बागलुङ, १८ असोज – एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वामपन्थि चुनावी तालमेल भएको दोस्रो दिन कांग्रेससहित ६ राजनीतिक दलले ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ निर्माण गरि प्रदेशसभा तथा संघीय संसदको निर्वाचनमा एकजुट भएर अघि बढ्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पहलमा बालुवाटारमा बुधबार बसेको बैठकमा कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकबीच बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने सहमति भएको हो।
बृहत लोकतान्त्रिक गठबन्धनमा रहने शक्तिहरुबीच चुनावी तालमेल कसरी गर्ने भन्ने सम्बन्धमा गृहकार्य गरीसहमतिमा पुग्न दलहरुले ७ सदस्यीय कार्यदल बनाएका छन्।
कार्यदलमा कांग्रेसका २ र अन्य ५ दलबाट १/१ सदस्य रहने छलफलमा सहभागी काँग्रेस नेता बिमलेनद्र निधिले बताए। कार्यदलमा को को सदस्य रहने भन्ने जानकारी सबै दलले बिहीबार उपलब्ध गराउने उनले बताए।
बालुवाटार बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, निधिसहितका नेता थिए।त्यस्तै, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा, संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राप्रपाबाट कमल थापा, दिलनाथ गिरी, राप्रपा (प्रजातान्त्रिक) बाट अध्यक्ष पशुपति शमसेर जवरा, विक्रम पाण्डे, नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजय गच्छदार, गोपाल दहितसहितका नेताहरु उपस्थित थिए।
लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेससहित ६ दल सहमत
Previous Articleप्रभासले विवाह गर्दै, को हुन् युवती ?
Next Article गजल : फूल फुल्छ शरदमा