बागलुङ, ५ असोज – नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन आज घरडेराका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवता आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ । बिहानै आत्मा र शरीर शुद्धिसहित लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने प्रचलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ९ः४१ बजे घटस्थापनाका लागि अति उत्तम साइत भनेको छ । शास्त्रमा जमरालाई समृद्धिको प्रतीक र आयुर्वेदमा पौष्टिक वनस्पति मानिएको छ । देवीलाई मन पर्ने बालीका रूपमा जमराका जौ, मकै र गहुँलाई मानिएको छ ।
असत्यमाथि सत्यको विजय र आसुरीमाथि दैवी शक्तिको विजयस्वरूप घटस्थापनादेखि नौ दिनसम्म जमरा राखिएको स्थान वा देवपीठमा दुर्गा सप्तसती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ । यो नौ दिन घटस्थापनाका दिन शैलीपुत्री, अर्को दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदातृका रूपमा देवी भगवतीको आराधना गरिन्छ ।
घटस्थापनाका दिन घट कलश स्थापना गर्ने र जमरा राख्ने दुई कार्यलाई मुख्य रूपमा रहने गरेको छ । हनुमानढोका दरबारस्थित सरकारी दसैँघरमा पनि बिहान ९ः४१ बजेको साइतमा घटस्थापना गरेर जमरा राखिँदैछ । दसैँघरमा महालक्ष्मी, महाकाली र महासरस्वतीको समेत आराधना गरेर राखिएको जमरा र टीका बडादसैँका दिन सर्वसाधारणलाई पनि वितरण गर्ने व्यवस्था गरिएको छ ।
घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमा भनिने आश्विन शुक्ल पूर्णिमासम्मको पन्ध्र दिन बडादसैँ देशभर धूमधामसँग मनाउने गरिन्छ । दसैँलाई दसहरा भन्ने गरिन्छ ।
आजदेखि बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत ९.४१ बजे
Previous Articleयी हुन गरिब देशका धनाढ्य मन्त्रीहरू
Next Article बाढी पीडितलाई राहत वितरण गरियो