नेपालमा मौकामा चौका हान्ने प्रवृत्ति ब्याप्त छ । चाहे चाड वाडको मौका होस या कुनै राष्ट्रिय दिवस वा पर्वको मौका नै किन नहोस् । नेपाली संस्कारमा राजनीति गर्नेहरु देखी ब्यापार व्यवसाय गर्नेहरुले मौका छोप्ने गरेको हामीलाई थाहा छ । चाडपर्व तथा राष्ट्रिय उत्सवका बेला सर्वसाधारण सामान्य बेलाको तुलनामा अलि उत्तेजित हुने र सहभागिता तथा खर्चमा समेत उनीहरु राजीखुसी रहने भएकाले मौकाको फाइदा उठाउनेलाई यो समय काइदा हुने गरेको छ । सामान्य समय र पर्वको समयमा कुनैपनि पक्षले सर्वसाधारणको हितमा गर्ने काम समान हुने भएपनि मौकाको फाइदा उठाउन जानेकाहरुले बहाना बाजीमा आफ्नो व्यापार गर्ने गरेका छन् । नेपाली राजनीति बृत्तमा हेर्ने होभने यस्ता समयलाई संगठको बिस्तार तथा हौसलामा प्रयोग गरीएको पाईन्छ । यो समयमा भेटघाट बाक्लो हुने, समुह निर्माण गर्न सहज हुने, उपस्थिती देखाउन सजिलो हुने भएकाले राजनीतिक स्वार्थमा सर्वसाधारणको प्रयोग गर्नेहरु अलिक सक्रिय भएको पाईन्छ । चार्डपर्वको बेला राजनीतिक स्वार्थ पुरा गर्नेहरुले सर्वसाधरणको भौतिक उपस्थितिको फाइदा लिइरहेका हुन्छन् भने व्यवसायीहरुले उनीहरुलाई बिभिन्न छुट र उपहारको बहानामा आर्थिक शोषण गरेका हुन्छन् । निर्धारित मुल्यलाई बढाएर बस्तु तथा सेवाहरुमा दिईएको आर्कषक छुट उनीहरुको साधारण उपभोक्ता ठग्ने कला हो । मुल्यमा कुनैपनि तवरले सामान्य समयभन्दा गिरावट नआउने गरी परिणाम ठुलो देखाएर बस्तु तथा सेवामा दिईएका छुटहरुमा सर्वसाधरण लोभिने गरेका छन् । कलात्मक बिज्ञापन र आर्कषक छुट तथा पुरस्कारका कारण खर्चमा नहिच्कीच्याउने उपभोक्ताले भने आफुहरु ठगिएको वा लुटिएको चालै पाउँदैनन् । चाडपर्व तथा राष्ट्रिय उत्सवहरुका बेला नेपालमा हवाई सेवादेखी सलाईको काँटीसम्म छुट तथा पुरस्कारको घोषणा गरेर व्यवसायको प्र्रर्वद्वन हुने गरेको छ । नारामा उपभोक्ताको हितको लागि भनेर सुकिला अक्षरहरुले लिपिबद्ध गरिएको भएपनि वास्तविकतामा भने यस्ता कामहरु उपभोक्तालाई मोहित बनाएर उनीहरुबाट प्रशस्त फाइदा लिनको लागि गरिएको हुन्छ । दैनिक उपभोग्य बस्तुदेखी बिलासिताका बस्तुको कारोवार बढि हुने यस्ता समयमा व्यवसायिक सोचले बनाइएका बिशेष अफरले सोझो रुपमा उपभोक्ताको ठगि गरिरहेका छन् । राज्यको नियमन कम हुनु, उपभोक्तामा चेतनाको अभाव हुनु र चतुर व्यवसायिक सोच भएका लगानीकर्ताहरु उपभोक्ताप्रति जिम्मेबार नबन्दा यि र यस्ता समस्या आउने गरेका छन् । सामान्य समयमा हुने क्रियाकलापमा सुन्य सहभागिता जनाउने सर्वसाधारण पनि यस्ता खालका लुटतन्त्रबाट बच्न आँफै चनाखो हुन जरुरी छ । ब्यापार, ब्यवसाय र सेवा प्रदायकहरुले पनि उपभोक्ताको उत्तेजनाको फाइदा उठाउँनु भन्दा निजी स्वार्थबाट केही माथि उठेर मौकामा चौका हान्ने प्रबृत्तिको अन्त्य गर्न जरुरी देखिन्छ । राज्यको तर्फबाट प्राप्त सूचना प्रवाह गर्दै यस्ता खालका लुटतन्त्रको विरुद्धमा खडा हुन सक्ने उपभोक्ता निर्माण गर्न जरुरी छ । उपभोक्ता हितको पक्षमा काम गर्ने संघ संगठनको पनि यस्ता खालका मौसमी फाइदा उठाउनेमा ध्यान जाओस् । अनुगमन र नियमनको पाटोलाई जिम्मेबार निकायले हेरुन् । व्यवसायी तथा सेवा प्रदायक निकायहरु जिम्मेबार तथा उत्तरदायी बन्न सक्नु पर्छ । यसैमा सबैको भलो हुनेछ ।
Previous Articleवाम एकताको परिदृश्यवाम एकताको परिदृश्य
Next Article २०७४ कार्तिक २ गते बिहिबारको राशिफल