शिवशरण ज्ञवाली
कुनै पनि औपचारिक कार्यक्रममा सिडियो साप, डिएसपी साप, एलडिओ साप, चिफ साप भनेर सम्बोधन गरिरहेका हुन्छन् मानिसहरु । साहेबको छोटकरी शब्द साप भनिएको हुनुपर्छ । अदालतमा त अझै झन् श्रीमानै चल्छ । कहिलेकाही सुनिन्छ, अदालतका कर्मचारीहरुलाई निकै मुस्किल पर्छ, त्यहाँ भाषाअनुसार चल्न । त्यहाँ श्रीमान् त सामान्य कुरा भइहाल्यो । हरेकका निवेदनमा पनि ‘श्रीमान्’ र ‘ज्यू’ हजुरले अझै कति वर्ष खाने हो भन्न सकिन्न । अझ अन्तिममा हजूरको जो आदेश अझै पनि कतैकतै जीवित छ ।
छिमेकी भारतमा काम गर्न जाने नेपालीहरु आफ्ना मालिकलाई साप भन्दछन् । सापले पनि उनीहरुलाई बहादुर भन्छ । पछिल्लो नेपाल भ्रमणको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना घरमा काम गर्ने एक बहादुरलाई नेपालका परिवारजनसँग भेटघाट गराइदिए । ती नेपाली बहादुरले पनि नरेन्द्र मोदी सापको निकै तारिफ गरेको सुनियो । सधै नेपालीका लागि काम गरेको देखाउने नाटकको पर्दाफास मोदी सापबाटै भयो । यसले साप शब्दको अर्थ मालिक र नोकरको सम्बन्धलाई उजागर ग¥यो ।
देशमा गणतन्त्र आयो । जनताका छोराछोरी सर्वोच्च पदमा पनि पुगे । आमूल परिवर्तन पनि भयो भनियो । हुन पनि राज्यको हरेक निकायमा हिजो सीमान्तकृत भनिएकाहरुको पहुँच पनि पुग्यो । तर भाषामा परिवर्तन भएन । राजतन्त्र छँदासम्म उच्चस्तरको भाषा थियो, आइबक्स्योस्, गइबक्स्योस्, ज्यूनार होस्, सवारी होस् आदिआदि । राजतन्त्रको अन्त्यसँगै यो अवस्थाको अन्त्य भयो तर नवधनाड्य वर्गले आइसो, गइसोमा आफूलाई अभ्यस्त गराउँदामा नै इज्जत बढ्ने ठानेको छ । धनी र उच्च भइने ठानेको छ ।
भाषा संस्कृतिको संवाहक हो । भाषा सँगसँगै संस्कृति पनि पुस्तापुस्तामा हस्तान्तरण हुँदै जान्छ । त्यही भएर भनिएको हुनुपर्छ, ‘बुढा मरे भाषा सरे ।’ भाषा सरेसँगै संस्कृति पनि सरिरहेको हुन्छ । तर गणतन्त्र आइसक्दा पनि हामीले साप, श्रीमान् र ज्यूको संस्कृति चलाइरहेकै छौं । हाम्रा भावी पुस्ताले पनि यही सिक्ने होलान्, आखिर । खाँटी कम्युनिष्ट देखि प्रजातन्त्रवादी हुँदै पुराना शक्तिमा विश्वास गर्नेहरुको भाषामा यसमा भने एकरुपता र समानता रहेको पाइन्छ ।
नेपाली समाज परापूर्व कालदेखि नै शक्तिपूजक हो । कोही व्यक्ति शक्तिमा आइहाल्यो भने कति पनि सरम नमानी त्यसको चाटुकारितामा जुट्नु समाजको विशेषता मात्रै नभएर दुर्भाग्य पनि हो । जोगीभन्दा बढी खरानी घस्ने प्रवृतिले शक्तिको आएको मानिसलाई पनि आफ्ना किसिमले काम गर्नमा अवरोध सिर्जना गरेको छ भने मानिसहरुलाई अनावश्यक रुपमा निस्क्रिय बनाएको छ । भर्खरैको चुनावपछिका परिदृश्यले नै प्रष्ट पार्छन् धेरै कुरा । चाटुकारिताले हामीलाई श्रमको शक्तिको विश्वास पनि घटाएको छ ।
त्यसै त हाम्रो शिक्षा श्रमसँग जोडिन सकेको छैन । पढ्नु भनेको श्रमै नगर्नु जस्तो भएको छ । उत्पादनमा युवाहरुलाई लगाउने परिवेश छैन । किताबका कुराहरुलाई गायत्री मन्त्रजस्तो बनाइएको छ । त्यसलाई प्रयोग गर्नसक्ने वातावरण छैन । स्शहरिया र अर्धशहरिया परिवेशमा शारीरिक श्रमको अवसरै छैन । शारीरिक श्रमको अभावमा मानिसहरु शारीरिक र अनेक खाले मानसिक समस्या झेलिरहेका छन् । शरीरमा बल भएका युवाहरु जबरजस्त किताबहरुमा भुल्न बाध्य हुनुपर्ने बिडम्बना छ । शिक्षाले नै भाषा र संस्कृति सिकाउने हो । शिक्षा भन्ने बित्तिकै विद्यालय जोडिन्छ । आज विद्यालयलाई परम्परागत ज्ञान, सिप, प्रवृति कसरी सिकाउने भन्ने चुनौतीको पर्खाल खडा भएको छ । किताबका ठेलीले त्यस्ता परम्परागत ज्ञान, सिप, प्रवृति हस्तान्तरण गर्दैनन् । तसर्थ नयाँ संस्कृतिको सिर्जनामा विद्यालय मात्रै काफी छैनन् । त्यसका लागि समाज र परिवारको पनि आवश्यकता छ ।
एउटा निवेदन लेख्नुप¥यो भने हामी हाम्रा बालबालिकालाई श्रीमान् र ज्यू सिकाइहाल्छौँ । यो शैलीमा निवेदनमा नलेखेमा बर्बादै हुन्छ भन्ने मानसिकता छ । कुनै औपचारिक कार्यक्रममा पनि ‘साप’को टुक्का जोड्न लगाइहाल्छौं । यी भनाइहरु वा मान्यताहरु नफेर हाम्रो कामै हुँदैन भन्ने मानसिकता छ । त्यही कारण श्रीमान् र ज्यूले अझ सापले समेत बजार लिइरहेको छ । यस्तो भाषा जनमानसको जरासम्म गाडिएको छ । जुनसुकै पदमा पुगे पनि व्यक्ति जनताकै बलमा पुग्ने हो । कर्मचारी हो भने जनताको करबाट तलब खाने मानिस हो भने अन्य त झन् जनताकै माझ र मतबाट जाने व्यक्तिहरु हुन् । सम्मान गर्ने नाममा साप, श्रीमान् जोड्नुपर्ने आवश्यकता छैन । तसर्थ यस्ता शब्दहरु प्रयोग नगर्दैमा बित्यास नपर्ने हुँदा निवेदन लेख्दा र कार्यक्रम चलाउँदा श्रीमान् र साप हटाउँदा नै राम्रो । यसले हामीलाई अवश्य पनि हीनताबोधबाट माथि उठ्न सहयोग पु¥याउनेछ । चेतना भया !