बागलुङ, १२ भदौ-सहकारी तथा गरिवीनिवारण राज्य मन्त्री चम्पा खड्काले बेरोजगारीबाट पछाडि परेका महिला र युवाको शिर ठाडो पार्ने काम गर्ने बताएकी छिन् । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा खड्काले देशभरका महिला र युवालाई विदेश जान नपर्ने गरी कुनै कार्यक्रम बनाउन सकेमा मन्त्री बनेको सफलता महसुस गर्ने बताईन् । उनले देशभरको कार्यबोझ भएपनि जन्म र कर्मथलोको रुपमा बागलुङमा पनि स्मरण योग्य केही काम गर्ने बताइन् । ‘केही विकास निर्माण र स्वरोजगार मिल्ने काम गरौं भन्ने सोचेकी छु’ खड्काले भनिन्, ‘या अभियानका लागि उद्योग बाणिज्य संघ र बुद्धिजिविहरुले उचित सल्लाह दिन आवस्यक छ ।’ स्थानीयको आवस्यकता र चाहना अनुसारको काम गर्ने भन्दै उनले ठोस कार्यक्रम बनाएर ल्याउन पनि आग्रह गरिन् । उनले हस्तकला, घरेलु तथा लघु उद्योगको विकासमा राज्यतहबाट दिने सेवा सुविधा र सहुलियतका लागि पहल गर्ने बताइन् । ग्रामीण बासिन्दाको दुःख पनि देखे भोगेकोले उनीहरुको जीवनस्तर उकासिने खालको कार्यक्रम बनाएर अगाडि बढ्न पाहल गर्ने उनले बताइन् । महिला उद्यमीहरुले राखेका माग प्रति पनि उनले आँफु सचेत रहेको बताइन् । उद्यमीहरुले महिलाको उत्पादनलाई बजार विस्तार गर्न र कोसेली घर बनाएर बजारीकरणको वातावरण बनाउन पहल गरिरहेको र त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासुले उद्योगको विकासबाट मात्र देशमा रोजगारीका अवसर पाईने भन्दै त्यसका लागि उद्योगधन्दा फस्टाउने वातावरण बनाउन आवस्यक भएको बताए । त्यसका लागि महासंघको तर्फबाट पनि पहल भैरहेको भन्दै सरकारले पनि वातावरण बनाउने नीति ल्याउनुपर्ने धारणा राखेका थिए । उक्त अवसरमा संघका सल्लाहकार देवबहादुर श्रेष्ठले देशभरका ३४ हजार सहकारीको लागि निर्मित ऐन संसदमा अड्केर बसेको भन्दै उक्त ऐन पारित गर्न मन्त्रीस्तरीय पहल आवस्यक भएको पनि बताए । देशभरका सहकारीले साना उद्यमी तथा ग्रामीण बस्तीका बासिन्दाको सानो सानो पूजिबाट रोजगारी बढाएका छन् । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, महासचिव दयाराम पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, पूर्व अध्यक्ष युगेश्वर ओझा, महिला उद्यम विकास समितिका अध्यक्ष भगवती केसी, कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष रामचन्द्र पौडेल लगायतले बोलेका थिए । खड्कालाई व्यवसायीले जिल्लाको ईतिहासमा पहिलो महिला मन्त्री बनेको भन्दै सम्मान पनि गरेको थियो । जिल्लाको ईतिहासमा महिला मन्त्री बनेको नपाइएको र पहिलो इतिहास सँगै बिकास निर्माणमा पनि जिल्लाको गरिमा बढ्ने र नाम राख्ने काम गरेर देखाउने अवसर बनाउन व्यवसायीले आग्रह पनि गरेका थिए । निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले पनि यो अवसरलाई समात्न सकेको खण्डमा स्वर्गिय हरि खड्काको सपना पनि पुरा हुने बताएका थिए । ‘जुन अवसरबाट यो स्थानमा आउनु भएको छ, त्यो सपना पुरा गर्ने अवसर पनि पुरा गर्नुपर्छ’ श्रेष्ठले भने, ‘जिल्लाबासीको साथ र सहयोग हुनेछ, निर्माणको अगुवाई गरेर नाम राख्ने प्रयास गर्नुहोस् ।’ राज्य मन्त्री भएर जिल्ला आएकी खड्कालाई जिल्लाका अधिकांस संघसंस्थाले स्वागत तथा सम्मानको कार्यक्रम गरेका छन् ।