काठमाडौं, २६ भदौ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
निर्वाचनको लागि पहिलो चरणका लागि २०७४ मंसिर १० गते आइतबार र दोस्रो चरणका लागि २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक ५ र १६ गते हुने भएको छ । मंसिर १० गते चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।
राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ । सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।