१० असोज, बागलुङ–स्थानीय स्तरमा रहेको युवा जनशक्तिको समावेशी विकाससहित स्थानीय स्तरमा स्वरोजगारी सिर्जना गरी युवा पलायनको अवस्थालाई न्यूनिकरण गरी ग्रामिण क्षेत्रमा युवा उद्यम विकास गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्को दीर्घकालिन योजना र परिकल्पना अनुरुप नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कून संगको सहकार्यमा सञ्चालित युवा उद्यम कार्यक्रम अन्तर्गत बागलुङमा सोमबार एक कार्यक्रमका बीच त्रिपक्षीय सम्झौता कार्य सम्पन्न भएको छ । जिल्ला युवा समिति बागलुङ, वित्तीय सेवा प्रदायक संस्थाको रुपमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र जिल्लामा परियोजना सञ्चालनका लागि प्रस्ताव पेश गरी छनौट भएका उद्यम समुहबीच सम्झौता कार्य सम्पन्न भएको हो । युवा उद्यम कार्यक्रम सञ्चालनका लागि बागलुङबाट ४ वटा समुहहरु छनौटमा परेका थिए । १ उद्यम समुहमा १० जना व्यक्तिहरु रहने प्रावधान रहेको छ । छनौटमा परेका समुहहरुलाई कार्यक्रम सञ्चालनका लागि प्रत्येक समुहलाई ५ वर्षका लागि रु. ५ लाख रुपैयाँ निरब्याजे दिने र विभिन्न समयमा जिल्ला युवा समिति र सिवाईसीले उद्यम सञ्चालन भए नभएको बारेमा स्थलगत निरीक्षण गरी समुहलाई आवश्यक निर्देशन दिन सक्ने लगाएतका विषयहरु सम्झौतामा उल्लेख छ । सम्झौता कार्यक्रममा युवा विकास समिति बागलुङका प्रमुख कुश्मराज सुवेदी, सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र नेफ्स्कून फिल्ड कार्यालय पोखराका प्रमुख जगन्नाथ लामिछानेले कार्यक्रमको बारेमा उद्यम समुहहरुलाई स्पष्ट पारेका थिए ।
Previous Articleम्यान्मारमा हिन्दु धर्मालम्बीको सामूहिक चिहान
Next Article १० असोज २०७४, ढोरपाटन दैनिक, साथमा दशैं बिशेष ४ पेज