म्याग्दी, १२ साउन-जिल्लामा वार्षिक ४ हजारको हाराहारीमा सवारीसाधनहरु कार्वाहीमा पर्ने गरेका छन् । गत आर्थिक वर्ष २०७३÷७४ मा ट्राफिक नियम उल्लङ्घन गरी चलेका विभिन्न प्रकृतिका गरी कुल ४ हजार ९९ ओटा सवारीसाधनहरु कार्वाहीमा परेका हुन् । ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन, रुट परमिट नलिने, विना लाईसेन्स सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्ने, जथाभावी पार्किङ गर्ने, ओभरस्पिड लगायतका विभिन्न कारण ती सवारीसाधनलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्वाहीमा परेका सवारीहरुबाट कुल ३२ लाख ६३ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । गतभन्दा अघिल्लो आर्थिक वर्षमा कुल ४ हजार ८३९ ओटा सवारीसाधनहरु कार्वाहीमा परेका थिएभने १८ लाख ५२ हजार तीनसय रुपैयाँ राजश्व सङ्कलन भएको थियो । तर, गतवर्ष राजश्वको दरमा वृद्धि हुनुले कार्वाही सङ्ख्या कम भए पनि राजश्वको दर ह्वात्तै बढेको ट्राफिक कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले बताए । उनका अनुसार राजश्व बढ्नुमा लाईसेन्स लिने सेवा बन्द हुनु, शोरुमले धमाधम सवारीसाधन बिक्री गर्नु, ट्राफिक नियम उल्लङ्घन, मापसे, ओभरलोड, जथाभावी पार्किङ, कागजपत्र नबोक्नु, ओभरस्पिड चलाउनु र राजश्वको दरमा वृद्धि हुनु जस्ता कारणले राजश्व बढ्न गएको छ । गत आवमा ट्राफिक कार्वाहीमा परेका सबैभन्दा धेरै १ हजार ८३ ओटा जीप तथा कारबाट ८ लाख ५८ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी ९ सय ९३ ओटा मोटरसाईकलबाट ७ लाख ५६ हजार, ७ सय २३ ओटा बसबाट ६ लाख ५९ हजार पाँचसय र ७ सय २५ ओटा ट्याक्टरबाट ५ लाख पाँचहजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । सो अवधिमा सबैभन्दा कम कार्वाहीमा पर्ने ५ सय ७५ ओटा ट्रकबाट ४ लाख ८४ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको ट्राफिक प्रहरी जवान पौडेलको भनाई छ । गतवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा ५५६ ओटा सवारीसाधन कार्वाहीमा परेकोमा ती साधनबाट पाँचलाख १८ हजार राजश्व सङ्कलन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । त्यस्तै सोही अवधिमा सबैभन्दा कम साउन महिनामा २१७ ओटा सवारी कार्वाहीमा परेकोमा १ लाख ३८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । गतवर्ष सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने सख्त घाइते २५ र सामान्य २७ जना रहेको तथ्याङ्कमा छ ।