काठमाडौं, ४ भदौ – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा जारी साफ यू–१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे । खेलको सुरुबाट पकड जमाएको भारतले पहिलो हाफमा ४ गोलको अग्रता लियो । बलियो देखिएको भारतले २०औं मीनेटमा रभीको गोलमा अग्रता लिएको हो । उनले बिकी ओरामको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसको २ मिनेट पछि माल्दिभ्सको आत्मघाती गोलमा भारतको अग्रता दोब्बर भएको थियो । रभीले २६ औं मिनेटमा समिर केर्केट्टाको क्रसलाई करिब ६ यार्डबाट हाफ भली प्रहार गर्दै गोल गरे । त्यस्तै भारतले ४१ औं मिनेटमा कर्नर मार्फत चौथो गोल गर्यो।बिकीले प्रहार गरेको कर्नरमा मोइरङथेम थोइबा सिंहले हेडर मार्फत गोल गरे । दोस्रो हाफको सुरुवाती तीन मिनेटमा रभीले ह्याट्रिक पुरा गरे । गिभ्सन सिंह मोइरङथेमले करिब २२ यार्डबाट गरेको प्रहार माल्दिभ्सका गोलरक्षक मोहमद राइफ अब्दुल्लाले रोकेपनि रिबाउन्डमा रभीले सहजै ट्याप गर्दै ह्याट्रिक पुरा गरे । भारतका लागि रिकी जोन साबोंगले ५७ औं मिनेटमा थप गोल गरे । बिकीको ८ यार्ड बक्स नजिकको क्रसलाई रिकीले सजहै ट्याप गरेका हुन् । त्यस्तै भारतका कप्तान विक्रम प्रताप सिंहले ७१ औं मिनेटमा गुर्किरत सिंहको क्रममा हेड मार्फत सातौं गोल गरे । भारतकालागि ८१ औं मिनेटमा लालरोकिमाले २२ यार्डबाट उत्कृष्ट गोल गर्दै आठौं गोल दिलाए भने ८८ मिनेटमा अर्को आत्मघाती गोलसँगै भारत ९–० को बलियो अन्तरले जित्न सफल भयो । नेपाल सहित रहेको समूह ‘बी’ को अर्को खेलमा सोमबार माल्दिभ्स र आयोजक नेपाल भिड्ने छन् । त्यस्तै बुधबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
Previous Article४ भदौ २०७४, ढोरपाटन दैनिक
Next Article २०७४ भाद्र ४ गते आईतबारको राशिफल