३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटकको दशैंमा मूल्यवृद्धि नियन्त्रणमा रहने बताएको छ ।
सरकारको प्रभावकारिता, बजार अनुगमनमा तीव्रता र समग्र आर्थिक परिसूचकमा सुधारलाई त्यसको कारण बताएको छ, केन्द्रीय बैंकले ।१२ वैशाख ०७२ को विनासकारी भूकम्प, सोही वर्ष असोजदेखि फागुनसम्मको नाकाबन्दी, मधेश आन्दोलनलगायत विपत्तिको प्रभाव गत वर्षको दशैंसम्म कायम देखिएको थियो ।
उपभोक्ता मुद्रास्फीति (महँगी) असोज ०७३ मा ६ दशमलव सात प्रतिशत थियो । यस्तै, खाद्य मुद्रास्फीति दुई दशमलव ६ प्रतिशत थियो । असोज ०७२ मा खाद्य मुद्रास्फीति १२ दशमलव एक प्रतिशत थियो । नाकाबन्दी, भूकम्प, मधेश आन्दोलनको जबर्जस्त प्रभाव थियो त्यो ।
यस वर्ष त्यस्ता कुनै असहज परिस्थितिको सामना गर्नुपरेको छैन, बजारले । र, उपभोक्ता र खाद्य/गैरखाद्य मुद्रास्फीति बढ्न पाएको छैन ।
‘गत वर्षको उच्च आर्थिक वृद्धिदर, बजारको विकास र अन्तर्राष्ट्रिय आर्थिक परिसूचकले पनि मूल्य वृद्धिदर नियन्त्रणमा राख्न मद्दत पुर्याएको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘डलरसँगको नेपाली रुपैयाँको विनिमय दर बलियो भएकाले पनि मूल्य नियन्त्रणमा राख्न सहयोग पुर्याएको छ ।’
तर, नियन्त्रणमा रहेको मूल्यवृद्धिलाई कायम राख्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘फेरि आकाशिन खोज्दैछ, यसलाई स्थायित्व दिनु अबको चुनौती हो,’ उनले भने ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा मुद्रास्फीति चार दशमलव ६ प्रतिशत थियो । चालू आवमा त्यसलाई सात प्रतिशतमा सीमित राख्ने सरकारी लक्ष्य छ ।