बागलुङ, ६ साउन – स्वर्गिय गायक अरुण थापा मगरको १८ औँ अरुण स्मृति दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल मगर विद्यार्थी संघ बागलुङ र नेपाल मगर सांस्कृतिक संघ बागलुङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नवोदित कलाकारको प्रोत्साहन गर्दै अग्रज कलाकारको सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ मनाइएको स्मृति दिवसमा स्वर्गिय गायक थापालाई प्रथम सहिद घोषणा गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य तथा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले समाजमा पुन्य कमाउन मठ मन्दिर धाउनु भन्दा आश्रममा आएर मानवीय सेवा गरे धर्म प्राप्ती हुने बताए । मगर संघको केन्द्रिय सदस्य जोकलाल बुढा तथा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषले मानव सेवा आश्रमका सुनिता श्रेष्ठलाई खाद्यन्न हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य लाल पुर्जा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषले मन्तव्य व्यक्त गरेका थिए । मानसिक रुपमा अस्वस्थ रहेका एवं असाहय व्यक्तिहरुलाई संरक्षण दिने उद्देश्यले मानव सेवा आश्रम सञ्चालन गरिएको आश्रमका सुमिरा लामाले जानकारी दिनुभयो । विदेशीहरुको सहयोग नलिइकन नेपालीको मुट्ठीदानबाट आश्रम चल्नुपर्छ भन्ने उद्देश्यका साथ आश्रम सञ्चालन गरिरहेको बताइएको छ । ‘सडक मानव’ मुक्त देश बनाउने लक्ष्यका सहित आफुहरुले मानसिक बिरामीहरुलाई सडकबाट उद्धार गरेर राखेको आश्रमले जनाएको छ । आश्रममा अहिले ५ महिला र ५ पुरुष गरी १० जना मानसिक सन्तुलन गुमेका एवं असाहय व्यक्तिहरु रहेका छन् । धौलागिरि अञ्चलका ४ जिल्लालाई लक्षित गरी मानविय सेवामा आश्रम सञ्चालन गरिएको हो । मकवानपुर हेटौडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले विभिन्न जिल्लामा शाखा विस्तार गर्ने योजना अनुसार धौलागिरि अञ्चललाई लक्षित गरी बागलुङमा पनि सेवा विस्तार गरिएको थियो । नेपाल मगर विद्यार्थी संघका सचिव प्रतिक घर्ति मगरको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य युनिसा थापाले गरेकी थिइन ।