१० असोज, काठमाडाैं । नेपालमा अझै पनि करिव ५८ प्रतिशत महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेको एक तथ्यांकले देखाएको छ । असुरक्षित गर्भपतन गर्नेमध्य पनि ५६ प्रतिशत विवाहिता महिला तथा दुई प्रतिशत अविवाहित रहेको महाशाखाले जनाएको छ । ‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजन अधिकारलाई टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा विभागले यस वर्ष तेश्रो ‘राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस-२०७४’ मनाएको छ । २०५९ सालमा मुलुकी एनेको एघारौ संसोधन मार्फत नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको दिनको सम्झना गर्दै परिवार स्वास्थय संस्थाले हरेक वर्ष यो दिवस आयोजना गर्दै आएको छ ।
यही दिवसको अवसरमा परिवार स्वास्थ्य महाशाखाले बुधवार राजधानीमा आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धि कार्यक्रममा बोल्दै महाशाखा प्रमुख डा. नरेश प्रताप केसीले नेपालमा करिब ५८ प्रतिशत महिलाहरुले सरकारले मान्यता नदिएको स्वास्थ्य संस्थाबाट वा असुरक्षित गर्भपतन गराउने गरेको बताएका छन् । त्यस्तै, २० वर्ष मुनीका करिब १३ हजार २२९ले गर्भपतन गर्ने गरेको तथ्यांकमा उल्लेख छ । ‘नेपालका ग्रामीण भेगहरुका महिलालाई गर्भपतन सेवा निशुल्क छ भनेर जानकारी नहुनु र नेपालको कानुनले गर्भपतनलाई कानुनी मान्यता दिएको छ भन्ने थाहा नहुनुले पनि नेपालमा असुरक्षित गर्भपतन गर्नेकोे संख्या ५८ प्रतिशत रहेको देखिन्छ’, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा. नरेश प्रताप केसीले भने,’ यसको न्युनीकरणको लागि सुरक्षित गर्भपतनबारे जनचेतना फैलाउन आवश्यक छ’ ।
नेपालमा १२ हप्तासम्मको गर्भपतनलाई कानुनले नै मान्यता दिएको अवस्थामा नेपालमा सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको हाराहारीमा चिकित्सक, नर्स तथा अनमीलाई तालिम प्रदान गर्नुका साथै करिब ११०० स्वास्थ्य सँस्थाहरुबाट सुरक्षित गर्भपतन सम्बन्धी सेवा सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा वर्षेनी करिब २ करोड २० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । त्यस्तै, नेपालमा प्रत्येक वर्ष झण्डै तीन लाख २२ हजारले गर्भपतन गराउने गरेकोमा त्यसमध्य करिब ५८ प्रतिशत अर्थात एक लाख ८६ हजारले असुरक्षित गर्भपतन गराउने गरेका छन् । असुरक्षित गर्भपतनकै कारण विश्वमा करिब ४७ हजार महिलाको मृत्यु हुने गरेकोमा नेपालमा करिब ७ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ ।
Previous Article१० असोज २०७४, ढोरपाटन दैनिक, साथमा दशैं बिशेष ४ पेज
Next Article काभ्रेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु