बागलुङ, १३ साउन – तमानखोला गाउँपालिकाको गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेटको सार्वजनिकीकरण गरेको छ । पत्रकार सम्मेलन मार्फत गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा र कार्यकारी अधिृकत खिम विश्वकर्माले नीति, कार्यक्रम र बजेट बारे जानकारी गराएका हुन् । सात चरण पुरा गरेर आएका योजनालाई अन्तिम रुप दिएर बजेट समेत बिनियोजन गरिएको विकले जानकारी दिए । गाउँसभाले कृषि र पशुपालनलाई व्यवसायिककरण गर्ने, खेतीयोग्य जमिनमा घर निर्माणमा निरुत्साहित ग र्ने र भू उपयोग नीति अवलब्बन गर्ने, एक घर एक धारा, १५ शैयाका अस्पताल बनाउने, गाउँ तहमा खेलकुँद विकास समिति गठन गरेर खेललाई एकीकृत रुपमा विकास गर्ने, वार्षिक क्यालेण्डर बनाएर काम गर्ने समेत निर्णय गरेको थियो । तमानखोलामा एक बहुमुखी क्याम्पस स्थापना गर्ने, सडक निर्माणको क्रममा दिर्घकालिन विकास योजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गरेपछि मात्र खन्ने । जथाभावी डोजरको प्रयोग गर्ने क्रमलाई रोक्ने समेतको नीति लिएको हो । सरसफाई, ढल निकास र फोहोर व्यवस्थापनको काममा स्थानीयको सहभागितामा पनि जोड दिने, ५ लाख बढीका आयोजनामा अनिवार्य जानकारी बोर्ड राख्ने, ५० लाख भन्दा बढी लागतका योजनालाई डिपिआर बनाएर मात्र निर्माण गर्ने र ६० लाख भन्दा माथिको योजनामा ठेक्का प्रणालीमा जाने नीति बनाएको हो । भू संरक्षण तथा जलाधार संरक्षणका लागि कार्यक्रम, जलवायु परिवर्तन अनुकुलन योजना, मुहान, पोखरी र मुल संरक्षण अभियान, खानी तथा प्राकृतिक बस्तुको उत्खनन् र निकासीमा पनि वातावरणीय प्रभाव मूल्यांकन गर्ने व्यवस्था गरिएको हो । एकीकृत बस्ती विकास गर्ने, घर बनाउँदा नक्सा बनाउने प्रावधान राख्ने, त्रैमासिक बुलेटिन र रेडियो कार्यक्रम संचालन गर्ने योजना पनि छ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र बैंक मार्फत लैजाने, भवन निर्माण संहिताको पालना गर्ने पनि योजना बनाइएको अध्यक्ष जोकलाल बुढाले बताए । गाउँपालिका भित्र मर्मत सम्भार कोष, दैवीप्रकोप कोष, जेहेन्दार छात्रवृत्ति कोष, कृषि लागत सहभागिता कोष, बिरामी तथा सुत्केरी सहायता कोष, खेलकुँद विकास कोष र सामाजिक सुरक्षा कोष निर्माणका लागि ४० लाख रुपैयाँ बिनियोजन समेत भएको हो । पर्यटन प्रवद्र्धनका लागि सोले, ढोरपाटन, नर्जा लगायत स्थानमा जाने सडक र पदमार्ग निर्माण गर्ने, जडिबुटीको संभाव्यता खोजी गर्ने, प्रशोधन गर्ने र निकासीका लागि वातावरण बनाउने योजना पनि गाउँसभाले गरेको छ । आगामी बर्ष आन्तरिक आयका माध्यम बढाएर लैजाने सभाको नीति छ । साथै शिक्षाको क्षेत्रमा सुधार गर्न केही नमूना विद्यालय निर्माण, गुणस्तरीय शिक्षाको थालनी समेत गर्ने योजना छ । नगरपालिकाले वित्तिय समानीकरण अनुदान निर्शत र शशर्त तर्फ १६ करोड २६ लाख ३४ हजार, आन्तरिक आय ९ लाख ३९ हजार समेत १६ करोड ३५ लाख ७३ बजारको बजेट पारित गरेको बुढाले बताए । हाल एक जना कार्यकारी अधिकृत, एक नासु, एक लेखापाल सहित ७ जनाको दरवन्दी भएपछि तत्कालका लागि ३ जना मात्र कार्यरत छन् । प्राविधिक कामका लागि आवस्यक सव ओभरसियर समेत नभएपछि करारमा नियुक्ती गरेर काम चलाइएको विकले जानकारी दिए । तर पनि गाउँपालिकाले केही समयमै सफ्ट वेयर प्रणाली मार्फत काम गर्ने, भौगोलिक रुपमा टाढा भएपनि कामको माध्यमबाट नमूना बनाउने योजना सहितको कार्यक्रम अगाडि सारेको हो । सभाले पारित गरेको कार्यक्रम र नीतिलाई उनीहरुले सदरमुकाम ल्याएर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको यो पहिलो अभ्यास हो । यो गाउँ पालिकाले नेपाल पत्रकार महासंघका भवन निर्माण र क्षमता विकासका लागि पनि ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।