काठमाडौं, २२ भदौ – चौथो महाधिवेशनको तयारीमा लागिरहेको नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नेतृत्वमा विवाद सिर्जना भएको छ । नेतृत्वमा विवाद बढेसँगै असोज पहिलो साता गर्ने भनिएको महाधिवेशन हुने नहुनेमा अन्यौल बढेको छ । संगठनमा स्पष्ट देखिएका तीन समूह आ–आफ्नै अडानमा लागेका छन् ।
तरुण दलका नेताहरूका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा समूह जसरी पनि असोज पहिलो हप्ता महाधिवेशन गर्ने तयारीमा जुटेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला समूहले असोज पहिलो हप्ता महाधिवेशन हुनेमा शंका गरेका छन् । पहिलेपनि महाधिवेशन स्थगित गरेकोले नेतृत्वले फेरि पनि बेइमान गर्न सक्ने उनीहरूले बताएका छन् ।
सबै जिल्लाको अधिवेशन सम्पन्न नगरी महाधिवेशन गरेमा आफूहरू महाधिवेशनमा सहभागी नहुने समेत उनीहरूले बताएका छन् । पौडेल समूहका अनुसार अझै १९ जिल्लाको अधिवेशन गर्न बाँकी छ भने देउवा समूहका अनुसार १४ जिल्लामा मात्रै अधिवेशन गर्न बाँकी छ । देउवा समूहले सबै जिल्लामा अधिवेशनहरू भइरहेकाले असोज पहिलो हप्ता नै महाधिवेशन हुने बताएको छ भने यति छोटो समयमा महाधिवेशन हुन नसक्ने पौडेल समूहले बताएको छ ।
‘तोकिएकै समयमा महाधिवेशन’
तरुण दलमा देउवा समूहका नेता जन्मजय तिमल्सिनाले अघिल्लो पटक तराईका जिल्लामा महाधिवेशन हुन नसकेकाले महाधिवेशन स्थगित भएपनि यसपटक तोकिएको समयमै महाधिवेशन हुने बताए । ‘पौडेल समूहका साथीहरूले महाधिवेशनलाई रोक्न खोज्नुभएको छ,’ उनले लोकान्तरसँग भने, ‘तर हामीले पार्टीको निर्देशन समितिले दिएको निर्णय अनुसार जसरी पनि महाधिवेशन गर्छौं ।’
पार्टी केन्द्रीय समितिले गठन गरेको निर्देशन समितिले असोज पहिलो हप्ता महाधिवेशन गर्नका लागि निर्देशन जारी गरेको छ । देउवा समूह केन्द्रीय समितिमा आफ्नो संख्या अनुसार पेलेरै जाने मुडमा छन् । केन्द्रीय समितिमा २३ जना देउवा समूह र २२ जना पौडेल तथा सिटौला समूहका नेताहरू छन् ।
‘पौडेल समूहको झुट’
तिमिल्सिनाले पौडेल समूहले महाधिवेशन रोक्न खोजेर युवाहरूको भविष्य अन्धकारमा पार्न खोजेको भएपनि नेतृत्व कुनै पनि हालतमा महाधिवेशन गर्ने पक्षमा रहेको बताए । पौडेल समूहले बताए जस्तो १९ जिल्लामा अधिवेशन गर्न बाँकी नरहेको उनले बताए । उनले १४ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको तर सबै जिल्लामा प्रक्रिया अघि बढिसकेकाले महाधिवेशन हुने कुरामा शंका नगर्न अनुरोध गरे ।
‘१९ जिल्लामा बाँकी’
तरुण दलमा पौडेल समूहका नेता टेकराज पौडेलले १९ जिल्लामा महाधिवेशन गर्न बाँकी रहेकाले असोज पहिलो हप्ता महाधिवेशन हुन नसक्ने बताए । उनले सबै जिल्ला अधिवेशनहरू सम्पन्न गरेर राम्रोसँग केन्द्रीय महाधिवेशन गरेमा राम्रो हुने तर्क गरे ।
‘दुई नम्बर प्रदेशमा सिराहाबाहेक अरू जिल्लामा अधिवेशन हुन सकेको छैन्,’ पौडेलले लोकान्तरसँग भने, ‘कतिपय ठाउँमा विवाद समेत छ, हामीले जिल्ला अधिवेशन सम्पन्न गरेर मात्र अघि बढौं भनेका छौं ।’
‘देउवाले पेल्न खोजे’
उनले देउवा समूहले केही जिल्लामा समेत जबर्जस्ती पेलेर अधिवेशन गरेकाले आफूहरूलाई त्यो पनि मान्य नहुने बताए । ‘प्रक्रियागत ढंगले सबै जिल्लामा अधिवेशन नभएसम्म हामी महाधिवेशनमा भाग नै लिँदैनौं,’ पौडेलले भने, ‘अधिवेशन सम्पन्न भएका जिल्लाको भोटर लिस्ट समेत हामीलाई उपलब्ध गराइएको छैन ।’ साथै उनले विधानको केही काम पनि बाँकी रहेकोले छोटो समयमा सबै काम सम्पन्न नहुने बताए ।
‘नेविसंघको जस्तो भाँडभैलो नहोस्’
कृष्ण सिटौला पक्षका नेता नारायण भट्टराईले भने आफूहरू महाधिवेशनको पक्षमा रहेको तर सबै जिल्लाहरूको अधिवेशन सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने बताए । उनले नेविसंघको जस्तो भाँडभैलोयुक्त तरिकाले तरुण दलको महाधिवेशन गर्न नपाइने समेत बताए ।
‘नेतृत्व इमान्दार भएमा महाधिवेशन हुन सक्छ,’ उनले लोकान्तरसँग भने, ‘तर हामीलाई नेतृत्वसँग शंका छ ।’ उनले नेतृत्वले बेइमान गरेर फेरि पनि महाधिवेशन सार्न सक्ने बताए । केन्द्रीय नेताहरुको इन्ट्रेस्ट तरुण दलमा र तरुण दलका नेताहरूको इन्ट्रेस्ट जिल्ला तहमा जोडिएमा महाधिवेशन हुन नसक्ने उनले बताए । भदौ ३० गतेसम्म निर्णय गर्नेगरी छलफल समेत चलिरहेको उनले बताएका छन् ।
नेताहरूका अनुसार अहिलेसम्म महाधिवेशनका लागि तीनवटै समूह आ—आफ्नो ढंगले अघि बढेका छन् । अहिलेसम्म कुनै समूह मिलेर जाने विषय समेत बाहिर आएको छैन । काँग्रेस सभापति देउवा सबै भ्रातृ संगठनको महाधिवेशन समयमै गर्ने मुडमा छन् ।
Previous Articleस्थानीय निकाय पुनःसंरचनाका काम नरोकिने
Next Article भारतसँग नयाँ सम्झौता हुँदैनन्ः प्रधानमन्त्री