दक्षिणको व्यापारिक मानिने कुश्मीसेरालाई बागलुङ सदरमुकामसंग जोड्नेका लागि खनिएको मोटरबाटो वर्षाै गुज्रिदा पनि काम पुरा हुन सकेको छैन । तोकिएकै अवधिमा काम सम्पन्न नहुँदा एकातिर लागत खर्च बढ्दै जान्छ भने अर्काेतर्फ एउटै काममा धेरैपटक बजेट खर्चिनु पर्ने हुन्छ । ठेकेदार कम्पनीको चरम लार्पवाही र सरकारी निकायको मौनताले बागलुङ–कुश्मीसेरा जोड्ने मोटरबाटो जस्तै अन्य पुर्वाधार निर्माणका कामले गति लिन सकेका छैनन् । कुनै पनि योजना सम्पन्न गर्नको लागि सरकारी निकाय र ठेकेदार कम्पनीबीच सम्झौता पनि हुन्छ । तर, ति सम्झौताको अक्षरस पालना नहुँदा पुर्वाधार निर्माणको काम कछुवा गतिबाट गुज्रिरहेका छन् ।
यस्तै नियतिबाट गुज्रिरहेका छन् बागलुङ नगरभित्रको चक्रपथ र धौलागिरी अंचल अस्पतालको भवन निर्माणको काम । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले समयसिमामा काम सम्पन्न गर्न सकिरहेका छैनन् तर, सम्बन्धित निकायले त्यसको बारेमा खासै चासो लिएको पनि पाइदैन । निर्माण सम्पन्न गर्ने मिति सकिएको एक बर्ष बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालयको भवन अझै निर्माणाधिन अवस्थामा छ । सुरक्षा प्रमुखले ताकेता गर्दा समेत काम सम्पन्न नगर्ने प्रवृत्तिले सडक, खानेपानी र सिंचाईको योजनाहरु कसरी पुरा होलान् भन्ने विषयमा बहस सिर्जना भएको छ ।
कमसल मसला प्रयोग गरेर निर्माण सम्पन्न गरिएका पुर्वाधारहरु छोटो अवधिमा जीर्ण हुने अवस्था पनि विकराल छ । निर्माणको जिम्मा दिएपछि समय–समयमा अनुगमन नगर्ने सम्बन्धित निकायको बेवास्ताले मजबुत संरचनाको आश गर्नु पनि बेकारको कुरा हो । ठेक्का सम्झौतामा ठेकेदार र सरकारी निकायबीच हुन्छ कमिसनको खेल । कमिसनको खेल भएपछि अनुगमन गर्नु पनि नौटङकी जस्तै हो । विकासको पैसामा भागबण्डा लगाएपछि मजबुद संरचनाको आश गर्नु भनेको ‘आकाशको फल आँखातरि मर’ भने जस्तै हो । सेटिङ र डिनरका लागि रातीमा डेटिङ हुने भएपछि निर्धारित समयमा कसरी काम सम्पन्न हुन्छ ? पुर्वाधार निर्माणको विषयमा ठेकेदार र सम्बन्धित निकाय बीच सेटिङकै कारण भवन डिभिजन कार्यालयमा व्यापक तोडफोड भएको घटना हाम्रो मस्तिष्कमा अझै ताजा छ । जबसम्म भौतिक संरचना निर्माणका विषयमा हुने सेटिङ रोकिदैन तबसम्म निर्माणको काम समयमा हुँदैन । यहाँ जिम्मेवारी र इमान्दारिताको अभाव छ ।
ठेकेदार कम्पनी र सरकारी निकाय इमान्दार हुने होभने पुर्वाधार निर्माणका कामले तीव्रता पाउनेमा कुनै दुविधा छैन । निर्माणको जिम्मा लिएर अधकल्चो काम छाडेर ठेकेदार भागेका पनि थुप्रै घटना बाहिर आएका छन् । तर, उनीहरुको खोजी नीति भएको कहिल्यै सुनिदैन । जबसम्म ठेकेदार र सरकारी निकायका कमिसनधारीलाई लगाम लगाउन सकिदैन तबसम्म निर्माणका कामले गति लिन सक्दैनन् । समयमै काम नसक्ने ठेकेदारलाई कालोसूचीमा राख्ने बताएको पनि यदाकदा सुनिन्छ तर, राखेको कहिल्यै बाहिर आउँदैन । यस्ता तमाम समस्यालाई चिर्न सकेमात्र समयमै काम सम्पन्न हुने छाँट आउँछ ।
Previous Articleचिकित्सा कोषले ग¥यो सम्मान
Next Article २०७४ असोज २ सोमबार, त्रयोदशी को राशिफल