बागलुङ, ३० असार – स्ववियु धौलागिरी बहुमुखी क्याम्यस बागलुङले बिहीबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थी वडापत्र एवं शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले क्याम्पसको शैक्षिक विकासका लागि क्याम्पस प्रशासन र स्ववियु हातेमाले गरेर अगाडी बढ्ने बताए । स्ववियुको निर्वाचन सम्पन्न भएपछि थुप्रै सकारात्मक काम भएको भन्दै त्यसमा क्याम्पस प्रशासनले पनि सघाउने बताए । कार्यक्रममा सहायक प्रमुखद्वय ध्रुवराज गौतम, हरिप्रसाद पाण्डेय, त्रिवि प्राध्यापक संघ धौलागिरी क्याम्पसका सचिव भक्तीराम न्यौपाने, त्रिविवि कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद कँडेल, त्रिविवि कर्मचारी संघ धौलागिरी क्याम्पस अध्यक्ष डोलेन्द्र शर्मा, स्ववियुका निवर्तमान सचिव खडक थापा, नेविसंघका क्याम्पस अध्यक्ष दिनेश पन्त, अनेरास्ववियुका इश्वर गौतम, अखिल क्रान्तिकारीका दुर्गा पौडेल, अखिल छैठौंका अध्यक्ष दिलीप बुढाथोकी लगायतले बोलेका थिए । क्याम्पसको शैक्षिक र प्राज्ञिक वातावरणलाई व्यवस्थित गर्न विद्यार्थीका पोशाक र परिचय पत्रमा अनिवार्यता गरिएको स्ववियुले जनाएको छ । ‘विद्यार्थी भन्दा गैरविद्यार्थी धेरै आउँदा यहाँको शैक्षिक वातावरण खलबलिएको थियो,’ स्ववियु सभापति मनबहादुर थापा ‘मनिष’ले भने, ‘पोशाक र परिचयपत्र अनिवार्य गराउँदा साथै गैर विद्यार्थी प्रवेशमा रोक लागेको छ । यसले नियमति पढाईको वातावरण बनेको छ ।’ आगामी शैक्षिक शत्रदेखि विद्यार्थी परिचयपत्रलाई डिजिटल बनाईने उनले बताए । स्ववियुले नियमित कक्षा सञ्चालन भैरहका विषयमा रुटिन, सिफ्टको व्यवस्थापन, विज्ञान संकायको कक्षा, पुस्तकालय र ल्याबको व्यवस्थापन, क्याम्पसको सेवा, कार्यक्रम, शुल्क लगायत विषय समेटेर वडापत्रको निर्माण, विद्यार्थीलाई परीक्षाको लेखाई शैली र प्रश्नका प्रकारबारे जानकारी गराउँदै क्याम्पसको नतिजामा सुधारका लागि त्रैमासिक रुपमा आन्तरिक परीक्षा सञ्चालन, क्याम्पसको ओहोर दोहोर गर्ने सडकको ढलान, बास्केटबल मैदानको पुनःनिर्माण, फोहोर व्यवस्थानका लागि डस्विनको व्यवस्था, विज्ञान ल्याबका लागि निर्माणाधीन भवनमा तला थप्ने गरी टेन्डर प्रक्रिया शुरु, क्याम्पसका सम्पूर्ण शैक्षिक गतिविधि, शुल्क लगायत स्ववियु गर्ने काम कर्तव्य समावेश गरिएको शैक्षिक क्यालेण्डरेको प्रकाशन, धौलागिरी अञ्चल अस्पतालसंगको समन्वयमा विद्यार्थी स्वास्थ्य बिमा अनिवार्य, स्ववियु भवनको व्यवस्थापन, शुद्ध पिउने पानीका लागि युरोगार्डको व्यवस्था लगायतका कामहरु सम्पन्न भैसकेको स्ववियु अध्यक्ष थापाले बताए । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रश्नपत्र र लेखाईबारे जानकार नहुँदा पनि क्याम्पसको नतिजा निकै खस्केको छ,’ थापाले भने, ‘त्यसको समाधानका लागि हामीले त्रैमासिक रुपमा क्याम्पसले परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएका छौं । यो सेमेष्टर सञ्चालन भएका बाहेक आँगिक क्याम्पसमा पहिलो पटक भएको अभ्यास हो ।’ स्ववियुले आफ्नो पहलमा निर्माण हुने योजनाहरु पनि सार्वजनिक गरेको छ । स्ववियु भवनका माथिल्लो तलामा अध्ययन र वैठक कक्षका लागि ट्रष्ट निर्माण गर्ने, शौचालय र खानेपानीको थप व्यवस्थापनका लागि पहल गर्ने, शिक्षण कक्षा, चेमनागृह, सभाहल, व्यवसायिक सटर सहितको भवन निर्माणका लागि क्याम्पससंग सहकार्य गर्ने, आगामी शैक्षिक शत्रदेखि डिजीटल परिचयपत्रको व्यवस्था, सुरक्षा गार्डलाई पनि अनिवार्य पोशाकको व्यवस्था, मध्यपहाडी लोकमार्गको निर्माणका क्रममा जोखिममा परेको क्याम्पस भवन र छात्रावासको सुरक्षाका लागि पर्खाल लगाउन पहल, स्नातक तहमा विविए, पत्रकारिता स्नाकोत्तर तहमा अँग्रेजी विषयको कक्षा सञ्चालन, शिक्षण अभ्यास, शोधपत्र लेखनका लागि भएको समस्या समाधानका लागि छुट्टै कोषको व्यवस्था गर्ने लगायतका कामहरु सञ्चालन गर्ने स्ववियुले तयारी गरेको अध्यक्ष थापाले जनाए । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी क्याम्पसका अध्यक्ष मनबहादुर थापा मनिषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष सुस्मिता बोहोरा र सञ्चालन सचिव विष्णुराज पौडेलले गरेका थिए । कार्यक्रममा भानु जयन्तीको अवसरमा लक्ष्मी थापा, सुरक्षा खड्का, लक्ष्मी शर्मा लगायतले सिर्जना वाचन गरेका थिए ।
Previous Article‘गोर्खे साईलो’लाई पुरस्कार प्रदान
Next Article ३० असार २०७४, ढोरपाटन दैनिक