देशको ओरालो लाग्दो परिस्थितिका कारण दिनभरि काम गरेर पनि बिहानबेलुका चुल्हो नबलेपछि नेपाली युवाहरु लर्को लगाएर बिदेश जाने क्रम जारी छ । बाहाना जे बनाएपनि दैनिक गुजारा र बिलासी जीवनको सुन्दर सपना बोकेर तिघ्राको बल सुकाको दाममा बेच्न दैनिक १५ देखि २५ सय जना युवा बिदेशिने गरेका छन् ।
देशमा सामान्य लेखपढ सकेपछि कोही पढाईको बहानामा त कोही रोजगारीको खोजीमा बिदेशिने युवाहरुको एउटै कथा के–हो भने देशमा रोजगारी नहुनु अनि समयले मागेको बिलाशी जीवनको सपनाले पलपल तड्पाउनु नै हो ।
सामान्यतया युरोपियन, अमेरीकन मुलुकमा बाहेक अन्य रोजगारदाता मुलुकहरुमा जाने नेपाली युवाहरुमध्ये अधिकांश पुरुष युवा छन् । एउटा युवा आफ्नो औपचारीक शिक्षा पुरा गरेपछि सामाजिक परिवन्धमा बाधिन्छ । उसले बिहे गर्छ अनि आफ्ना र परिवारका आधारभुत आवस्यकताहरु पुरा गर्नको लागि बिदेश हानिन्छ । एउटा जवान बिहे गर्छ र आफ्नो परिवारसँग बर्षदिन पनि सँगै बस्दैन उसँग आफ्नै बाध्यता छन् । अनि अर्को जवान युवती बिहे गर्छे तर कम्तिमा एक बर्ष पनि आफ्नो श्रीमानसँग बस्न पाउँदिन ।
एकातर्फ आफ्नो जन्म घर छोडेर पराइको घर आफ्नो बनाउनुको पिडा त छँदैछ अर्कोतर्फ आफ्नो सम्झेर आएको मान्छेले नै छोडेर पैसाको पछि लागेपछि उ एक्लो महसुस गर्छे । यो हाम्रो सामाजिक परम्परा आर्थिक प्रतिस्पर्धा र उपाय बिनाको बिलाशी जीवनले निम्त्याएको समस्या हो ।
युवा बिदेशिनुमा आफ्नै बाध्यता र समस्या बिद्यमान छन् । तर पछिल्लो समय हाम्रो समाजमा बिकराल समस्याको रुपमा सम्बन्ध बिच्क्षेद तथा अनैतिक सम्बन्ध फैलाएको छ । बिदेशमा श्रीमान र सहरमा श्रीमतीको रोगले हाम्रो समाजलाइ क्यान्सरले शरीर गालेको भन्दा गहिरो गरी गालिसकेको छ । बिदेशमा रहेको श्रीमानले गरेको दुःखलाई महसुस घरमा रहेको श्रिमतीले गर्न नसक्नु र घरमा रहेकी श्रीमतीको यौवनलाई बिदेशमा रहेको श्रीमानले महसुस गर्न नसक्दा यो समस्या मौलाएर गएको हो । बिबाह र व्यवहारिक जीवन तथा यौन र यौवनको नियन्त्रण महत्वपुर्ण कुरा हुन् ।
बिदेशमा रहेको श्रीमानले पैशा बाहेक केहि नदेख्नु अनि घरमा रहेको श्रीमतीले त्यहि पैसाको दुरुपयोग गर्दै आफ्नो यौवनको नियन्त्रण गर्न नसक्दा आज बैदेशिक रोजगार कयौं घर बिगार्ने धराप बनेको छ । बिदेशमा गएको श्रीमान बर्षौं घर नफर्किने, आफ्नो श्रीमती सँगको खुलेर कुराकानी नगर्ने र परिवार तथा व्यक्तिगत समस्याको समाधान पैसा मात्रै हो भन्ने मानसिकताका कारण यो रोग मौलाउन थालेको हो । अर्कोतर्फ बालबच्चाको आमा समेत भइसकेका श्रीमतीहरुले समेत बिदेशमा श्रीमानले कमाएको पैसाको दुरुपयोग गर्दै पस्चिमेली संस्कारको प्रभावमा परिवार तथा आफ्नै भावि जीवनको बारेमा नसाँची यौवनको फाइदा उठाउन हिड्दा यो समस्या आएको हो । जीवन सार्थक बनाउने उपाय भनेको पैसा मात्रै होइन । जीवनलाई सुखी र खुसी तुल्याउने अन्य उपायहरु पनि छन् । देशमा रोजगारी नहुनुका कारण हाम्रो समाजलाइ नै बिकृतिको दलदलमा फसाएर समाजमा खैलावैला पार्नुपर्छ भन्ने छैन् । रोजगारी नभए स्वरोजगार बन्न सिकौं देशमा नै उत्पादन बढाऔं अनि सम्भावित परिवारिक बिक्षेदबाट बचौं । अहिलेका सचेत युवाको महत्वपुर्ण जिम्मेबारी हो ।