तथा बाम गठबन्धनका डा. सुर्य पाठक र देबेन्द्र पौडेल, मालेको तर्फबाट निरबहादुर क्षत्री, राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट सुमनजंग राजभण्डारी तथा फोरमको तर्फबाट क्षेत्र नं १ मा महेन्द्र जिसीले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी प्रदेश सभाको लागि क्षेत्र नं १ ‘क’ मा नेकाको तर्फबाट दिपेन्द्र बहादुर थापा तथा ‘ख’ मा निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले मनोनयन दर्ता गरेका छन्भने संयुक्त बामगठबन्धनको तर्फबाट १ ‘क’ मा एमालेको तर्फबाट इन्द्रलाल सापकोटा र ‘ख’ मा राजमोका कृष्ण थापाले मनोनयन दर्ता गरेका छन् । यसैगरी क्षेत्र नं १ ‘क’ मा मञ्जेस बम मल्ल र ‘ख’ बाट जित शेरचनले मनोनयन दर्ता गरेका छन् । संयुक्त बामको तर्फबाट क्षेत्र नं २ ‘क’ मा माओबादीको तर्फबाट चन्द्रबहादुर बुढा र ‘ख’ बाट राजमोका टेक बहादुर घर्तिको उम्मेद्वारी परेको छ । त्यसैगरी क्षेत्र १ को ‘क’मा फोरमको तर्फबाट बद्रि कुमार श्रेष्ठको समेत उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । यसरी तीब्र राजनीतिक ध्रुबिकरणका बीच बाम गठबन्धनको तर्फबाट संयुक्त रुपमा र नेकाको तर्फबाट राप्रपा नेपाल तथा राप्रपा बिच चुनावी तालमेल भई उम्मेदवारी दर्ता भएसँगै जिल्लाको राजनीतिक चिसो मौसमका बाबजुद एका–एक तातिएको छ । दलहरुद्धारा उम्मेदवारी दर्तासँगै राजनीतिक बृत्तमा चुनावी जोड घटाउको काम समेत सुरु भएको छ । खासगरी राजनीतिक दलहरु आफ्नो भाबी चुनावी रणनीति बनाउन आ–आफ्नो फोरममा बैठक बसिरहेका छन्भने टोल–टोल, छिमेक गल्ली तथा होटल अनि रेष्टुराँहरुमा चुनावी चर्चा परिचर्चा तथा उम्मेदवारको पक्षमा लबिङ समेत शुरु भैसकेको छ । खास गरेर बाम गठबन्धनले कम्युनिष्ट शक्तिहरुमा बढि हौसला पैदा गरेको छभने प्रजातान्त्रिक गठबन्धनमा ‘सकस’ पैदा गरेको छ । खास गरेर नेकाका गठबन्धनका राप्रपा मात्र सामेल भएको हुनाले बाम गठबन्धनको तुलनामा प्रजातान्त्रिक गठबन्धन कमजोर रहेको चर्चा चलिरहँदा राप्रपाका युवा राजनीतिक खेलाडी बागलुङ नगरका उप मेयर सुरेन्द्र खड्काको प्रजातान्त्रिक गठबन्धनमा संलग्नताले हलचल पैदा गरिरहेको छ ।
युवा पंक्तिमा लोकप्रिय बिगतको दुई संसदिय चुनावमा खड्का परिवारका दुबै उम्मेदवारलाई सहज अवतरण गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेका युवा नेता खड्काको उपस्थितीलाई राजनीतिक क्षेत्रमा बिषेश चासोको साथ हेरिने गरेको छ । स्मरण योग्य कुरा के छ भने गत स्थानिय चुनावमा खड्का बाम गठबन्धनमा समाबेश भएलगत्तै बानपा लगायत अन्य क्षेत्रमा समेत नेकाले चुनावी हार बेहोर्नु परेको अझै ताजा नै छ । तसर्थ खड्का परिवारका हस्तीको रुपमा रहेका युवा पंक्तिका लोकप्रिय नेता सुरेन्द्र खड्काको उपस्थितिले राजनीतिक बृत्तमा कम्पन पैदा गरेको छ । त्यसैगरी बागलुङ क्षेत्र नं १ कि संघिय संसदका लागि प्रतिनिधि एवं निवर्तमान सभासद एवं सहकारी राज्य मन्त्रि चम्पादेवी खड्का पनि राजनीतिक बृत्तमा कम्ताकी खेलाडी होइनन् । त्यसैगरी १ ‘क’ प्रदेश तर्फका नेका उम्मेद्वार दिपेन्द्र थापा पनि राजनीतिक क्षेत्रमा बिद्यार्थी कालदेखी राजनीतिक क्षेत्रमा होमिएका लोकप्रिय नेताका रुपमा मानिन्छन । त्यती मात्र हैन जनजाति मगर समुदायको बर्चस्व रहेको ‘क’ मा दिपेन्द्र थापाको उम्मेद्वारीलाई अझै महत्वका साथ हेरिएको छ । त्यसैगरी, ‘ख’ का प्रकाश पौडेल पनि निवर्तमान सभासद तथा पुरानो क्षेत्र नं २ हाल १ ‘ख’ का उम्मेदवार पौडेल विकासप्रेमी नेताको रुपमा परिचित छन् । उता क्षेत्र नं २ संघीय संसदका उम्मेदवार निरज पुन पुर्वसभासद तथा युवा नेता तथा स्थानिय रुपमा लोकप्रिय नेताको रुपमा परिचित छन भने २ ‘क’ का प्रदेश सभाका सदस्य मञ्जेशबम मल्ल युवा नेता तथा सहिद परिवारका लोकप्रिय नेताको रुपमा परिचय बनाएका छन् । त्यसै गरी संयुक्त बाम गठबन्धका तर्फबाट बागलुङ क्षेत्र नं १ का संघिय संसदका सदस्य युवा नेता डा. सूर्य पाठक पनि स्थानिय रुपमा लोकप्रिय मानिन्छन् । तरपनि लामो समय बिदेशमा बिताएका पाठक सो देशमा राजनीतिमा सकृय भएको लामो समय भने नभएका कारण आमनागरिकको नजरमा कम परेको बिश्लेशकहरु बताउँछन् । यता, १ ‘क’ मा प्रदेश सभाका लागि उम्मेदवार बनेका बाम गठबन्धनका युवा नेता इन्द्रलाल सापकोटा आमनागरिकको नजरमा अत्यन्तै लोकप्रिय नेताको रुपमा मानिएका छन् ।
बिद्यार्थी जिवन देखीनै राजनीतिमा होमिएका सापकोटा एमाले जिल्ला अध्यक्ष समेत हुन् । यसरी क्षेत्र नं १ ‘क’ मा एकातर्फ नेकाका पार्टि सभापति दिपेन्द्र थापा त अर्कोतर्फ एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा दुबै युवा नेता तथा लोकप्रिय नेताको रुपमा परिचित भएका कारण यस प्रदेश सभाको चुनावलाई बिषेश चासोको रुपमा लिइएको छ । त्यसैगरी, क्षेत्र नं १ ‘ख’ प्रदेश सभाको चुनाव पनि एकदमै रोचक बनेको छ । खासगरी नेकाका तर्फबाट निर्वतमान सभासद प्रकाश पौडेल तथा गठबन्धनको तर्फबाट राजमोका कृष्ण थापाको चुनावी रौनकले जिल्ला बाहिर समेत चर्चा पाएको छ । खासगरी लामो समय सभासद भई विकासको क्षेत्रमा योगदान पुर्याएका पौडेल सो क्षेत्रमा निकै परिचित छन्भने राजमोबाट प्रतिनिधि बनेका कृष्ण थापा पनि सो क्षेत्रमा राजनीतिका खेलाडी नै हुन् । खासगरी जनमोर्चाको पकेट क्षेत्रको रुपमा रहेको उक्त क्षेत्रमा चुनावहरु बिबादित बन्ने गरेका छन् । अझै यस पटकको निर्वाचनमा तिन कम्युनिष्ट पार्टिको गठबन्धन भएका कारण यसपटकको निर्वाचन अझै रोचक हुने बिश्लेषण गरिएको छ । त्यसैगरी २ नं क्षेत्र संघिय संसदको सदस्यको निर्वाचन पनि रोचक छ । एकातिर बाम गठबन्धनको तर्फबाट १० बर्षे जनयुद्धमा बिशेष भुमिका निर्वाह गरेका देबेन्द्र पौडेल तथा नेकाका तर्फबाट पुर्व सांसद युवा नेता तथा जनजातिको पकेट क्षेत्रका नेता भएका कारण पनि सो क्षेत्रको चुनावी प्रतिष्पर्धा कम आंकलन गर्न मिल्दैन् ।
त्यसैगरी २ ‘क’ र ‘ख’ का नेका उम्मेदवार तथा गठबन्धनका उम्मेदवार पनि युवा व्यक्तित्व तथा स्थानिय रुपमा लोकप्रिय नेताको रुपमा परिचित भएका कारण दुइ पक्षिय चुनावी भीडन्त रोचक छ । खासगरी बाम गठबन्धनले यस जिल्लाको चुनावी आँकलन गर्दा संख्याले गठबन्धनको पक्षमा रहेपनि केन्द्रबाट भएको चुनावी तालमेलका कारण त्यसको असर स्थानिय नेता तथा कार्यकर्तामा नकारात्मक रुपमा परेको देखीन्छ । पार्टिमा लामो समय देखी क्रियाशिल तथा पार्टिप्रति योगदान पुर्याएका नेता कार्यकर्ताहरुमा बितृष्णा पैदा गराएको छ । खासगरी राजमोमा यसको असर प्रत्यक्ष परेको छ । नेकासंग चुनावी तालमेलमा राजमोका अमर थापालाई स्विकार गर्न तयार भएको कांग्रेस नेतृत्वसँग स्थानिय स्तरमा राजमो सकरात्मक हुँदा–हुँदै केन्द्रबाट तुहिएको छ । संघको सदस्य निर्वाचित हुने पक्का–पक्की हुँदाहुँदै राजमो दुई प्रदेशमा सिमित भएको छ । उसो त कांग्रेस नेतृत्व १ संघसहित २ प्रदेशमा समेत सहमति नजिक पुगेको राजमो एक्कासी युटर्न हुन पुगेको छ । यसरी ३ सिट सुरक्षितको नजिक पुगेको राजमोलाई राजनीतिक घाटा भएको छ । उता एमालेमा पनि आपसि तिक्तता कायमै छ । तसर्थ यदि नेकाका उम्मेदवारले बुद्धि र बिबेकको प्रयोग गर्न सकेमा र नेकाका कार्यकर्ताहरुले पनि बिगतका कमी कमजोरीहरु नदोहोराएर पाठ सिकेर अगाडि बढेमा बाम गठबन्धनबाट हतोत्साहित हुनु तथा आत्तिनु पर्ने अवस्था नभएको राजनीतिक बिष्लेशकहरुको ठम्याइ रहेको छ । समय प्रशस्त रहेको र चुनावी जोड–घटाउको समय पनि बाँकि रहेका कारण हरौं कसको पल्ला भारी हुने हो । त्यो जनमतले नै निर्णय गर्ला ।