बेनी, २१ असोज – मकैको बिउले बजार नपाएपछि म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीका कृषकहरु निराश भएका छन्। अघिल्ला वर्षहरूमा जिल्ला कृषि विकास कार्यालयमार्फत बिउ बिक्री हुने गरेको भए पनि यो वर्ष कार्यक्रम र बजेट नभएको भन्दै खरिद गर्न नसक्ने बताएपछि कृषकको दश मेट्रिक टन बिउ त्यसै थन्किएको छ।
कृषि विकास कार्यालयको कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएको र स्थानीय तहसँग समन्वय नहुँदा मकैको बिउ बजारीकरणमा समस्या देखिएको तोरीपानीस्थित भगवती बिउ उत्पादक कृषक समूहका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताए।
अघिल्ला वर्षहरुमा मनकामना र अरुण जातका बिउ प्रतिकेजी ५५ रुपैयाँका दरले कृषि विकास कार्यालयमार्फत म्याग्दी, तनहुँ, लमजुङ लगायत जिल्लामा जाने गरेको थियो।
कृषि विकास कार्यालयले उपलब्ध गराएको मुलबिउबाट तोरीपानीमा पहिलो पुस्ताको बिउ उत्पादन गरीन्छ । तोरीपानीका ५० कृषक बिउ उत्पादन कृषक समूहमा आबद्ध छन्। स्थानीय तहले बिउबिजन खरिद र वितरणसम्बन्धी कार्यक्रम तथा योजना समावेश नगर्दा अन्य ठाउँका कृषकपनि मारमा परेका छन्।