क्षेत्र नम्बर २ मा बुटवल र आसपासका क्षेत्र पर्दछन्। पौडेल दुवै संविधान सभाको चुनावमा बुटवल क्षेत्रबाट विजयी भएका हुन्। अर्का उपमहासचिव घनश्याम भुसाललाई रुपन्देही क्षेत्र नम्बर १ र ३ गरी २ क्षेत्रबाट सिफारिस गरिएको छ। उनी दुईमध्ये एक ठाउँबाट उमेद्वार बन्ने छन्।
उपमहासचिव भुसाल २०७० को चुनावमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँडसँग झिनो मतले पराजित भएका थिए। तत्कालीन सांसद धनपति उपाध्यायको निधनपछि २०५३ सालमा भएको संसदीय उपनिर्वाचनमा भने भुसाल भैरहवा क्षेत्रबाट विजयी भएका थिए। एमाले विभाजनका बेला २०५६ सालको आम चुनावमा उनी मालेबाट चुनाव लडेर पराजित भएका थिए।
क्षेत्र नम्बर १ जिल्लाको पूर्वी भाग हो। १ बाट भुसालसँगै स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, पोलिट्ब्युरो सदस्य राधा ज्ञवाली, केन्द्रीय सदस्य लीला गिरी र मीना पाण्डेको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको छ। छविलाल विश्वकर्मा अघिल्लो चुनावमा सोही क्षेत्रबाट कांग्रेसका अब्दुल रज्जाकसँग पराजित भएका थिए। राधा ज्ञवाली उर्जामन्त्री पनि भइसकेकी छन्। पार्टीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका लीला गिरी २०६४ सालको संविधान सभाको चुनावमा तत्कालीन रुपन्देही ३ बाट कांग्रेसका बालकृष्ण खाँडसँग पराजित भएका थिए।
भैरहवा सहर रहेको रुपन्देही क्षेत्र नम्बर ३ मा घनश्याम भुसालसँगै विजय पौडेल र पुष्पाञ्जलि उपाध्यायको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएको छ। विजय पौडेल एमालेका पुराना नेता मोदनाथ प्रश्रितका छोरा हुन्। बाबुले सक्रिय राजनीति छोडेपछि छोरा केन्द्रीय तहमा पुगेका छन्। उनी अहिले पार्टीको पोलिट्ब्युरो सदस्य छन्। पुष्पाञ्जलि उपाध्याय पूर्व सांसद स्व. धनपति उपाध्यायकी पत्नी हुन्।
मर्चवार क्षेत्र अन्तर्गत पर्ने रुपन्देही ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ विन्ध्याचल यादव र गंगा ठठेरको नाम जिल्ला कमिटीले सिफारिस गरेको छ। अघिल्ला चुनावहरुलाई आधार मान्दा यो निर्वाचन क्षेत्र एमालेको लागि निकै कमजोर ठाउँ हो।
रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। भट्टराई एमालेको विद्यार्थी संगठन अनेरास्ववीयूको पूर्वअध्यक्ष हुन्।
त्यस्तै प्रत्यक्षतर्फ प्रदेश सभाका लागि क्षेत्र नम्बर १ क बाट सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल, ध्रुव खरेल, सुनिल कौशल र कृष्ण न्यौपानेको नाम जिल्ला कमिटीले सिफारिस गरेको छ भने क्षेत्र नम्बर १ ख बाट यज्ञ गैरेलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।
त्यसैगरी क्षेत्र नम्बर २ क बाट गोपाल भट्टराई, गोपाल राना र ख बाट बाबुराम भट्टराई, भोजप्रसाद श्रेष्ठ, नन्दीकेशर ढकाल, गुरुप्रसाद शर्मा र विमला पन्थीको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ३ क बाट रामप्रसाद बस्याल, भरत पोखरेल र ज्ञानदेव हटुवाल तथा ख बाट श्याम खरेल, जीवलाल अर्याल, डिला अर्यालको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको छ। प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ क बाट पल्लवी सुब्बाका र ५ क बाट भूमिश्वर ढकाल, मीनप्रसाद घिमिरे, ज्ञानकुमारी बेलबासेको नाम सिफारिस गरिएको छ। जिल्ला कमिटीबाट सिफारिस भएका नाममध्येबाट एमालेको स्थायी कमिटीले उमेद्वारको टुंगो लगाउने छ।
सबै समुदायको प्रतिनिधित्व हुने गरी समानुपातिक उम्मेदवारको नाम पनि सिफारिस गरेको एमालेले जनाएको छ। यद्यपि हालै नेकपा माओवादी केन्द्रसँग वाम गठबन्धन भएपछि केही क्षेत्र माओवादी केन्द्रलाई छोड्नुपर्ने छ।
Previous Articleवाम एकता प्रस्तावमा विदेशीको धम्की आएको छ- प्रचण्ड
Next Article वाम एकतामा दिल्ली ‘सरप्राइज’