म्याग्दी, २६ साउन-जिल्लामा एक वर्षको अवधिमा राहदानी दस्तुरबाट मात्रै झण्डै डेढ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । गएको आर्थिक वर्ष २०७३÷७४ मा कुल एक करोड ४६ लाख ८० हजार सातसय रुपैयाँ राजश्व सङ्कलन गरिएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीको रेकर्डअनुसार राहदानी दस्तुरबाट मात्रै कुल राजश्वको एक करोड ४३ लाख ४७ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माले जानकारी दिए । यसैगरी संस्था दर्ताबाट दुईलाख ३८ हजार ४५०, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट ३० हजार ३५० रुपैयाँ राजश्व सङ्कलन भएको उनले बताए । लेखापाल शर्माका अनुसार, न्यायिक दण्ड तथा जरिवानाबाट २९ हजार ५००, न्यायिक दस्तुरबाट २६ हजार ५०० र परीक्षा शुल्कस्वरुप ८ हजार ४०० रुपैयाँ सङ्कलन भएको छ । राहदानीबाहेक अन्य शीर्षकको रकम जिल्ला प्रशासन कार्यालयमार्फत र राहदानी बापतको नगद नेपाल बैङ्क लिमिटेडको शाखामा रहेको प्रशासनको कोर्ड हुँदै कोष तथा लेखा नियन्त्रकको कार्यालयको राजश्व खातामा जम्मा हुने व्यवस्था रहेको छ । कार्यालयमा सङ्कलित अधिकांश राजश्वको हिस्सा राहदानीले ओगटेको लेखापाल शर्माको भनाई छ । गत आर्थिक वर्षमा कुल ४ हजार ५१ ओटा राहदानी सिफारिस भएकोमा द्रुत सेवातर्फ १ हजार ४५६ र सामान्यतर्फ २ हजार ५९५ ओटा राहदानी सिफारीस गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले जानकारी दिए । उनका अनुसार १ हजार ९५५ ओटा राहदानी वितरण गरिएको छ । सामान्य राहदानीका लागि प्रति राहदानी बापत ५ हजार रुपैयाँ राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने हुन्छ भने द्रुत सेवाको राहदानी परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था रहेको उनले बताए । एसएलसी र प्लस टु उत्तीर्णपछि नागरिकता बनाउने र राहदानी लिनेको सङ्ख्यामा वृद्धि भएको सहायक प्रजिअ आचार्यले जानकारी दिए । बैदेशिक रोजगारप्रतिको आकर्षण, अवसरको खोजी, भाषा तथा सिप सिक्न विदेश जानेलगायतका कारणले गर्दा विदेशिने क्रम बढेको हुँदा राहदानी लिने र राजश्वमा समेत वृद्धि हुन गएको प्रजिअ आचार्यले बताए ।