बागलुङ, १७ साउन – अचानक नसोचेको रोगले च्यापेपछि उपचार खर्च पु¥याउन नसक्दा जिल्लाको एक परिवारले सहयोगको याचना गरेका छन् । काठेखोला–४ की २४ बर्षिय बिष्णु श्रीष पुनले अस्पतालको शैयाबाट ‘म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस्’ भन्ने अपिल गरेकी छिन् । ‘लुपस’ नामक अनौठो रोगले ग्रसित भएकी श्रीष अहिले काठमाण्डौस्थित ग्राण्डी अस्पतालमा उपचार गराईरहेकी छिन् । ४ बर्ष अघिनै यो रोगको लक्षण देखिएपनि उपचार नभएपछि उनको अवस्था नाजुक बनेको थियो । नेपालका धेरै अस्पतालमा पुग्दा पनि रोगको पहिचान नहुँदा परिवारले लार्खौ खर्च गरिसकेका छन् । आर्थिक रुपमा कमजोर भएकोले परिवारको क्षमताले भ्यान नसक्ने भएपछि बिष्णु श्रीष उपचार सहयोग समिति गठन गरेर आर्थिक संकलन थालिएको हो । यो अभियान सफल पार्न समितिले सबैलाई आग्रह पनि गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर अहिले सम्म भएका क्रियाकलाप र अवका लागि आवस्यक रकम बारे सहयोग समितिका सदस्य सचिव जीवन काउचा मगरले जानकारी गराएका थिए । ‘रोगको अन्तिम अवस्थामा पुगिसकेकोले बिष्णुलाई बचाउन कम्तिमा ४० लाखदेखि बढीमा ६३ लाख रुपैयाँ सम्म लाग्ने चिकित्सकको अनुमान छ’ काउचाले भने, ‘सबैको साथ र सहयोग भएमा बिष्णु बाँचेर फर्कन सक्छिन्, यो अभियानमा साथ र सहयोग दिऔं ।’ नबिल बैंकको खाता नम्बर २७०१०१७५००५८२ नम्बरको खातामा रकम जम्मा गरेर सहयोग गरिदिन पनि उनले आग्रह गरे । उक्त अवसरमा पिडितको तर्फबाट बिष्णुकी महिनी देवी श्रीषले परिवारले सक्ने खर्च गरेर पनि बचाउन नसकेपछि सहयोगी हात खोज्न बाध्य भएको बताईन् । परिवार, नातागोता र सहयोगी हातबाट सहयोग पाउनका लागि पत्रकार सम्मेलन मार्फत संचार माध्यममा पुग्न बाध्य भएको उनले गुनासो समेत गरिन् । यसअघि यस्तै अभियानबाट रेशम आले बचाउ अभियान सफल भएको समेत कार्यक्रमका सहभागिले स्मरण गरेका थिए । लुपस नामक रोग लागेपछि शरिरको मुटु, कलेजो, मस्तिष्क र मृगौला लगायतका अंगले काम गर्न नसक्ने अवस्था हुने काउचाले जानकारी दिए । स्वाथ्यकर्मी समेत रहेका काउचाका अनुसार सबै अंगले काम नगरेकै कारण बिष्णुलाई बचाउन नसकिने भन्दै ग्राण्डी अस्पतालका चिकित्सकले माफी मागिसकेका थिए । तर अचानक उनको होस खुलेर आएपछि उपचारबाट बचाउन सकिने अभियानका साथ लागेको टिमले दैनिक १ लाख देखि १ लाख ९२ हजार रुपैयाँसम्म खर्च लाग्ने र ४ देखि ६ सातासम्म उपचार गर्दा निको हुन सक्ने संभावना बताएपछि परिवार र समितिले सहयोगको खोजी थालेको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक गगनबहादुर थापाले अभियान सफल बनाएर बिष्णुलाई फिर्ता ल्याउने प्रतिवद्धता जनाए । यो रोगबाट एकपटक निको पार्न सकेमा दोहोरिएर रोग नलाग्ने समेत बताइएको छ । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका सदस्य हेमबहादुर खत्रीले १ लाख ५० हजार सहयोग गरेका थिए । त्यस्तै संकल्प बचत तथा ऋण सहकारी संस्थाले पनि पहिलो चरणका लागि भन्दै २५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको छ । यसअघि जापानमा रहेका श्रीमान प्रकाश श्रीषको पहलमै तारा पुनले १५ लाख रुपैयाँ दिएका छन् । उक्त रकम केही ऋण र केही सहयोग भएको परिवारले बतायो । त्यस्तै रेशम आलेले ६ लाख सहित २४ लाख सहयोग जुटिसकेको पनि बताइएको छ ।
Previous Articleशरणार्थी हत्याका आरोपी १६ वर्षपछि पक्राउ
Next Article १७ साउन २०७४, ढोरपाटन दैनिक