डा. युवराज खतिवडा
बागलुङ, १९ भाद्र – बाणिज्य बैंकहरु पनि सहकारी जस्तै सहज भैदिनुहोस् भनेर हामीले भनेका छौं । राष्ट्रबैंकको गर्भनर भए पनि बैंकमा असाध्यै घुमाउरो र अप्ठ्यारो समस्या देखाएर किसान र ग्राहकलाई टाढा पठाउने काम नगरौं ।
सहकारीले व्याज पनि बढी दिएका छन्, सहज वित्तिय सुविधा दिएका छन् । तसर्थ आम मानिसमा सहकारी प्रति विश्वास बढीरहेको छ । हुन पनि हाम्रो नेपालका बिपन्न र मजदुर बर्गहरु चिल्ला बैंकमा जान सक्दैनन् त्यसैले सहकारीको माध्यमबाट वित्तिय साक्षरता र वित्तिय सिप समेत सिक्न पाउँछन् । साना व्यवसायीहरुले बैंकको प्रणाली बारे सहकारीबाट थाहा पाएपछि मात्र ठूला व्यवसायी बन्दै बाणिज्य बैंकहरुमा कारोवार गर्न पुग्छन् । त्यतिबेला उनीहरु ठूला बैंकको कारोवार गर्न र सहज पहुँच राख्ने बनिसकेका हुन्छन् । त्यसैले सरकारी, नीजि क्षेत्र र सहकारीलाई अर्थतन्त्रका तीन खम्बा भनिएको हो । अहिले बैकहरु सहकारीले हाम्रो काम गरिदियो, बजार खोसिदियो भन्ने आरोप लगाएका छन् । बैंकले आफ्नो काम नियमित रुपमा गरिरहने हो भने सहकारी उनीहरुकै परिपुरक भएर देखिन्छन् ।
काठमाण्डौमा सर्वसाधारणको रकम लुटेर हिडेका एकदर्जन सहकारीको नाउँ भजाएर सधै सहकारी नराम्रो छन् भनिरहँदा देशभरका ३४ हजार सहकारीले गरिवी निवारणमा खेलेको भूमिकाको अपमान हुन्छ । उनीहरुलाई हेरेर सहकारी ऐन पनि बनाउनु हुँदैन । किनकी बैंकका कर्मचारीले नदेखेका गाउँमा पुगेर सहकारीले आर्थिक गर्जो टार्न सहयोग पु¥याएका छन् । पशुपालन, व्यवसायिक कृषि लगायतका काममा बिना धितो ऋण दिएर साना किसानलाई उद्यमी बनाएका छन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देशभरका केही सहकारीलाई सुपथ मूल्य पसल संचालनका लागि भन्दै दिएको एक एकलाख रुपैयाँ ९० प्रतिशत भन्दा धेरै दुरुपयोग भयो । संचालनमा रहेका, केही गरौं भन्नेलाई प्रोत्साहन रकम दिएर सुपथ मूल्य संचालन गर्न दिनुपर्नेमा एकलाख पाउनका लागि गठन भएकालाई दिइयो । जसका कारण त्यो रकम पुरै डुब्यो । त्यस्तो गर्नु हुने काम थिएन । किनकी १ लाखले होलसेल र रिटेलको पसल संचालन कहीपनि खोल्न सकिंदैन भन्ने सबैलाई थाहा छ । काम गरिरहेकालाई बिउ पूजि दिनुपर्नेमा खानकै लागि बाँडेजस्तो भयो ।
सहकारी र नीजि क्षेत्रमा पनि कार्यक्षेत्र बारे केही बहस छ । नीजि क्षेत्र व्यवसाय गरेर असिमित नाफा कमाउनका लागि हो भने सहकारी नाफा कमाएर शेयरलाई बाँड्ने र सामाजिक काम गर्ने पनि हो । यो अभियान बारे नबुझेर गैरसरकारी संस्था र नीजि क्षेत्रले पनि सहकारीको विरोध गरेको पाइयो । उद्योग खोल्ने नीजि क्षेत्रलाई चाहिने कच्चा पदार्थ, कृषि फसल उत्पादनको काम भने सहकारीले गर्छ । सहकारीको साथ बिना नीजि क्षेत्र अगाडि बढ्न सक्दैन भन्ने सबैले बुझ्न जरुरी छ । सरकारी, नीजि र सहकारीको सहकार्यबाटै देशको समृद्धि संभव भएकोले तीन खम्मे अर्थनीति ल्याईएको हो । यो कुरा अझै पनि सबैले बुझ्न जरुरी छ । सहकारीलाई पनि १५ प्रतिशत भन्दा धेरै मुनाफा बाड्ने अधिकार छैन । त्यो मान्यता पालना भएमा सामाजिक विकास, आर्थिक विकास र समृद्धिमा टेवा पुग्ने निश्चित छ ।
–कुराकानीमा आधारित
‘अध्ययन गरेर करको दायरा’
बागलुङ/ नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. युवराज खतिवडाले स्थानिय तह संचालन सम्बन्धी कानुन नबन्दा संघियता कार्यान्वयनमा चुनौती भएको बताएका छन् । बागलुङ नगरपालिकाले आईतबार बागलुङ बजारमा आयोजना गरेको ‘संघियता कार्यान्वयन र आर्थिक समृद्धि’ विषयक अन्तरक्रियामा बोल्दै खतिवडाले यस्तो बताएका हुन । उनले स्थानिय तहको कानुनी अन्यौलताले जनप्रतिनिधिलाई काम गर्न समस्या भएको बताउँदै तत्काल कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । जनप्रतिनिधिले चुनावी एजेण्डामा धेरै काम गर्छु भनेपनि त्यसको लागि बजेटको वास्ता नगरेकाले अब काम गर्न समस्या हुने उनले बताए । उनले ‘जनप्रतिनिधिहरुले सुरुमा ठूला र महत्वाकांक्षी योजना सञ्चालन गर्नुभन्दा नागरिकका आधारभुत आवश्यकता सही रुपमा संचालन गर्नुपर्छ’ खतिवडाले भने । खतिवडाले स्थानिय तहको समृद्धिको लागि विकास निर्माणका कामहरु गरेमा चाँडो आर्थिक विकास हुने बताए । उनले उक्त काम गर्दा निजी क्षेत्रसँग सहकार्य गरेपनि मुख्य अंग सरकारी कार्यालय नै हुनुपर्ने बताए । ‘तपाईहरुले जुनसुकै काम गर्ने कामदारलाई समयभित्र धेरै काम गर्न भनी ज्यालादर कम गर्नुभयो भने त्यो बाटो उल्टो हुनेछ’ खतीवडाले भने– ‘कामदारलाई काममा कुनै कमी ल्याउन नदिनको लागि ज्यालामा वृद्धि गरिनुपर्छ ।’ कामदारहरुको ज्याला वृद्धिबाट आर्थिक स्तर उकासिएमा मात्र स्थानिय तहमा विकास हुन्छ’ –खतीवडाले भने । स्थानिय तहमा सबै क्षेत्रको अध्ययन गरेर मात्र करको दयरा निर्धारण गर्नको लागि जनप्रतिनिधिलाई आव्हान गर्नुपर्ने उनले बताए । उनले स्थानिय तहको मुख्य आम्दानी कर भएकाले विशेष ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जिवन आचार्य, ५ का अध्यक्ष शिवप्रसाद सापकोटा, ९ का अध्यक्ष गणेश थापा र डिल्लीराज गौतमले आफ्नो भनाई राखेका थिए । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपमेयर सुरेन्द्र खड्का र संचालन बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले गरेका थिए ।