मुकेशचन्द्र राजभण्डारी -नेपालको राजनीति गतिहिन र अर्थहिन ढंगले अगाडि बढिरहेको छ । नेताहरुमा व्यक्तिवादी स्वार्थ, अंहकार र लोभले जनताको हित र चहानाको विरुद्ध यथास्थितिवादी गतिविधिलाई झन् मलजल गरी रहेको छ । आन्दोलनको एजेण्डा ओझेलमा परिरहेको छ । सुगौली सन्धीदेखिको औपनिवेशीक दबाव र प्रभाव राजतन्त्रको बार्हिगमन पश्चात प्रत्येक राजनीतिक घटनाहरुमा प्रत्यक्ष अनुभुति हुन थालेको छ । शिक्षित निम्न वर्गिय युवाहरुमा आमनिरासा छाएको छ । उच्च र मध्यमवर्गीय युवाहरुमा त देशमा बस्नै हुदैन यहाँ कुनै भविष्य नै छैन भन्ने मान्यता र संस्कृतिआम रुपमा देख्न सकिन्छ उनीहरुको विदेश पलायनबाट ।
|
जनयुद्ध र जनआन्दोलनको राप र ताप घटेर शहीदको हत्याराले तक्मा पाउने तहसम्म विकास भएको छ । शान्ति र संविधान विरोधी राजनीतिक घटनाक्रम अगाडी बढेको देख्दा यो अन्यौल र उकुसुकुसको बीचबाट यो देश कसरी अगाडी बढ्ला ? त्यसलाई चाहिने दृढ इच्छा शक्ति र पर्याप्त नयाँ राजनीतिक हस्तक्षेप गर्न समक्ष सचेत युवाहरु र जनपक्षीय आतरण जोगाएर बसेको केही नेताहरुले पहलकदमी कहिले लेलान् र नयाँ राष्ट्रिय वैचारीक देशभक्तिको नयाँ सास्कृतिक आन्दोलन नरुचाउने होभने नयाँ नेपाल बन्न सक्ला ? नयाँ नेपाल, नयाँ आचरण, नयाँमुल्य, नयाँजीवन र नयाँ आशा भएकाहरुले दिने हो कि अरु कसैले दिन्छ भनेर प्रतिक्षा गर्ने विषयहो यही नेर गम्भीर विचार गर्ने बेला आएको छ । अहिले राजनीतिक समस्यालाई समाधान गर्न सक्ने, नयाँ वैचारीक नेतृत्व दिन सक्ने नेता कसरी जन्माउन र विकास गर्न सकौला ।
अहिले नेपालको मौलिकता र विशेषता अनुसार आम नेपालीहरुको मनोविज्ञान र समस्या बुझ्ने र त्यसको समाधानको नेतृत्व गर्ने राजनेता मुलुकलाई चाहिएको छ । यदि हामीले सही समयमा समाधान दिन सकेनौ भने परिवर्तनका उपलब्धिहरु खेर जानेछ, जुन परिवर्तन आन्दोलन र क्रान्तिले आफ्नो रक्षा गर्न सक्दैन, जसले सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्दैन, त्यस्तो परिवर्तनको असमयमै मृत्यु हुन सक्छ । क्रान्तिसँगै प्रतिक्रान्ति पनि सँगै हुने हुदाँ यस्तो गतिहिन स्थितिबाट फाइदा उठाई अँध्यारो गुफाबाट धार्मिक, सैनिक या सामन्ती प्रतिक्रान्तिको उदय पनि हुनसक्छ । थाइल्याड यस्तै प्रतिक्रान्तिको ज्वलन्त उदाहरण हो । यसलाई रोक्न सबै नेपालीहरुको आफ्नै खाले सहभागिता र चासो चाहिन्छ । राजनीति भनेको कुनै दलको अमुक नेताको मात्र विषय बनेर गयो भने त्यस्तो दल र नेतृत्व जनता र समाजसँग गाँसिएको व्यक्तिगत, पारिवारीक स्वार्थ र गुटगत बुर्जुवा राजनीतिको सिकार हुन्छ । उसको लागि देश, जनता र जनताको दैनिक समस्या भाषण र नाराको मात्र विषय बन्छ । त्यसैले नेपालको राजनीतिक वर्तमान र भविष्य नेताहरुको विवेकको भरमा मात्र छाड्न मिल्दैन । के नेपालमा परिवर्तन जनताको हित लागु हुन नसक्नुमा विदेशी प्रभाव नेतृत्वको वैचारिक र चारित्रिक स्खलन, राजनीतिक दलहरुमा देखिएको यथास्थिवादी सोच पनि जिम्मेवार छ । हिजो २०४६ सालपछि कांग्रेस, एमालेको जीवनशैली र दर्शन जसरी पंचको स्तरमा ओरालो लाग्यो त्यस्तै स्थिति माओवादीको केन्द्रदेखि जिल्लासम्मका धेरै नेता र कार्यकर्ताहरुमा वैचारिक र साँस्कृतिक विचलन देखिन थालेको छ र व्यक्तिगत सम्पत्ति, सुख सुविधा र नाफा घाटाप्रतिको मोह र माया बढेर गएको छ । हिजो जीवन नै वर्गीय युद्धमा वलिदान दिने भनेर हिडेकाहरुले जनवादपछि मात्र मुक्तिपाउने सपना र आदर्श वुर्जुवाकरण र केन्द्रदेखि नै पुँजीवादको पुर्नस्थापना तर्फको सुधारवादी यो यात्राले आदर्श र सपना जोखिममा पारेको छ । यो जोखिमयात्रासँगै नेपाली क्रान्ति गम्भिर संकटमा फसेको छ । केही नेता र कार्यकर्ता थाक्यो भनेर के क्रान्ति स्थगित हुनेछ, के क्रान्ति थाक्ने छ ? आगामी परिवर्तन रोक्ने छ ? के हावाको गतिमा सुस्तता छाउने छ, के पुथ्वीले सुर्यको परिक्रर्मा गर्न छाड्ने छ ? के जनताको त्याग र शहिदको वलिदान खेर जानेछ यो कसैले सोचेको छ भने त्यो गलत सोचेको छ के अब नेपाली क्रान्तिले नयाँ बाटो पाउने छैन ? के अब यसको समाधानको लागि नयाँ वैचारिक धारको जन्म हुने छैन ? निश्चित रुपमा नेपाली जनताको यो नवीन गम्भीर प्रश्नहरुलाई सम्बोधन गर्ने नेपाली क्रान्तिको नयाँ प्रतिनीधि, पात्रहरु अर्थात नयाँ नायक र नायिकाहरु यसै नेपाली समाजले दिनुपर्ने छ ।
यही नेपाली युवाहरुले त्यो नेतृत्वलाई कठिन संघर्षको प्रसव पीडाको बीच जन्माउनु पर्ने छ । प्रत्येक नेपालीले साँचो अर्थको नयाँ नेपाल बनाउन र नेपालको गरिबी हटाउन नयाँ संघर्ष र बलिदानको तयार हुनु जरुरी छ । के हामी यो दुस्साहस गर्न तयार छौ ? के हामी नदीको विपरीत धारमा हिड्न तयार छौ ? के हामी पुरानो नेतृत्व र पुरानो विचारधारालाई फ्याकेर नयाँ विचार र नयाँ नेतृत्वलाई जन्माउन तयार छौ ? यो प्रश्न नयाँ लोककल्याणकारी राज्य र समाज चाहने सबैको लागि हो । यो स्थापितविरुद्ध हिड्न चाहने जनपक्षीय विद्रोही नविन मान्यता पनि हो । त्यसो नभए समाजको गति कसरी अगाडि बढ्न सक्छ । यदि यसो नभएको भए नयाँ शब्द र बस्तु नै हुने थिएनन् । नयाँ यात्राको जोखिम हामीले नमोले कस्ले मोल्ने ? वर्तमान नेपाली राजनीतिमा देखिएको फेरी त्यही फोहारी खेल तीव्र हँुदा नेपाली राजनीति र नेताहरुप्रति गहिरो अविश्वास र घृणा धेरै नेपाली युवा र जनतामा देखिन्छ । नेपाली राजनीतिमा देखिएको यस्तै खिचातानी, द्धन्द्ध, घृणा, अविश्वास र आत्मसमर्पण र पलायनवादी सोचले जगंवहादुर, महेन्द्र र ज्ञानेन्द्रको आगमन भएको हो । दलभित्र र बाहिरका सचेत युवाहरुले समयमै यस प्रवृत्तिको विरुद्ध हस्तक्षेपपूर्ण सँस्कारको अभियान चलाएन भने विचलन, सुख र सुविधा खोज्ने पुँजीवादी संस्कृति र आचरणमा प्रहार गरेन भने हामीले भन्ने गरेको नयाँ समाज, नयाँ व्यावस्था र नयाँ मानव कसरी दिन सक्छौँ । पुरानाको विरुद्धको यो लडाईलाई सार्थक टुंगो पु¥याउने नयाँ साहस र हिम्मत हामीले देखाउन सकेनौ र जनविरोधि गतिविधि टलटल हेरिरहने हो भने अब आउने पुस्तालाई विकसित नेपाल कसरी दिन सक्छौँ ? त्यसो भएन भने मिखाइल लेमोन्तकको हाम्रो जनताको चरित्र नायकमा जस्तै हाम्रो देशले पनि दुःख पाउने छ । त्यसले समाज र नागरिकलाई नैतिकपनको स्थितिमा पु¥याउने छ । वर्तमान राजनीतिक पुस्ताको अवगुणहरु देखाउन फेरी अर्को हाम्रो जमानाको चरित्र नायकको बारेमा लेखन सुरु हुनेछ । जहाँ लेखकले जीवनको उद्देश्य र संघर्षको सम्भावना देख्ने छैन र दयनीय समाजकोे नैतिक तस्वीर पेस गर्ने छ । त्यसैले हामी यस्तो चरित्रका नायक नायिकाहरु निर्माण गरौ, जसबाट सबैले अनुसरण र उदाहरण लिन सकोस् ।