बागलुङ, २६ भाद्र – गलकोट नगरपालिका–८ काँडेबासको पचुवामा निर्माणाधीन मोटरेवल पुल एक वर्षदेखि अलपत्र परेको छ ।
गत वर्षको मंसीरमा निर्माण कार्य सुरु गरिएको पुलको काम अहिलेसम्म ७ प्रतिशत मात्रै सम्पन्न भएको छ । लाखौँको योजनामा निर्माण थालिएको पुल अलपत्र परिरहँदा पनि सम्बन्धित निकाय भने मौन देखिएका छन् । उक्त पुल निर्माणको जिम्मा काठमाडौँको रबीन गोल्बा कन्स्ट्रक्सनले लिएको छ ।
गत असार २२ गते यो पुल निर्माण भैरहेकै ठाउँदेखी माथीबाट एक्कासी पहिरो आएर शिव माध्यमिक विद्यालय, स्थानीय नरिश्वर चालिसे, नरहरि घिमिरेको घर जोखिममा परेका छन् ।
स्थानिय अर्जुनदत्त कँडेलका अनुसार, स्थानीयलाई आवतजावतमा सजिलो र सहज होस् भन्ने उदेश्यले गत बर्षको मंसिरदेखि पूल निर्माण कार्य सुरु गरिएको । तर, निर्माण थालेको १ बर्ष बित्तिसक्दा पनि पुलको करिब ७ प्रतिशत भएको छ । खोलामा पुन नहुँदा गलकोट नगरपालिका–८ काँडेबास, मुसीकोट गाउँपालिका–९, चन्द्रकोट गाउँपालिका र बरेङ गाउँपालिकाका स्थानियलाई समस्या परेको छ ।
पलु समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयले घण्टौ हिँडेर झुलुङ्गे पुलबाट आवजावत गर्न बाध्य भएका छन् । नेपाल सरकारका पुर्व भौतिक पुर्वाधार तथा यातयात मन्त्री बिमलेन्द्र निधिले गलकोटको हटिया र काँडेबासमा मोटरेवल पुल बनाईदिने प्रतिबद्धता गरेअनुसार पुल निर्माणको कार्य अघि बढेको थियो ।
हटियाको शिवालय घाटमा भने पुल निर्माणको कार्य करिब ४० प्रतिशत कार्य सम्पन्न भएको छ । तर, पचुवा खोलामा निर्माणाधिन पुलको काम भने कछुवा गतिमा चलेको छ ।