आगामी असोज २ गते प्रदेश नं २ मा हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारर–प्रसारमा अत्यन्त तीव्र भएको छ । निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आ–आफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि शुरु गरेका छन् । पार्टीका झण्डा, तुल, घोषणापत्र र चुनाव चिह्न सहित गाउँ, टोल र घर–घरमा सम्बन्धित दलका उम्मेदवार र कार्यकर्ता पुगी मतदानका लागि महिला, वृद्धवृद्धा र युवालाई आग्रह गरिरहेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा पसल र होटलमा व्यापार बढ्दै गएको छ भने पम्पहरुमा पेट्रोल र डिजेल लिनेको उत्तिकै भीड लागेको छ । प्रचारप्रसारका क्रममा निर्वाचन आचरसंहिता विपरीत पार्टीको चिह्नसहित टिसर्ट र टोपी वितरण गरेको पाइएको छ । पदयात्रामा बालबालिकाको व्यापक प्रयोग गरिएको छ । चुनावमा आचार संहिताको धज्जी उडाईरहँदा निर्वाचन आयोग रमिते बनेको छ ।
प्रदेश नम्बर दुईका उम्मेदवारहरुले मतदाता रिझाउन भोज–भतेर र खर्च गरिरहेका छन् । स्थानीय मतदाता पनि उम्मेदवारले आयोजना गरेको भोजमा सहभागी भएका समाचार तस्बिरसहित मिडियामा आएका छन् । मनोनयन दर्ताको दिन मात्रै रौतहटमा ५०० क्वीन्टलभन्दा बढी कुखरा र माछाको भोज विभिन्न उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा गरेका समाचार आएका छन् । मनोनयन दर्ताकै दिनदेखि शुरु भएको भोजभतेर चुनाव नसकिएसम्म जारी रहनेमा दुई मत छैन । चुनावमा मतदातालाई प्रभावित गर्ने यस्ता काम गर्न आचारसंहितले बज्रित गरेको छ । निर्वाचन आयोगले आचारसंहित जारी गरेपनि त्यसको खुलेआम उल्लंघन गरेका समाचार आईरहँदा पनि सम्बन्धित निकाय मौन बस्न मिल्दैन । भोजभतेर र पैसा बाँड्ने खेलले मतदाता नै प्रभावित हुने गरेका छन् । भोट किनबेच गर्ने प्रवृत्तिले राम्रा उम्मेदवार पराजित हुने निश्चित छ । त्यसैले चुनावमा हुने पैसाको खेलदेखि भोजभतेर खुवाउने प्रवृत्ति रोक्नको लागि निर्वाचन आयोगले प्रभावकारी अनुगमन गरी दोषीलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ लागू गरेको छ । तर, कार्यान्वयन भने निकै नै फितलो छ । प्रदेश नं. २ को स्थानिय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्नको लागि सरकारका मन्त्रीहरु नै निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै निर्वाचन प्रचारमा जुटिरहेका छन् । अनि कसरी गर्छन उम्मेदवारले आचारसंहिताको पालना ? भोटको लागि पैसा बाँड्ने र मतदातालाई भोज खुवाउने प्रवृत्तिका कारण चुनाव निकै महंगो बन्दै गएको छ । खर्चिलो चुनावका कारण अब राम्रा र सक्षम मान्छेले चुनाव नलडेपनि हुने अवस्था सिर्जना भएको छ । चुनाव स्वच्छ बनाउनका लागि निर्वाचन आयोग आफैले लागू गरेको आचारसंहिता कार्यान्वयन गराउनु आयोगकै पहिलो जिम्मेवारी हो । र, आचारसंहिताको पालना गर्नु उम्मेवारको पनि दायित्व हो ।
Previous Articleराज्यमन्त्री खड्कालाई नेविसंघको सम्मान
Next Article स्वेच्छिक सदस्यता त्याग गर्न आग्रह