१० असोज,काठमाडौं–सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिक बाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा सोमबारको मन्त्रिपरिषदमा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग्याइने छ । सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिनुपर्ने लगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिक बाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो । यसैबीच, केही दिनयता अन्दोलन गर्दै आएको नेपाल चिकित्सक संघले सरकारसँग गरेको वार्ता असफल भएको भन्दै थप आन्दोलन घोषणा गरेको छ । देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सबै स्वास्थ्य सेवा ठप्प गर्दै आएको संघले दशैंकाबेला पनि सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघको मागका बारेमा आइतबार बेलुका ६ बजेसम्म वार्ता चलेको थियो । वार्तामा सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रको संवेदनशिलतालाई गम्भिर रुपमा मनन गर्न नसकिएको संघका महासचिव लोचन कार्कीले जनाएका छन् । सोमवार काठमाडौं उपत्यकामा रहेका आकस्मिक सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाहेक अन्य सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले एप्रोनसहित स्वास्थ्य मन्त्रालयको प्राङगणमा दुई घण्टा धर्ना दिने भएका छन् । साथै जिल्लामा रहेका चिकित्सा संघका शाखा कार्यालय र अन्य जिल्लाहरुमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयअगाडि एप्रोनसहित नै धर्ना जनाएका छन् ।
Previous Articleदशैंको अवसर पारेर,जिल्लाका ७ बन्दीको कैद सजाय मिनाहा
Next Article म्यान्मारमा हिन्दु धर्मालम्बीको सामूहिक चिहान