विभिन्न कारणहरूबाट सडकका पेटीहरूमा कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त तथा मानसिक सन्तुलन गुमेका व्यक्तिहरूको सेवा गर्ने उदेश्यका साथ नेपालका विभिन्न ठाउँमा मानव सेवा आश्रम खोलिएका छन् । विशुद्ध सामाजिक सेवामा समर्पित हुने उदेश्यले मानव सेवा आश्रम संचालनमा आएका छन् । सडकपेटीमा जीवन व्यतीत गर्न विवश मानिसहरूको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने, उनीहरूलाई बस्ने ठाउँ र खानपानको उपयुक्त व्यवस्था गर्ने, सडकपेटीमा बेवारिसे रूपमा रही कष्टकर जीवनयापन गरिरहेका अनाथ, अपाङ्ग, अशक्त, असहाय, वृद्ध–वृद्धा, तथा मानसिक असन्तुलनका सिकार भएका व्यक्तिहरूलाई उपचारात्मक सेवा पु¥याउने र सीपमूलक तथा आयमूलक स्वरोजगार कार्यक्रमअन्तर्गत तालिमहरू संचालन गरी आश्रितहरूको व्यक्तित्व विकासमा सहयोग पु¥याउने काम मानवसेवा आश्रमले गर्दै आएका छन् ।
असक्त र बेसहारा नागरिकको संरक्षणको लागि बागलुङमा पनि मानवसेवा आश्रम संचालन आएको धेरै भईसकेको छ । मानव सेवा आश्रम संचालनमा आएपछि बागलुङका सडकपेटीमा बेसहारा जिवन गुजारिरहेकाले ठूलो राहत पाएका छन् । विशेषगरी सडक बालबालिका र परिवारबाट अपहेलित वृद्ववृद्वाका लागि मानवसेवा आश्रम ए शितल छहारी भएको छ । युवाहरुको क्षेत्रमा आफुलाई क्रियाशिल बनाएको सेभ द युथ बागलुङले आश्रम सञ्चालनमा विशेष भूमिका खेलेको छ । आश्रममा मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहाराविहीन बनेका नागरिकले त्यहाँ आश्रय दिएका छन् । आश्रमले त्यहाँ आश्रितलाई सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा उपलब्ध गराउँदै आएको छ । आश्रम विभिन्न सहयोगी हातहरुबाट संचालन हुँदै आएको छ । भजन गाउने ओठभन्दा सेवा गर्ने हात महान हुन्छन् भन्ने भावनाबाट प्रेरित व्यक्तिहरुले आश्रम संचालनको लागि मन फुकाएर सहयोग गरिरहेका छन् ।
शुक्रबार मात्रै अधिवक्ता तथा मानवअधिकारर्मी राम शर्माले आफ्नो जन्मदिन पारेर आश्रमलाई ५ हजार सहयोग गरेका छन् । जन्मदिनमा हुने फजुल खर्चलाई बचाएर शर्मा जस्ता धेरै व्यक्तिहरुले आश्रमलाई सहयोग गर्दै आएका छन् । विवाह, व्रतबन्ध र जन्मदिनमा सिमाहिन खर्च गर्ने परिपाटी हाम्रो समाजमा विकृतिको रुपमा मौलाउँदै गएको छ । विवाह, व्रतबन्ध र जन्मदिनमा गरिने फजुल खर्चलाई बचाएर मानवसेवा आश्रम जस्ता सामाजिक संस्थालाई सहयोग गर्ने होभने ठुलो धर्म मिल्छ । यतिमात्रै होइन एक जना व्यक्तिले गरेको सानो सहयोगबाट बेसहाराहरुले सहारा पाउन सक्छन् । मानवसेवा आश्रमलाई सहयोग गर्नुपर्ने दायित्व हामी सबैको हो । त्यसैले भोजभतेरमा खर्च गर्ने पैसा अब आश्रम जस्ता सामाजिक संस्थालाई सहयोग गर्नुपर्छ । विभिन्न कारणले बेसहारा बनेर आश्रममा पुग्न बाध्य भएकाहरु तपाई हाम्रै समाजका सदस्य हुन् । उनीहरुलाई समाजमा स्थापित गर्नु हाम्रो अभिभारा हो । त्यसको अगुवाई सेभ द युथ बागलुङले गरेको छ । मुठीदान, विवाह, जन्मोत्सव, व्रतबन्धमा हुने खर्चलाई कटाएर आश्रमका आश्रितहरूलाई सहयोग गर्ने होभने मात्रै उनीहरुबाट हामीले असली आर्शिवाद पाउन सक्छौ ।