म्याग्दी, १४ भदौ – केहीबर्ष अगाडीसम्म धौलागिरि गाउँपालिकाको गुर्जाको जंगलमा हेर्दा आर्कषक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रंगमा भेटिने हाब्रे ९रेडपाण्डा० सिकारीको रोजाईमा पर्ने गरेको थियो ।
बनजंगलमा टुसा खोज्न जाने स्थानीयले घरेलु हतियारको प्रयोग गरेर शिकार गर्ने गरेका थिए । पहिचान र प्रचार–प्रसारको अभावमा स्थानीयले शिकार गर्ने गरेको भएपनि विश्व बन्यजन्तु कोषको सहयोग तथा हरियो बन कार्यक्रमको आर्थिक सहयोग मार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले गरेको खोजीमा जिल्लाकै अति विकट मानिने लुलाङ र गुर्जाको मरेनी, जलजला सामुदायिक बन तथा आसपासका क्षेत्रमा भेटिएको रेडपाण्डाका बारेमा स्थानीयबासीले जानकारी पाएपछि संरक्षण अभियान सुरू गरेका छन् ।
दुई बर्षसम्म गरेको अनुसन्धानकर्ताले स्थानीयबासीलाई रेडपाण्डाको जानकारी सहित बस्ने बासस्थान समेत देखाइदिएपछि नियमित संरक्षणका रेडपाण्डाको शिक्षा लिएका स्थानीयबासी सक्रिय रहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताए । ‘रेडपाण्डाको संरक्षणमा स्थानीयबासी सक्रिय छन् । विद्यालयका विद्यार्थीले समेत रेडपाण्डाको बारेमा शिक्षा पाइसकेका छन्’ –उनले भने । रेडपाण्डा नेटर्वकले जंगलमा रेडपाण्डाको बासस्थान फेला पारेपछि लुलाङ र गुर्जाका स्थानीयबासी, विद्यालयमा अध्ययरत विद्यार्थी लगाएत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका गाउँलेलाई लोपउन्मुख रेडपाण्डाका बारेमा जानकारी गराएका थिए ।
‘विश्वमै दुलर्भ जनावर गाउँमै भेटिएपछि सबै संरक्षणमा जुटेका छन् । संरक्षण नितिका लागि पहल गरिरहेको छु’ स्थानीय अगुवा समेत रहेका छन्त्यालले भने । उनले अनुसन्धानको क्रममा गाउँपालिकाको मुदीको बगर तथा धौलागिरि हिमाल आसपासका जंगलमा समेत रेडपाण्डा भेटिएपछि गाउँपालिकाबाटै नियमित तालिम तथा संरक्षणका लागि आवश्यक बजेट विनियोजन समेत गरिने बताए । उनले रेडपाण्डा सहित जंगली जनावरको संरक्षण गरी विदेशी पर्यटकलाई समेत भ्रमणमा आर्कषित गर्न सकिने बताए ।
नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटनसंग सिमाना जोडिएको गुर्जा, लुलाङमा रतुवा, घोरल, मृग, बदेलसहितका जंगली जनावर पाइने जंगलमा लुकिछिपी बन्यजन्तुको तस्करको क्रममा लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डालाई समेत निशाना बनाउन सक्ने भन्दै रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामुलक कार्यक्रम, बासस्थान आसपासको क्षेत्रमा आवतजावतमा कडाई समेत गरेको छ । रेडपाण्डा नेटवर्कमार्फत अनुसन्धानमा सक्रिय बद्री बरालका अनुसार, दुई वटा सामुदायिक बनमा ४ वटा ब्लक निर्माण गरी १।५ किलोमिटरसम्म अनुगमनका लागि ट्रान्जित बनाइएको छ । नियमित अनुगमन र संरक्षण गर्न रेडपाण्डा अभिभावकका रुपमा चारजनालाई नियुक्तीका साथै सामुदायिक बनसंग सम्झौता समेत गरिएको बरालले बताए ।
‘रेडपाण्डाले अन्य बन्यजन्तुको शिकारमा समेत कमी आएको देखिन्छ । वडास्तरमै संरक्षण निति बनाउन समेत सहयोग माग्नुभएको छ’ –उनले भने । प्रारम्भिक अनुसन्धानमा ५५ वटा रेडपाण्डा भेटिएपनि गाउँपालिका अन्र्तरगतमा सामुदायिक तथा राष्ट्रिय बनमा–२ सयको हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।
समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाईमा अवस्थित चौडापाते र कोणधारी मिश्रीत जंगलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगत संरक्षितको सूचीमा राखेको छ । निगालोको टुसालाई आहारको रुपमा प्रयोग गर्ने रेडपाण्डा सहित बन्यजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयबासीलाई सहयोग गर्ने धौलागिरि गाउँपालिका उपप्रमुख रेशम छन्त्यालले बताए । ‘लोपउन्मुख बन्यजन्तुको संरक्षणमा थप सक्रियता देखाउनेछौ ।
बन्यजन्तुको पहिचान गर्ने शिक्षालाई पनि प्राथमिकता दिनुपर्छ’ –उनले भने । रेडपाण्डा पाइने जिल्लाको रुपमा सुचिकृत भएपछि म्याग्देली उत्साहित समेत भएका छन् । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।
Previous Articleनेपाली समाजमा गाँजिदै पारिवारिक बिखण्डन
Next Article १४ भाद्र २०७४, ढोरपाटन दैनिक