पैसाको लागि मान्छेले जे पनि गर्न तयार हुन्छ । तर, समाजमा कतिपय यस्ता मान्छे छन् जो पैसाको कुनै लोभलालच गर्दैन । त्यस्ता मानिसको भीडमा पर्छन रबागलुङ नगरपालिका–१ रामरेखा निवासी क्याप्टेन धनबहादुर बोहरा । जीवनको उर्जाशिल समय भारतिय सेनामा बिताएर निवृत्त भएका बोहरा आजभोलि गाउँघरलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर चिन्तन गरिरहन्छन् । सामाजिक काममा अनिवार्य उपस्थित हुने धनबहादुर बोहराले करिब १० वर्ष पहिले देखेको सपनालाई अहिले यथार्थमा परिणत गरेका छन् । उनको सपना थियो– रामरेखाको लाम्पाटामा पार्क निर्माण गर्ने । उनको त्यो सपना अहिले पुरा भएको छ । करिब २२ लाखको लगानीमा उनले अस्तव्यस्त रहेको लाम्पाटामा सुन्दर क्याप्टेन डिबी पार्क निर्माण गरेका छन् ।
त्यो पार्कको निर्माण सम्पन्न गर्न उनले अझै केही लाख खर्च गर्दैछन् । एउटा व्यक्तिले चाहेमा असंभव केही हुँदैन भन्ने उदाहरण पनि क्याप्टेन धनबहादुर बोहराले देखाई दिएका छन् । महाकवी लक्ष्मी प्रसाद देवकोटाले चर्चित शोककाव्यमा भनेका छन्, ‘हातको मैला सुनको थैली के गर्नु धनले’ । हो पैसा हातको मैला हो आज छ भोलि हुँदैन । हाम्रो समाजमा धनबहादुर जस्ता धेरै मान्छेहरुको उदय हुनुपर्छ । जसले हाम्रो समाजमा केही गरेर उदाहरणिय बन्न सकुन् । उनले नाम कमाउने नाममा पार्कको निर्माण गरेका होइनन् । उनले आफ्नो भित्रैदेखिको चाहनालाई पुरा गर्न पार्क बनाएका छन् । लाम्पाटा अव्यवस्थित ठाउँ थियो । त्यो ठाउँलाई उनले सुन्दर बनाई दिएका छन् । पार्क बजारको हिलो, धुलो र कोलाहलबाट विश्राम लिएर केही समयका लागि घुम्न चाहनेलाई राम्रो गन्तव्य बनेको छ । भारतीय सेनाबाट निवृत्त भएका बोहोरा लामो समय देखि सामाजिक सेवामा लाग्दै आएका छन् । पार्कमा शिव पार्वतीको मन्दिर, महिला तथा पुरुष शौचालय, बिश्राम गर्ने स्थानहरु, पोखरी, खानेपानीको ट्यांकी र धाराहरु समेत जडान गरिएको छ ।
झण्डै ५ रोपनी क्षेत्रफलको सार्वजनिक जमिन विना काममा फालिएको थियो । उक्त जमिनलाई सदुपयोग गर्ने गरी पार्क निर्माण गरिएको छ । उक्त पार्कबाट धौलागिरी हिमाल, कालीगण्डकी नदीको मनोरम दृश्य समेत देख्न सकिन्छ । पार्कमा युवा र प्रौढले पनि घुमेर आनन्द लिन सकिन्छ । दैनिक सरसफाई गर्ने र बजारको गहनाको रुपमा लिन सकेमा पार्कले पर्यटक आर्कषण गर्न सकिन्छ । बागलुङ नगरपालिकाको प्रवेश द्वाराको रुपमा लिईएको वडा नं. १ रामरेखामा यसअघि पनि पार्क र भ्यु प्वाईन्ट निर्माण भईसकेका छन् । यसलाई व्यवस्थित गर्ने दायित्व जनताको मात्रै होइन । पर्यटनलाई समृद्विको प्रमुख आधार मानेको नगरपालिकाले पनि ध्यान दिनुपर्छ । तबमात्र नगरपालिकाले अघि सारेको कार्यक्रम सफल हुँदै जान्छन् । धन हुनेको मन हुँदैन भन्ने उखान हाम्रो समाजमा व्यापक प्रचलित छ तर, धनबहादुर बोहरासंग धन र सबै भएकै कारण एउटा सुन्दर पार्कको निर्माण संभव भएको हो । समाज विकासको अभियान पाइला चालेका बोहरालाई सलाम छ । उनले दिएको प्रेरणाबाट अरुले पनि सिक्ने होभने हाम्रो समाज समृद्वितर्फ अग्रसर हुने निश्चित छ ।