बागलुङ, २२ साउन – मालिका सेवा समाजको सक्रियतामा बागलुङ नगरपालिका ५ मालिकाका दुई बेसहारा बालबालिकाहरुलाई कक्षा नर्सरीदेखि १० कक्षासम्म निशुल्क पढाउने व्यवस्था गरेको छ । मालिका सेवा समाज र न्यू ओएसिस आवासिय बोर्डिङले संयुक्त रुपमा दुई बालबालिकालाई पढाउने भएको हो । सामाजिक सञ्जालमार्फत मालिका सेवा समाजले दिर्घकालिन शैक्षिक अक्षयकोष स्थापना गरि बालबालिकालाई आवासिय सहितको निशुल्क शिक्षा दिने बताईको छ । मालिकाका सिमा शर्मा र संयोग शर्मालाई निशुल्क शिक्षाको व्यवस्था गरिएको बताइएको छ । २०७४ असार १ गते सर्पको टोकाइबाट उक्त बालबालिकाकी आमा रिता शर्माको निधन भएपछि सामान्य परिवारका बालबालिका बेसहारा बनेका थिए । बालबालिकाका बुबा गोन्दि शर्मा रोजगारीको शिलशिलामा खाडी मुलुक छन् । मालिका सेवा समाजले शनिबार एक औपचारिक कार्यक्रम गरि उक्त बालबालिका पढाऔं अभियान शुभारम्भ गरेको हो । उक्त कार्यक्रममा बोल्दै मालिका सेवा समाजका सल्लाहकार रामजी प्रसाद शर्माले मालिका सेवा समाजले गरेको उक्त कार्य निकै उदारणीय भएको भन्दै यसमा साथ दिन सबैलाई आग्रह समेत गरेका थिए । उनले समाजमा पढ्न नपाएका धेरै बालबालिका भएको भन्दै आगामी दिनमा उक्त दिर्घकालिन शैक्षिक अक्षयकोषबाट अन्य बालबालिकालाई पनि शिक्षाको व्यवस्था गर्ने गरी अगाडि बढ्न मालिका सेवा समाजलाई आग्रह गरेका थिए । कार्यक्रममा उक्त अक्षयकोषमा स्वदेश तथा विदेशमा रहेका सामाजिक व्यत्तित्वहरुबाट ८ लाखभन्दा बढि रकम जम्मा भइसकेको मालिका सेवा समाजले बताएको छ । उक्त दुई बालबालिकालाई आवासिय सहित महिनाको २० हजारका दरले खर्च हुने अनुमान गरिएको छभने शैक्षिक सामाग्री तथा अन्य सेवा सुविधा विद्यालयले नै प्रदान गर्ने विद्यालयले बताएको छ । मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुंवर तथा न्यू ओएसिस आवासिय विद्यालयका प्रिन्सपल नेत्रलाल न्यौपानेले बालबालिकाको दश कक्षासम्मको शिक्षा निशुल्क गराउने करार पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । निशुल्क आवाशिय शिक्षा पाउँदा बालबालिकाको भविष्य राम्रो हुने बालवालिकाका एक अभिभावक नेत्र गौतमले बताए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका सचिव लालबहादुर थापा, राष्ट्रिय जनर्मोचाका धर्म कुँवर, समाजसेवी देवबहादुर श्रेष्ठ, बानपा ४ का वडा अध्यक्ष धुव्र केसी, बानपा–५ का वडा अध्यक्ष शिव सापकोटा, उद्योग वायिाज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, न्यू ओएसिसका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठ, प्रिन्सिपल नेत्रलाल न्यौपाने, रेडक्रस बागलुङका सभापति जब्बरबहादुर लामिछाने, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, मालिका सेवा समाजका सल्लाहकार भिमबहादुर के.सी, जेसिज बागलुङका उपाध्यक्ष मनोज विक, मालिका सेवा समाजका शिक्षा उपसमिति संयोजक कोपिला खरेल लगायतले बोलेका थिए । मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुंवरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष विष्णु कुँवर, धन्यवाद मन्तव्य उपाध्यक्ष जिवनाथ शर्मा र संचालन सचिव तेजबहादुर कुँवरले गरेका थिए ।