बागलुङ, १७ साउन – ढोरपाटनमा आईतबार दिउँसो साढे ४ बजे नवीखोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । ढोरपाटन नगरपालिका–९ ढोर नवी गाउँका जीवन बिककी १५ वर्षिया छोरी बेलकुमारी बिक बुकीबाट घाँस लिएर फर्किने क्रममा नवीखोला तर्न लाग्दा बगाएको हो । बेपत्ता भएकी बेलकुमारी विक गाउँकै अन्य तीन जना साथीसंग बिहान घाँस काट्न सोही नवीखोला तरेर बुकीतिर गएकी थिईन् । घाँस लिएर फर्किरहेका चारै जना साथीहरु एकले अर्कोलाई समाती नवीखोला तर्न लाग्दा एक्कासी पानीको बहाव बढेर आएपछि उनीहरुलाई खोलाले बगाएको थियो । उनीहरुमध्ये तीन जनालाई स्थानीय र प्रहरीले उद्धार गर्न सफल भएपनि बेल कुमारीलाई उद्धार गर्न नसकिएको ढोरपाटनबाट ईन्द्र शाहीले जानकारी दिएका छन् । बेपत्ता बेलकुमारीको खोजी कार्य जारी रहेपनि उनको कुनै पत्तो नलागेको शाहीले बताए । बेपत्ता विक जीवितै फेला पर्ने संभावन कम भएको स्थानीयले बताए । गत शनिबार नवीखोला तर्न लाग्दा स्थानीय राजु विकको मृत्यु भएको थियो ।