शिवशरण ज्ञवाली
स्थानीय स्तरमा सूचनाको भोक मेट्ने स्थानीय सञ्चार माध्यमले ‘राष्ट्रिय समाचार’को रिले प्रकाशन प्रसारणबाट विश्वास आर्जन गर्छन् । स्थानीय समाचारलाई रोचक, आकर्षक, पठनीय, दर्शनीय र श्रवणीय रुपमा सम्प्रेषण गर्ने सफलता मोफसलमा प्राप्त छैन । सञ्चार माध्यमहरु बल्ग्रेती नै छ, थपिदै पनि छन् तर तिनको हिडाईमा गति छैन, नवीनताको आवरण छैन, परिवर्तनको मुहार छैन, प्रतिष्पर्धाको दौड छैन बरु सबैमा एकै खालका सामग्रीहरुको वर्चस्व छ । ‘जियैछी न मरैछी हुकर हुकर करैछी’ जस्तो चल्नकै लागि चलिरहेको छ, मोफसल पत्रकारिता !
पहिलो चुनौती अर्थकै छ । कङ्गाल भएपछि चन्डाल हुन बाध्य छ, पत्रकारिता । त्यसकारण आवाज हुनेहरुकै दबदबा छ, आवाजविहीनहरु कता छन् कता । यो पेशा व्यतिगत कमाई हुने पेशामा दर्ज छ तर संस्थागत रुपमा गरिब नै छ । बार्गेनिङ्को चर्चाले पत्रकारिताको गरिमामाथि कालो ग्रहण लगाइदिएको छ । प्रशासनिक तथा व्यापारिक नेतृत्व र पत्रकारिताको हिमचिम अस्वभाविक नै लाग्छ । जुनसुकै कार्यक्रममा जाऊँ त्यहाँ पत्रकारका लागि विशेष आसन छुट्टयाइएको हुन्छ । व्यापारी, नेता वा हाकिमहरु पत्रकारितालाई महत्व दिई दिई स्थान दिइरहेका हुन्छन्, चाहे सम्बोधनमा होस् चाहे आसन ग्रहणमा होस् । पत्रकारिताको आचारसंहिता अब यतातिर पनि लक्षित हुन जरुरी छ । पत्रकारहरुले हामी आसन ग्रहण गर्दैनौ, हामीलाई सम्बोधन गर्नु जरुरी छैन भन्ने दिन आइसकेको छ । पत्रकार स्वयं आफ्नो पेशा गरिरहेको हुन्छ, समाचार नपु¥याइदेऊ भने पनि उसले पु¥याउनै पर्छ भन्ने कुरा बुझेकै छन् तर वास्तविक समाचार नलेखिदिऊन् भन्ने आग्रहले यो भएको हुनुपर्छ ।
संचालकहरु पत्रकारितालाई माध्यम बनाएर गलत द्वारबाट हुने पत्रकारहरुको व्यक्तिगत कमाईप्रति आँखा चिम्लिदिन्छन् किनकी उनीहरुलाई आफ्नो सञ्चार माध्यममा टिकाई राख्नु पर्ने बाध्यता छ । तसर्थ सानोतिनो आम्दानी बाहिरबाट भयो भने त्यसलाई त्यति धेरै चर्चाको विषय उनीहरु बनाउँदैनन् । व्यक्ति मोटाएका प्रसंग आउँछन् तर सञ्चारमाध्यमको हविगत सदा उस्तै कमजोर बन्दै गएको छ । सब परिवर्तनशील तर मोफसलको पत्रकारिता अपरिवर्तनीय !
भनिन्छ, पत्रकारिता पैसा एउटाबाट लिने सेवा अर्कोलाई दिने व्यवसाय हो ! पत्रपत्रिका मात्रै बिक्री हुन्छन्, रेडियो टेलिभिजन त श्रव्य तथा श्रव्यदृश्य माध्यम हुन् । पत्रपत्रिकाको बिक्रीबाट पनि सेवाको सानो अंश प्राप्त हुने हो, जुन नगन्य नै छ । ६० प्रतिशत त विज्ञापनबाट नै हो । मुनाफा पनि विज्ञापनबाट नै लिने हो । तर सेवा चाहिँ पाठक, श्रोता र दर्शकलाई दिने हो । यसले पत्रकारितालाई अन्य पेशाबाट बिल्कुल फरक तुल्याउँछ । विकासका गतिहरु अपेक्षित गतिमा अगाडि नबढ्दा भित्रभित्रै भुसको आगो झै जनआक्रोश चुलिदो छ, कहाँ, कतिखेर, कसरी फुट्ने हो ? त्यो अहिल्यै भन्न सकिन्न । त्यस्तो आक्रोश पत्रकारितामा प्रतिबिम्बित हुने होभने सहजै निकास निस्कन्थ्यो होला । विकासको गति कमजोर बनेको फल पत्रकारिताले पनि भोग्दै छ । शुभकामना र समवेदनाका पाँच सय दरका विज्ञापनले कतिन्जेल चल्ने व्यवासाय ? अनि व्यवासायिकताको कुरा छाडेर ‘येनकेन’ जीविका निर्वाह गर्दैछ पत्रकारिता ।
दोस्रो, पत्रकारिता रहरमै चलेको छ । संचालकहरु आफूलाई प्रकाशन व्यवस्थापकका रुपमा चिनाउन चाहँदैनन्, प्रधान सम्पादक, सम्पादकका रुपमा चिनाउने रहर गर्छन् । अनि कोही कसैलाई रहरको सनक चल्छ र सञ्चार माध्यमहरु दर्ता हुन्छन् । दर्ता भएका सञ्चार माध्यमहरु फाइलमा थन्किन लामो समय कुर्नु पर्दैन । पत्रकारितामा अझै पनि योग्यताको मापदण्ड लागू हुन सकेको छैन । प्रमाणपत्रको आवश्यकता छैन, हप्तादिनजति तालिम लियो भने पत्रकारितामा प्रवेश गर्न पाइन्छ । तर हप्ते तालिमबाट श्रमजीविहरुको शोषण भएको छ । सञ्चालकले रहर गर्छ, उसको पेशा व्यवसाय व्यापार, राजनीति, शिक्षण आदिआदि हुने गर्छ तर अत्यन्त न्युन ज्यालामा श्रमजीविहरुलाई काम गराउँछ । त्यसकारण जिल्लातिरको पत्रकारिता औपचारिक समाचारमा सीमित छ । खोज तथा अनुसन्धान समाचार कुन चराको नाउँ हो, विरलै चर्चा हुने गर्छ ।
पत्रकारितामा रहर मात्रै छैन, ‘व्यक्तित्व निर्माण’को खोजी छ । राजनीतिक, शैक्षिक, सामाजिक हैसियत सजिलै उठाउने माध्यम पत्रकारिता हो भन्ने मानसिकता छ, मोफसलमा । आफ्ना सञ्चार माध्यमहरुलाई मालिकहरु सोही बमोजिम उपयोग गर्छन् । यो पेशा राजनीतिक करिअरको सजिलो हतियार बनेको छ । बिना संघर्ष सफलता संभव छैन भन्ने कुरालाई चुनौती पत्रकारिताका माध्यमबाट दिन खोजिएको छ । प्रिन्टलाइनमा नाम हुने प्रधान सम्पादकहरु विशेषतः पत्रिकाका संचालक नै हुन् । यिनीहरु आफूलाई संचालक भन्नुभन्दा प्रधान सम्पादक, सम्पादक भन्नुमा आफ्नो व्यक्तित्व जुरुक्कै माथि पुगेको विश्वास गर्छन् । वास्तविक सम्पादकहरु कार्यकारी सम्पादक, भाषा सम्पादक, संवाददाता आदिआदिमा खुम्चिएका छन् । प्रधान सम्पादकको प्रयोग कुन अवस्थामा गर्ने भन्ने विषयमा संभवतः धेरैलाई थाहै छैन ।
बडो दुःख र मेहनतका साथ केही पत्रकारहरुले आफ्नो दक्षता अभिवृद्धि गरिरहेका छन् । तर धेरैको अवस्था भने सन्तोषजनक छैन । धैर्यताको अभावै छ । यसो हुनुको कारण एउटै व्यक्ति संवाददाता, सम्पादक, समाचार सम्पादक आदि बन्नुपर्ने बाध्यताले हो । प्रिन्टलाइनमा नाम हुनेहरुको व्यवासाय अर्कै छ, उनीहरु एउटा समाचार पनि लेख्दैनन् । भाषण, गफगाफ वा आफ्नै अन्य व्यवसायमा उनीहरु भुलिरहेका हुन्छन् । श्रमजीविलाई दक्षता अभिवृद्धिका लागि अवसरै छैन भने हुन्छ । अर्को कुरा अझै पनि पत्रकारितामा योग्यता प्रणाली लागू छैन । योग्यताको मापदण्ड नहुँदा एकातिर योग्यहरु यस पेशाप्रति आकर्षित हुन सकेका छैनन् भने अर्कोतिर कलम तिखारिएको छैन । प्रवृति होइन व्यक्ति लक्षित छ । मानवीय कमजोरी कुरेर बसेको अवस्था छ । गैर पत्रकारिता पनि रोक्नै नसक्ने अवस्थामा पुगेको छ । पछिल्लो समय त जनशक्तिको पलायनले चुनौती खडा गरिरहेको छ । पत्रकारिताप्रति आकर्षण बढ्दो होइन, घट्दो छ ।
सञ्चार माध्यमलाई आफ्नै आँखाको नजरभित्रै राख्न चाहने प्रशासनिक नेतृत्वको पत्रकारिताप्रति सकारात्मक सोच छैन । फ्रिज भएको पैसाले बरु ‘असारे विकास’ गर्ने तर पत्रकारिताका लागि पाँच सयभन्दा बढीको विज्ञापन छुट्टयाउन नसक्नुले यही कुरा बताउँछ । ‘असारे विकास’भित्रको कुरा पत्रकारिता स्वयंले नउठाउनु अर्को बिडम्बना हो । व्यक्तिगत ‘लबिङ’ले पत्रकारिता अन्धो बनाइएको छ । पाँच सय रुपैयाँको विज्ञापन उठाउन पनि सम्पादक आफै अगाडि लाग्नुपर्छ र कार्यालयका हाकिमलाई मुसार्नुपर्छ । भरपर्दो संयन्त्र खडा गरेर जिल्ला तथा स्थानीय स्तरमा पत्रकारिताको विकासको लागि अलिकति पैसा छुट्टयाउन प्रशासनिक नेतृत्व तयार छैन ।
स्थानीयता जब्बर हुन्छ । तसर्थ पत्रकारितामा सुरक्षा चुनौती कायमै छ । साना सहरमा भन्दा मोफसलका ठूला शहरमा स्वभाविक रुपमा यो चुनौती बढी छ । पत्रकार महासंघको देशव्यापी सञ्जाल र उसले गर्ने गतिविधि, सञ्चार माध्यमप्रतिको बढ्दो सकारात्मक सोच, पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि चलाइने तालिम आदिले थोरै भए पनि सुरक्षा चुनौती कम गरेको छ तर पर्याप्त छैन । सुरक्षा प्रशासन कमजोर हुँदा त्यसको असर पत्रकारितामा पनि पर्दो रहेछ । अझै पनि गलत समाचार आएमा कानुनी उपचार खोज्नुपर्छ भन्ने ‘गगन’ मानसिकता मोफसलमा छैन । स्थानीय राजनीतिक, प्रशासनिक, व्यापारिक क्षेत्रले समाचार नलेखिदिए हुँदो हो भन्ने आशयले दबाब कायम राख्न खोजेकै देखिन्छ । त्यसकारण थुप्रै समाचारहरु सञ्चार माध्यमको डेस्कमा ‘किल’ हुन्छन् ।
साहित्यिक तथा गैरसाहित्यिक स्तम्भ लेखन निशुल्क चल्छ । थोरै पनि पारिश्रमिक सञ्चार माध्यमहरु भुक्तान गर्न सक्दैनन् । त्यसकारण स्तम्भ लेखक भेट्टाउन बडो मुस्किल छ । प्रोत्साहन र प्रतिष्पर्धा नभए पछि लेखन पनि त्यतिकै हराउँदो रहेछ । यसले मोफसलको साहित्यिक शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ । कोठे पत्रकारिता तथा उद्धरण पत्रकारिता पनि चुनौतीका रुपमा देखिएको छ । अखबार ढाँचा समेत मिचिएको पाइन्छ ।
अवसर निकै सीमित छन् । देश विदेशको सञ्चार माध्यमको प्रतिनिधिको रुपमा काम गर्ने वातावरण तयार भएको छ । पत्रकारिता सिर्जनाको प्राज्ञिक पेशा हो । मानिसहरुको यसप्रतिको रहरले यसको प्राज्ञिकता र गरिमालाई बुझाउँछ । हतारिएको साहित्य पनि भनिने यो सजिलो पेशा चाहि होइन । पत्रकारिता गर्नेहरुमा म मेरो पेशा व्यवसाय गर्दैछु भन्ने भावनाको विकास हुनु जरुरी छ न कि म अरुभन्दा भिन्न हुँ भन्ने अहम् भाव । पत्रकारमा म अरुभन्दा भिन्न हुँ भन्ने केन्द्रदेखिकै अघोषित अह्म भाव हो । यसले पत्रकारितालाई जनतासँग जोड्न अवरोध खडा गरेको छ । तथापि देशमै ठूलो उद्योगकै रुपमा पत्रकारिता स्थापित हुँदैछ । गाउँगाउँमा समेत सञ्चार माध्यम संचालित छन् । माध्यमिक तहमा ऐच्छिक विषयको रुपमा ‘पत्रकारिता’को प्रवेश भएको छ, ज्ञान, सिप व्यावहरिक विषय भएकाले यसलाई अनिवार्य बनाएर लैजादा पत्रकारिता विकास टेवा पुग्ने देखिन्छ ।
पत्रकारितालाई देश तथा समाजको ‘वाचडग’ वा ‘चौथो अंग’ पनि भनिन्छ । आजका दिनमा यो संवैधानिक कानुनी रुपमा भन्दा पनि स्वतस्फुर्त रुपमा प्राप्त उपाधि हो । पत्रकारिताको ऐनामा समाजको सभ्यता, शिक्षा, चेतना आदिआदि हेरिन्छ । त्यसकारण पत्रकारिताको विकाससँग समाजको सबैखाले विकासले गति लिएको हुन्छ । मोफसलबाट विज्ञापनबाटै व्यवासायिक पत्रकारिता गर्छु भन्नु अति हुन जान्छ । त्यसकारण संचालकहरुले पत्रकारिता गर्ने हो दिगो प्रकृतिको अन्य व्यवासाय गरी त्यसको मुनाफा पत्रकारितामा लगाउने सोच राख्नुपर्छ । नभए केही सय पैसा दिएर कसैको जीवन बर्बाद गर्नु मिल्दैन ।
सरकारी नियम कानुनमा पनि जटिलता छ । ससाना सहरका सञ्चार माध्यमलाई न्युनतम् पारिश्रमिक दिन पुग्ने गरी राज्यले विज्ञापन उपलब्ध गराउँदैन तर पत्रकारिताको मापदण्ड भने निर्धारण गर्दछ । साप्ताहिक अखबार ६ पृष्ठको हुनुपर्ने बाध्यात्मक नियम यसकै उदाहरण हो । चारै पृष्ठमा गुणस्तरीय समाचार साप्ताहिक अखबार किन पस्कन नसक्ने ?
राष्ट्रिय पत्रकारिता दिवस मनाउने कार्यको सुरुवात गर्दै गर्दा देशको समान विकासको लागि, भौगोलिक, शैक्षिक, आर्थिक लगायतका विभेदलाई कम गर्नका लागि, दिगो चेतना अभिवृद्धि गर्नका लागि, सही जनमत निर्माण गरेर देश विकास गर्नका लागि राज्यबाटै ‘पत्रकारिता स्कुल’को उचित विकासको वातावरण तयार हुनुपर्ने देखिन्छ । त्यसो नहुँदासम्म मोफसलको पत्रकारितामा अवसर भन्दा चुनौती बढी नै हुनेछन् र हिडाइको गति तेज नहुने निश्चित छ ।
Previous Articleपीडितलाई पुर्नस्थापित कहिले गर्ने ?
Next Article बलेवामा लिफ्ट खानेपानी आयोजना