राजेशचन्द्र रा.भ.- जब–जब देशमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ तब–तब एउटा न एउटा नयाँ किर्तिमान कायम गरेर छोड्छन् । चौथो पटक देशका प्रधानमन्त्री बन्न सफल हुनु भएका देउवाले मन्त्री मण्डल बिस्तार गरे । अहिले गरेको बिस्तारले सरकारमा मन्त्रीको संख्या ५० जना पुगेको छ । यो नेपालको इतिहासमा सबैभन्दा ठूलो मन्त्री मण्डल हो । यसभन्दा अघि देउवाले ४८ जनाको मन्त्रीमण्डल बनाउने काम गरेकोमा त्यसलाई माथ गर्दै डा. बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्री मण्डल बनाएका थिए । अहिले फेरि त्यो पुरानो रेकर्डलाई ब्रेक गर्दै ५० सदस्यीय मन्त्रीमण्डल बनाएपछि देउवा फेरि एकपटक चर्चाको शिखरमा पुगेका छन् । ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझै नेपाली कांग्र्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको क्रियाकलापलाई हेर्दाहेर्दै नेपाली जनता मज्जाले पेट मिचेर हास्नुभन्दा अर्को बिकल्प छैन । पटकपटक असफताको बिल्ला भिरीसकेका देशको ठुलो र पुरानो पार्टीका नेताको गतिविधिले देशले विकासतर्फ हैन बिनासतर्फ गैरहेको स्पष्ट देखिन्छ । दिन बिराएर मन्त्री थप्ने काम गर्ने बानी परिसकेको कारणले पनि शेरबहादुर अहिले सबैभन्दा चर्चामा छन् । देश गणतन्त्रमा प्रबेश गरे पनि जनताले त्यो कुराको अनुभुती गर्न पाएका छैनन् । २०७४ माघ ७ गतेसम्म प्रदेश र संसदको निर्वाचन गर्न बाँकी छ । समय धेरै छैन । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन गर्न नै बाँकी छ । संबिधान संशोधन फेल भएपनि मधेसी दलले चुनावमा माग लिनको लागि आयोगमा दल दर्ता गरिसकेको छ । नेपालको संविधानले २५ जना मात्रै मन्त्री बनाउन पाउने ब्यबस्था गरेपनि त्यो कुरालाई लत्याउँदै प्रधानमन्त्री देउवाले ५० जनालाई मन्त्री बनाईसकेका छन् । अझै राप्रपा लगायतका सानो दललाई दिन बाँकी ४ मन्त्री त प्रधानमन्त्री देउवाकै खल्तीमा बाँकी छ । त्यो संख्या पनि जोड्ने हो भने अब देशमा ६ दर्जन मन्त्री हुने निश्चित छ । न त अहिले भएका मन्त्रीलाई काम पुगेको छ न त बस्ने कुनै ठाउँ छ । थपिएका मन्त्रीलाई मात्रै खर्चको हिसाब गर्ने होभने १० करोड त राज्यलाई ब्ययभार थपिन पुगेको छ । थपिएका मन्त्रीलाई बस्ने क्वाटर समेत सरकारले दिन नसक्ने भएपछि भाडाको घरमा डेरा लिएर बस्नु पर्ने अबस्था सिजना भएको छ । हो हामीले देशमा गणतन्त्र स्थापना ग¥यौ संघियतालाई पनि संस्थागत गर्न लागि परेका छौ तर हामीलाई यति धेरै मन्त्री किन चाहियो भनेर प्रश्न नेपाली जनताको भएपनि संसद भएका प्रत्येक ब्यक्तिलाई भने जसरी भएपनि एकपटक सकेसम्म प्रधानमन्त्री नभए उप–प्रधानमन्त्री त्यो पनि नभए मन्त्री अनि राज्य मन्त्री भएर छोड्ने ईच्छा भएकै कारणले मन्त्री धेरै बनाउने होडबाजी चलेको हुनुपर्छ । अर्कोतिर अहिलेको संयुक्त सरकार दलिय भागबन्डा, गुटबन्दी अनुसारको जोडघटाउ सबै कारणले पनि ५ दर्जन मन्त्री पुग्न लागेको हो भन्नेमा कुनै शंका छैन । शेरबहादुर प्रधानमन्त्री बन्दासाथ पनि यिनले धेरै सदस्यीय मन्त्री मण्डल बनाउछन् भन्ने मानसिकता पनि राजनीतिक बजारमा भए कै बिषय हो । नेपालको इतिहासमा नै जम्बो मन्त्रीपरिषद्को रूपमा आफुलाई स्थापित गर्न सफल शेरबहादुर देउवा साँच्चिकै भाग्यमानी मान्छे मध्येमा पर्नेछन् । तर काम गर्ने कार्यशैली कै कारण यिनी जहिल्यै पनि लास्टमा बिबादास्पद बन्छन् । अहिले सबैभन्दा बढी चुनौति र अबसर दुबै शेरबहादुरलाई छ । २०७४ माघ ७ गतेसम्म संविधान अनुसार चुनाव गराउन नसके अब नेपालकै इतिहासमा कलंकित प्रधानमन्त्रीको अर्को बिल्ला भिर्न देउवा तयार रहनुपर्छ । हुनतः मंसीर १० गते २ वटा तहको निर्वाचन गराउन निर्वाचन आयोग तयार भएको कुरा बाहिर आएको कुरा सुन्दा केही आशा भने पलाएको देखिन्छ । तर हामीले जतिसुकै सहज रूपमा सोचे पनि अबस्था भने त्यति सजिलो छैन । नेपालमा दोस्रो जन आन्दोलनदेखि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सम्ममा हाम्रो भुमिका प्रभावकारी भएको हुँदा हामीले भनेअनुसार चल्नुपर्छ । राजनीतिमा छिमेकी मुलुक भारतको प्रत्यक्ष हस्तक्षेप भएको समयमा हामी देश भित्र भएका सबै राजनीति दल एकजुट नहुँदासम्म देशले निकास पाउने देखिदैन । संविधानसभाबाट संबिधान घोषणाको समयदेखि आफ्नो असहमति राख्दै आएको छिमेकी भारतले मधेसी दललाई आन्दोलनमा उतार्न सफल भएको कुरा अहिलेसम्मको घटना क्रमले सिद्ध गरिसकेको छ । अहिले मधेस तराई डुबानमा परेको छ । देशमा पुरानो शासकले गरेको सन्धि सम्झौता कै कारणले पनि नेपाल र नेपाली धेरै ठाउँमा ठगिएका छन् । अहिले डुबानमा परेको पनि त्यही कारण हो । पटक–पटक सरकार फेरिने । सबै सरकार प्रमुख पालैपालो प्रभुको चाकडी र दर्शनको लागि भारत पुग्ने अनि प्रभुले भनेअनुसार सन्धि सम्झौता गर्न बाध्य भएको कारणले पनि नेपाल प्रत्येक बर्ष बाढीको डुबानमा पर्न बाध्य भएको तथ्य सबै सामु छर्लङ्ग छ । तरपनि हामी त्यो बिषयमा चुपचाप छौ । हामीले चाहिने बिषयमा केही बोल्न सक्दैनौं । हामीले राष्ट्रवादको नारा लगाउछौ तर ब्यबहारमा भने आफ्नो चरित्र देखाउन सक्दैनौं । त्यसैको फाइदा अहिलेसम्म छिमेकी मुलुकले यो वा त्यो नाममा लिइरहेको छ । अहिले जम्बो मन्त्रीमण्डल बनाउनु पर्ने बेला पनि हैन । कसैलाई देशको चिन्ता छैन । जनताको कुरा त धेरै टाढाको बिषय भयो । अहिले राज्यमन्त्रीको तलब मासिक ६० हजार छ । घरभाडा ४० हजार र अन्य खर्चको हिसाबकिताब गर्ने होभने क्यालकुलेटरमा जोड्नु पर्छ । साँच्चै अहिले बनेको जम्बो मन्त्री मण्डलबाट देशको राजनीति परिवर्तनमा प्रभाकारी भुमिका खेल्न सक्यो भने केही महत्व राख्ने छ । हैन भने ‘कहिँ नभएको जात्रा हाडी गाउँमा’ भनेझै साबित हुनेछ । देशमा राजनीति परिवर्तनको नारा लगाउने पुरानो राजनीति पार्टी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर बाटै भर्खरै बनेको संबिधानको मर्म र भावना बिपरित २५ सदस्यीय मन्त्री मण्डल बनाउनु पर्नेमा ५० सदस्यीय बनाएर संबिधानलाई सिधै बलात्कार गर्ने काम गरेपछि अब भोलिका दिनमा यिनबाट कसरी संविधानको रक्षा हुन्छ भनेर बिश्वास गर्न सकिन्छ । भएका मन्त्रीले यही बेला हो ‘पैसा कमाउने चुनाव खर्च उठाउने’ भन्नेतर्फ नलागिकन देश र जनताको पक्षमा काम गर्नुपर्ने हाम्रो दायित्व हो भन्ने कुरा मनन गर्न सक्यो भने केही परिवर्तन गर्न मद्दत पुग्ने छ । साँच्चै हामीले संविधानको पालना गर्ने हो भने त्यसको मर्म र भावना अनुसार चल्न जरुरी छ । आफ्नो अनुकूल संविधानको ब्याख्या गरेर हुँदैन । अहिले बनेका मन्त्री र राज्यमन्त्री सबैले आफ्नो भुमिका निभाउन सके मन्त्री भएको औचित्य साबित हुनेछ । पटक–पटक असफलताको बिल्ला भिरेका प्रधानमन्त्री देउवाले अबको बाँकी अबधिको सदुपयोग गरि नयाँ इतिहास बनाउन जरुरी छ । अब आफै इतिहास बन्ने हैन इतिहास रच्ने काम गरेमा सधैंलाई सबैले मान्ने छन् ।
Previous Articleम्याग्दीबाट ६ हजार जडिबुटी निकासी
Next Article २०७४ भदौ १२ गते सोमबारको राशिफल