बागलुङ, २४ साउन – युवा तथा खेलकुद मन्त्री राजन कुमार केसीले बैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमा उत्पादन मूलक काममा लगाउने अभियान थाल्नुपर्ने बताएका छन् । रुद्रेपिपल युवा क्लबले आयोजना गरेको छैठौ तिज महोत्सवको सोमबार उद्घाटन गर्दै मन्त्री केसीले उत्पादन मूलक उद्योग धन्दा स्थापना गरेर बिदेश जानेलाई नेपालमै काम गर्ने अवसर दिन संघिय प्रणाली सहयोगी हुने पनि बताए । ‘स्थानीय तहमा के उत्पादन हुन्छ, कसरी आम्दानीका श्रोत बढाउन सकिन्छ र कस्तो उद्योग संचालन गर्न सकिन्छ भन्ने संघियताले खोज्न सिकाउँछ’ केसीले भने, ‘युवाको जोशलाई राष्ट्रले चिनेर देश विकासमा लगाउन नसके नेपाल अझै समृद्ध बन्न सक्दैन ।’ ७० बर्ष लामो राजनीतिक लडाईबाट आएको संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि युवाको नेतृत्वमा राष्ट्र अगाडि बढ्नुपर्ने पनि उनले जोड दिए । राजनीतिक परिवर्तन जस्तो आर्थिक समृद्धिको परिवर्तन सहज भने नभएको उनको धारणा थियो । युवालाई विदेश नजाने मन बनाउनका लागि देशमै केही गरौं भन्ने उद्योग, व्यवसाय संचालनको अवसर दिनुपर्ने उनको भनाई छ । साथै राज्यले लगानीमैत्री वातावरण बनाउने, राष्ट्रिय बजेटलाई पनि युवा मैत्री अभियानमा लगाउने नीति बनाउनुपर्ने उनले बताए । साथै संघियताका स्थानीय तहले पनि आफ्नो स्थानको आवस्यकता र प्रचुरताको खोजी गरेर छिटै रोजगारीका अवसर खोल्ने उनले विश्वास व्यक्त गरे । अहिलेसम्म अरुलाई दोष दिएर उम्केका नेपाली राजनीतिक दलहरु पनि अव कामै गरेर देखाउन अग्रसर हुनुपर्ने बताए । ‘अरुलाई दोष दिएर हुँदैन, अव केही गरेर देखाउनुपर्छ’ केसीले भने, ‘खेलमा खेलाडीले देखाएको अनुशासन जस्तै नेताहरुले पनि राजनीतिमा इमान्दारीता देखाउन जरुरी भएको छ ।’ राजनीतिक इमान्दारीता अभावमा पनि युवा पलायनको समस्या भएको उनको भनाई थियो । यसैबीच, मन्त्री केसीले छैठौ राष्ट्रपति कप प्रतियोगिताका बिजयी विद्यालयलाई पुरस्कार वितरण पनि गरेका छन् । सोमबार जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको एक कार्यक्रममा प्रथम हुने धवलागिरी बहिरा आवासीय माविलाई ५० हजार रुपैयाँ र दोश्रो हुने रुद्रे पिपल माविलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदले तोके अनुसार उक्त पुरस्कार दिनका लागि रकम आएपछि मन्त्रीकै हातबाट वितरण गरिएको समितिका अध्यक्ष धनबहादुर परियारले बताए । उक्त अवसरमा पनि मन्त्री केसीले युवाहरुको जोश र जाँगरबाटै राष्ट्र निर्माण गर्न सकिने धारणा राखे । युवा लाई शिप सिकाएर दक्ष बनाउने योजना र कार्यक्रम बनाउन लागेको उनले बताएका थिए । जिल्ला तहबाट पनि उचित र सान्दर्भिक कार्यक्रम बनाएर छिटो मन्त्रालयमा ल्याउन उनले आग्रह गरेका थिए । ‘उचित कार्यक्रम भएमा मैले अर्थ मन्त्रालयमा बजेट माग गर्न सक्छु’ केसीले भने, ‘एकमुष्ट रकम आवस्यक छ भनेर माग्दा सरकारले पत्याउँदैन, कार्यक्रम बनाएर आउनुहोला ।’ अवको स्थानीय तह र केन्द्रीय सरकारले महिला, बालबालिका र खेलकुँदमा अनिवार्य बजेट विनियोजन गर्नुपर्ने प्रावधान विकास भएकोले खेल क्षेत्रको विकास हुन सक्ने पनि धारणा राखे । समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, प्रशिक्षक भीमसेन शाक्यको संचालनमा सम्पन्न कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेल, जिल्ला युवा सूचना केन्द्रका प्रमुख कुश्मराज उपाध्याय लगायतले बोलेका थिए । तिज महोत्सव उद्घाटन समारोहमा पनि सांसद प्रकाश शर्मा पौडेल, ब्रम्हकुमारी विश्व विद्यालयकी संचालिका सावित्री दिदी लगायतले बोलेका थिए । क्लबका अध्यक्ष सुजन जिसीको अध्यक्षता, हस्त केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तिज मेला साउन २९ गतेसम्म संचालन हुने बताइएको छ । महोत्सवमा भलिबल प्रतियोगिता, दोहोरी गीत, तिज गित प्रतियोगिता लगायतका कार्यक्रम संचालन हुने बताइएको छ । यसैबीच, युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन)ले सहकारी संस्थाहरुले उत्पादन, व्यवसायीकरण र रोजगारीको क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आयोजना गरेको स्वागत तथा अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री के.सी.ले यस्तो बताएका हुन् । देशको अहिलेको ठुलो समस्या भनेको युवा शक्ति विदेश पलायन रहेकाले यसलाई रोक्नका लागि सहकारी तथा नीजि क्षेत्रहरुले युवाहरुलाई श्रोत र साधानको पहिचानमार्फत देशमै रोजगारी सिर्जना तथा उत्पादनका क्षेत्रहरुमा संलग्न गराई स्वदेशमै कार्य गर्ने बातावरण सिर्जना गरी राज्यलाई सहयोग गर्नुपर्ने उनले बताए । मन्त्री केसीले राज्यले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना र व्यवसायीकरण गर्नका लागि नेपालमा पहिलोपटक युवा विकासको क्षेत्रमा सघन काम गर्ने उद्देश्यले युवा परिषदको गठन भएको बताए । फरक प्रसंगमा मन्त्री केसीले बागलुङ जिल्ला पर्यटकीय र धार्मिक स्थलहरुले भरीपूर्ण रहेकाले यहाँको विकास तथा बागलुङका जनताको जीवनस्तर बृद्धिका लागि यी क्षेत्रहरुको व्यापक प्रचार प्रसार गरी आन्तरीक तथा वाह्य पर्यटकहरु भित्राउन जरुरी रहेको बताए । बागलुङ जिल्लामा अहिले पनि यहाँको उत्पादनले ६० देखि ७० प्रतिशत खाद्यन्न बाहीरबाट आयत गर्नुपर्ने अवस्था भएकाले जिल्लामा यति धैरै उत्पादन योग्य भुभाग हुँदा–हुँदै बाहिरदेखी आयात गर्नुपर्ने बाध्यता रहेकाले खाद्यन्नमा आत्मनिर्भर हुनका लागि कृषि व्यवसायलाई आधुनीकरण र व्यवसायीकरण गराउनुपर्ने मन्त्री केसीको भनाई थियो । कार्यक्रममा अवसरमा सांसद प्रकाश शर्मा पौडेलले सिवाईसी सहकारीमार्फत गरेका कार्यहरुको प्रशंसा गरेका थिए । अन्तरकृया कार्यक्रममा सिवाईसी सहकारीको बारेमा अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।
Previous Articleदुई निर्वाचन क्षेत्र कायम गर्न आग्रह
Next Article २४ साउन २०७४, ढोरपाटबन दैनिक