राजेशचन्द्र रा.भ.
एउटा नेपाली उखान छ– ‘१२ बर्षपछि पोइ आएको खै म के जातीलाई ज्वरो आएको’ भनेझै भएको छ बागलुङबासीलाई बिजुली । देश लोडसेडिङ्गमुक्त भएपछि नेपाली जनताले उज्यालोको अनुभूती गरिरहेको समयमा बागलुङबासी भने छिनछिनमा जाने बिजुलीबाट हैरान भएका छन् । किन र के कारणले दिनमा हजारौं पटक बिजुली जान्छ, यथार्थ कसैलाई थाहा छैन । दिनहुँ पटक–पटक बिजुली जाने समस्या भएको पनि एक बर्ष भन्दा बढी भैसक्यो । तर यसलाई अहिलेसम्म समाधान गर्न सकिएको छैन । बागलुङका आमउपभोक्ता भने बिद्युत कति बेला जान्छ, कति बेला आउँछ भनी सोध्ने निकाय भएपनि सोधपुछ गर्दागर्दै हैरान भैसकेका छन् । अहिले प्रायः सबै काम बिद्युतबाट हुने भएको हुँदा पटक–पटक जाने बिद्युतको कारणले पनि काम गर्न झन् गाह्रो हुँदै गैरहेको छ । बिद्युत अनियमितता कै कारणले धेरै उपभोक्ताको बिद्युतिय सामान जल्ने र बिग्रिने समस्या बढ्दै गएको छ ।
साँच्चै नेपालमा भएको अध्यारोको खेतीलाई अन्त्य गरि उज्यालो नेपाल बनाउन नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले खेलेको प्रभाबकारी भुमिका कै कारण अहिले देश उज्यालो भएको हो । तर धौलागिरी क्षेत्रमा भने पहिला पनि खासै लोडसेडिङ भने थिएन । राजधानी लगायत देशको प्रमुख शहरमा लोडसेडिङ्ग हुँदै गर्दा धवलागिरी क्षेत्रका जनताले मज्जाले बिजुली बाल्न भने पाएका थिए । नेपाल बिद्युत प्राधिकरणले राजधानी लगायतका देशका प्रमुख शहरमा लोडसेडिङ्ग मुक्त गरेर बर्षाै सम्म अध्यारोमा बस्न बाध्य भएका जनतालाई भने ठुलो राहत मिलेको छ । देश भित्रकै माफियातन्त्रका कारण लोडसेडिङ्ग भएको कुरा पत्ता लगाएर त्यसको समाधान गरि देशलाई उज्यालो मार्गतर्फ लगिरहेको समयमा भने धौलागिरीबासीले अहिले ठूलो सास्ती ब्यहोर्नु परेको छ । लोडसेडिङ्ग हैन तर कुनै तालिका पनि छैन । कति बेला बत्ती जाने, कति बेला आउने कुनै ठेगान नै छैन । बागलुङ वितरण केन्द्रमा फोन गरेर सोधेमा कहिले मोदीबाट भन्ने जवाफ आउँछ त कहिले केही पत्ता लागेको छैन भन्ने बाहेक अर्को जवाफ नै छैन । थोरै मात्र हावा लागेपछि बिजुली जान्छ । राइस् कुकरमा खाना पकाउने गृहणीहरूको त बिजुलीले बिजोग बनाउने गरेको छ । न त खाना नपकाइकन बस्ने कि त बिजुली कुरेर बस्ने समस्या एकछिनको हैन साँच्चै यसबारे गम्भीर भएर बिद्युत प्राधिकरणले सोचेको देखिएन ।
कहिले क्षमता भन्दा बढी लाइन आएको कारणले गर्दा ट्रान्सफर्मरले धान्न सकेन, कहिले बत्ती कन्ट्रोल गर्न सक्ने सब स्टेशन भएन भन्ने कुरा सुन्न थालेको पनि धेरै भैसक्यो । तर समस्या भने २० को १९ भएको छैन । जिल्लामा प्रमुख जिल्ला अधिकारी, ब्यापारी, ब्यवसायी, उद्यमी, उद्योगधन्दा, बैक तथा बित्तिय संस्था छन् । छिन–छिनमा जाने बिजुलीले धेरै झन्झट ब्यहोर्नु परेको छ । तर सबै मान्छे चुपचाप छन् । सांसददेखि मन्त्री र नेताहरू बागलुङले धेरै जन्माएको छ तर पनि कसैको कानमा बतास चलेको छैन । अहिले छिन–छिनमा जाने बत्ती त यिनीहरूको प्राथमिकतामा नै पर्दैन भन्ने कुरा स्पष्ट देखिन्छ । साँच्चै बिद्युत कार्यालयको हाकिमलाई आफ्नो पार्टीमा प्रबेश गराउन मिल्ने भए मज्जाले भब्य कार्यक्रम गरेर देखाउने थिए । तर छिन–छिनमा जाने बत्तीको बारेमा बोल्ने कुनै कार्यक्रम नै छैनभन्दा हुन्छ । अहिले अधिकांश काम बिजुली कै भरमा गर्नुपर्ने अबस्था छ । बिजुलीको कुनै भर छैन । नेपाली एउटा उखान छ– ‘सालीको आस गर्दा भेनाको बनिबास भयो’ भने जस्तो भएको छ बिजुलीको हालत पनि । अहिलेसम्म यो समस्यालाई किन समाधान गर्न सकिएन भन्ने जवाफ पनि दिदैन नेपाल बिद्युत प्राधिकरण । साँच्चै भन्ने होभने कुलमान घिसिङ धौलागिरीको बिद्युत समस्याबारे कुनै जानकारी पनि छैनन् होला । नत्र भने यस्तो अबस्था अबश्य हुने थिएन होला । बागलुङ सदरमुकामका गृहणीहरूले बरू बत्ती पटक–पटक जाँदा कुलमान घिसिङलाई सम्झन थालेका छन् । बरू कुलमानको नम्बर भए हामी आफै फोन गरेर अहिले भैरहेको ब्यथितीबारे कुरा गर्ने थियौ भनेर भनेको पनि नसुनिएको हैन । नेपाल राम्रो बनाउन नसकेको हाम्रो सोच नराम्रो भएर पनि हो ।
हामीले जहिल्यै पनि नकारात्मक कुरा सोच्छौ तर अहिले भने उज्यालो नेपाल बनाउनेबारे सकारात्मक सोच भएपनि त्यसलाई कार्वान्यन गर्ने निकाय बेकामे हुँदा समस्या जस्ताको त्यस्तै रहेको हो । बेलुकी खाना पकाउने समयमा पटक–पटक बत्ती जाँदा गृहणी मर्कामा परेका छन् । स्कुल कलेजमा पढ्ने बिद्यार्थीले बत्ती कै कारण राम्रोसँग पढ्न पाएका छैनन्, संचार गृह सबै प्रभावित छन् । पटक–पटक बत्ती जाँदा न त राम्रोसंग एफएम रेडियो सुन्न सकिन्छ, न त टेलिभिजनमा खबर हेर्न नै सकिन्छ । यसले गर्दा सबै क्षेत्र प्रभावित बनेको छ । राम्रोसँग बत्ती नआउँदा पत्रिका समेत प्रकाशित नहुने र स्कुलमा भएको कम्प्युटर चलाउन समस्या त आफ्नो ठाउँमा छ । विद्युतिय पुस्तकालय समेत बिजुली कै अनियमितताको कारण प्रत्यक्ष प्रभावित बनेको छ । पटक–पटक बिजुली जाँदा कम्प्युटर लगायतका उपकरण समेत बिग्रन पुगेका छन् । इन्टरनेटदेखि बिद्युतिय सेवामा रहेका साधन सबै राम्रोसँग आमउपभोक्ताले प्रयोग गर्न पाएका छैनन् । सबै ठाउँमा हुने राजनीतिक हस्तक्षेप, राजनीति नियुक्ति, बिजुली जस्तै छिनछिनमा हुने सरकार परिवर्तनको कारणले पनि काम गर्ने निकाय जिम्मेवारीपुर्ण छैनन् । अहिले नेपालीहरूको महान् चार्ड बिजया दशमी तथा दिपावली पनि नजिकै आइरहेको छ ।
सबै उपभोक्ताले बिजुली झिलिमिली बाल्ने समय आएको छ । चाडपर्वको समयमा झन् बत्ती बढी जाने निश्चित छ । सरोकारवाला निकायको ध्यानाकर्षण हुन सक्यो भने केही परिवर्तन हुने थियो कि । अब छिन–छिनमा जाने बिजुलीको समाधान निकाल्ने काम छिटोभन्दा छिटो होस् । अबदेखि छिन–छिनमा बत्ती गएको गुनासो गर्न नपरोस् भन्नको लागि विद्युत कार्यालय संगै अन्य जिम्मेवार निकाय सचेत हुन जरुरी छ ।