बागलुङ, २३ भाद्र – निजामती कर्मचारीको प्रतिवद्धता,पारदर्शीता र चुस्तता भन्ने नाराका साथ निजामती सेवा दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको आयोजनामा भएका क्रियाकलाप सहित बिहिवार मुल समारोह समेत गरिएको हो । कार्यक्रममा वृक्षारोपण, प्रवचन, वक्तृत्वकला, रक्तदान लगायतका क्रियाकलाप गरिएको हो । मुल समारोहमा बोल्दै बागलुङमा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले निजामती सेवाले देशको शासन संचालनमा स्थायी सरकारको भूमिका खेलेको बताए ।
उनले राजनीतिक परिवर्तन र अस्थिर सरकार भएकोले देशको विकास नभइरहेको समयमा निजामती कर्मचारीले सरकारको अनुभूति दिलाएको बताए । निजामती सेवालाई देशको उच्च सम्मानको क्षेत्र बनाइएकोले गर्वका साथ काम गर्न सबैलाई आग्रह पनि गरे । उनले स्थानीय तहमा समायोजन गर्ने सम्बन्धी मुद्दाले धेरै कर्मचारीमा निरासा छाएको भन्दै कर्मचारीको उच्च मनोबल हुने गरेरै समायोजन हुनुपर्ने पनि बताए । साथै आम जनतालाई सुशासनको अनुभव दिने संस्था पनि भएकोले सेवाका लागि पछि नपर्न पनि उनले सबै कर्मचारीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागि सबै कर्मचारीले स्थानीय तहमा समायोजन गर्ने सन्दर्भमा कम्तिमा एक तह बढुवा हुनुपर्नेमा जोड दिएका थिए । निजामती सेवा बिधेयक पनि तत्काल पास भएर लागू गर्नुपर्नेमा आफ्ना धारणा राखेका थिए । आधिकारिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरेको अध्यक्षता, सचिव शंकरदास बैरागीको संचालन र उपाध्यक्ष दुर्गाप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ धु्रव गिरी, स्वास्थ्यकर्मी संघका अध्यक्ष देवप्रकाश घिमिरे, निजामती कर्मचारी संगठनका अध्यक्ष रामप्रसाद उपाध्याय, दिर्घसेवा बाट सम्मानीत दिलशोभा गुरुङ लगायतले बोलेका थिए । दिवशको अवसरमा दिर्घसेवा गरेका धौलागिरी अञ्चल अस्पतालकी दिलशोभा गुरुङ र उच्च सरकारी वकिल कार्यालयका दलबहादुर घर्तीलाई सम्मान गरिएको थियो ।
घर्तीले ३९ बर्ष र गुरुङले ३३ बर्ष निजामती सेवामा काम गरेको बताइएको थियो । त्यस्तै बिपद व्यवस्थापनमा कर्मचारीको भूमिका बिषयक निबन्ध लेखन प्रतियोगितामा लोकसेवा आयोगका चेतनारायण भण्डारी प्रथम भएका थिए । त्यस्तै मदन अर्याल द्वितिय र शिवराम आचार्य तृतिय भएका थिए । उनीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र दिइएको थियो । त्यस्तै दिवशकै अवसरमा रक्तदान गर्ने कर्मचारीलाई प्रसंसापत्र बितरण पनि गरिएको थियो ।
यसैबीच निजामती सेवा दिवस २०७४ का अवसरमा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको देशव्यापी निवन्ध लेखन प्रतियोगितामा बागलुङका घनश्याम सापकोटा पुरस्कृत भएका छन् । विपद् व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका विषयक देशव्यापी प्रतियोगतामा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका तथ्यांक सहायक पदमा कार्यरत सापकोटाले द्धितीय स्थान हासिल गरेका हुन् ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहेका सापकोटाले यसअघि विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा आयोजित उत्कृष्ट नारा लेखनमा प्रथम र राष्ट्रिय सूचना आयोगले आयोजना गरेको देशव्यापी निवन्ध प्रतियोगितामा द्धितीय भएका थिए ।