बागलुङ, ६ साउन – बाढी पहिरोले घर पुरिएपछि विस्थापित एक महिलालाई आर्थिक सहयोग गरिएको छ । गलकोट नगरपालिका ७ आँगखेतकी मनकुमारी चोखाललाई जिल्ला दैविप्रकोप उद्धार समिति सहित विभिन्न सामाजिक संस्थाले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको हो । मल्म देखि पाण्डवखानी हुँदै रमुवा जाने मोटरबाटो स्तरउन्नतीका क्रममा फालिएको ढुंगामाटो सहितको बाढी पसेर घर पुरिएपछि ६१ बर्षिय चोखाल विस्थापित भएकी थिइन् । उनलाई जिल्ला प्रहरी बागलुङका प्रमुख चन्द्रकुवेर खापुङले ४० हजार ५ सय रुपैयाँ राहत रकम हस्तान्तरण गरेका थिए । उक्त अवसरमा खापुङले विपत्तिमा परेकालाई सहारा दिएर मानवले धर्म कमाउन सक्ने बताए । साथै उनले अन्य सहयोगी निकायले पनि उनलाई थप राहत दिन सक्ने धारणा राखे । उनलाई सहयोग गर्न रोटरी क्लब अफ बागलुङ, लियो क्लब अफ बागलुङ कालिका, बागलुङ सिटी, बागलुङ उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नयाँ विश्व डटकम, सिवाईसी बचत तथा ऋण सहकारी संस्था, बागलुङ बहुउद्धेश्यीय सहकारी संस्था र राष्ट्रिय उपभोक्ता मंचले राहत संकलन गरेका थिए । कार्यक्रममा गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा, पत्रकार मुकेशचन्द्र राजभण्डारी, वडा नं. १ का अध्यक्ष तेजबहादुर थापा, कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदी, रेडक्रस मल्म शाखा सभापति डोलबहादुर केसी, उद्योग बाणिज्य संघ गलकोट ईकाई अध्यक्ष बीरेन्द्र श्रेष्ठ, बीरबहादुर चोखाल लगायतले बोलेका थिए । गलकोट ७ का अध्यक्ष टिकाबहादुर थापाको अध्यक्षता, राजेन्द्र घिमिरेको स्वागत र वडा सचिव महेन्द्र पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।