बागलुङ, १७ भाद्र – अधिकारीचौरस्थित भूजीखोलामा निर्माणाधिन पक्की मोटरेबल पुलका लागि दोश्रो किस्ताको भुक्तानी पाउन वाईबी रफिना संयुक्त निर्माण सेवाका ठेकेदारले सडक डिभिजनका प्रमुखलाई तोकिएको रकम बुझाउनुपर्ने शर्त छ । तोकिएको रकम नदिएसम्म भुक्तानी नदिने भन्दै रोकिएपछि ठेकेदारले पुलको काम अगाडि बढाउन सकेका छैनन् । स्थानीयले ठेकेदारले काम अलपत्र पारेको आरोप लगाइरहेका छन् । उता ठेकेदार भुपेन्द्र केसीले भने १० लाख रुपैयाँ भुक्तानी नपाएर कामालई अलपत्र छाड्न बाध्य भएका छन् । सतही रुपमा ठेकेदारले काम नगरेको देखिन्छ तर टाढाबाट आएका मजदुरले भुक्तानी नपाएर घर जान पनि नसकेको यथार्थता त्यहाँ छ । दैनिक दर्जनौ पटक बिजुली बत्ति जाने आउने कारणले अधिवक्ता राम शर्माको ‘ल फर्म’मा कम्प्युटर विग्रियो । उनले राखेका सयौं महत्वपूर्ण फाईल नष्ट भए । विद्युत प्राधिकरणको बितरण र कन्ट्रोल कक्षमा फोन गरेर सोध्दा विभिन्न बाहना बनाएर उम्कने प्रवृत्ति छ । किन बत्ति गएको र कहिले आउँछ भन्ने कुने उत्तर नभएपछि आम उपभोक्ता हैरान भएका छन् । यस्ता अनियमितताका घटना समाजमा पटक पटक भैरहेका छन् । तर ती घटनाबारे वास्तविक सत्यतथ्य बाहिर आउन सकेका छैनन् । ती वास्तविकतालाई बाहिर ल्याउनका लागि साझा अभियान संचालन गर्नका लागि जवाफदेहिताका लागि असल छिमेकी नेपाल बागलुङले संचारकर्मी सँग गरेको अन्तरक्रियामा उठेका बिषयबाटै समाजको वास्तविकता झल्केको सरोकारवालाले बताए । किसानले तरकारी फलाएर बजारमा पठाउँछन् । बिचौलीयाले किसानले बर्षभरीको दुःख सहित राखेको मूल्य भन्दा दोब्बर राखेर बिचौलीयाले विक्रि गर्छ । किसानले १० रुपैयाँमा दिएको तरकारीलाई बिचौलीयाले २५ रुपैयाँमा विक्रि गर्छ । उपभोक्ता मारमा पर्छन् । यसको उजुरी गर्ने निकाय कहीकतै छैन । बरु सकी नसकी उपभोक्ताले दैनिक गुजारा टार्नै पर्छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा जवाफदेहिताका लागि असल छिमेकी नेपाल बागलुङले भ्रष्ट्राचार विरुद्ध सचेतनामूलक, दवाव मूलक र खोजी अभियान समेत संचालन गरिरहेको छ । अधिकांस सरकारी तथा सार्वजनिक सेवा प्रवाह हुने कार्यालयमा पुगेर उजुरी पेटिका राखेकोमा पिडितहरुले कुनै उजृुरी नगरेको भेटियो । ‘हामीले जनता, मजदुर, उपभोक्ताको पक्षमा काम गर्न धेरै प्रयास गरेका छौं तर सार्वजनिक निकायमा जवाफदेहिता भेटिएन’ असल छिमेकीका अध्यक्ष राम शर्माले भने, ‘संचारकर्मी सहित सामाजिक अगुवाले अनियमितताको क्षेत्रमा अनुगमन गर्न अग्रसरता लिनुपर्ने भएको छ ।’ सार्वजनिक सेवामा बेथीती रोक्न कडाईका साथ अगाडि बढ्न सकिएन भने समाजलाई भ्रष्ट्राचारले निल्ने उनले टिप्पणी गरे । बुर्तिवाङस्थित अस्पताल, धौलागिरी अञ्चल अस्पताल लगायतका सार्वजनिक महत्वका पूर्वाधार निर्माणमा पनि यस्तै समस्या भएको सरोकारवालाको भनाई छ । बजार अनुगमनको क्रममा बर्षौदेखि व्यवसाय गर्नेहरुलेनै अनुमति नलिएको भेटिएको हो । यथेष्ट सूचना प्रवाह नगर्ने र सरकारी तथा गैरसरकारी निकायले सूचना सार्वजनिक गर्ने निहुँमा प्रचारबाजी मात्र गर्ने गरेको पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अनुभव छ । ‘कार्यालयले गर्नै पर्ने काम गरेको मात्र सार्वजनिक गर्छन् त्यसभित्र कति अनियमितता गर्छन् खोजी गर्ने जिम्मेवार निकाय भएन’ शिरिष भन्छन्, ‘पत्रकार र जिम्मेवार नागरिक समाजको भूमिका भैदिने हो भने अनियमितता अन्त्य गर्न सकिन्छ ।’ पत्रकारितामा भद्र शैलीबाट माथि उठेर रचनात्मक प्रतिपक्षको भूमिका खेल्न सक्नुपर्ने उनले बताए । जवाफदेहिताका लागि असल छिमेकीले गरेको शुक्रबारको एक अन्तरक्रियामा अध्यक्ष राम शर्माले सञ्चारकर्मी, नागरिक अगुवा र अन्य सरोकारवालाले अनियमितता र भ्रष्ट्रचार अन्त्यका लागि साझा पहल गर्नुपर्ने बताए । भ्रष्ट्राचार न्युनिकरण तथा सदाचार प्रवद्र्धनका लागि पत्रकारको समेत महत्वपूर्ण भूमिका हुने अध्यक्ष शर्माको भनाई थियो । साथै शर्माले पत्रकारको सामाजिक सुरक्षामा संचार प्रतिष्ठानले पहल गर्नुपर्ने र उनीहरुलाई रचनात्मक कामका लागि प्रोत्साहित गर्नुपर्ने बताएका थिए ।