काठमाडौं, ९ भाद्र – निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई–दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग(अलग जिल्ला समन्वय समिति रहनेछन् । यसैगरी रुकुम जिल्लाको पूर्वी भाग पाँच नम्बर प्रदेशमा र पश्चिम भाग ६ नम्बर प्रदेशमा पर्दछन् । त्यसैले रुकुममा पनि दुई जिल्ला समन्वय समिति रहने निर्वाचन आयोगले जनाएको छ । रुकुम र नवलपरासीमा दुई–दुईवटा गरी जम्मा चार जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय निर्वाचन आयोगले गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि चारजना जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन कानून मन्त्रालयलाई भनिएको उनले बताए । नवलपरासी र रुकुम जिल्लाहरूमा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न पनि स्थानीय विकास मन्त्रालयलाई भनिएको छ । यसैगरी चितवन जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा कार्यरत जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई नै थप जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
भदौ ५ गतेभित्र १८ वर्ष पुगेकाले मात्र प्रदेश र संसदको चुनावमा भोट हाल्न पाउने
यही भदौ पाँच गतेभित्र १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरुले मात्र आगामी मंसिर महिनामा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । बिहीबार बसेको निर्वाचन आयोगको बैठकले सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको दिन भदौ ५ गते नै मतदाताको उमेर १८ वर्ष पुगेको हुनुपर्ने निर्णय गरेको हो । ‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको हो ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि निर्वाचन आयोगले ०७४ साल भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलनरदर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको छ । सरकारले आगामी मंसिर १० गते एकैदिन एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउने निर्णय गरेको छ ।
Previous Articleमगर बस्तीमा सय वर्षपछि फर्कियो सोरठी
Next Article ताराखोलामा तिजी मेला शुरु