डिल्लीप्रसाद गौतम
वर्तमान युग विज्ञान र प्रविधिको युग हो । आजको एक्काइसौं शताब्दिमा बिज्ञानले हामीलाई धेरै ने सेवा तथा सुविधा युक्त तुल्याएको छ । विज्ञान र प्रविधि कै माध्यमबाट अहिले सम्पूर्ण विश्व नै एक आपसमा ध्रुविकरण भएको छ । विश्वमा छिन–छिनमा घटेका घटना हरुको संचारको प्रविधिको माध्यमबाट तत्कालै जानकारी प्राप्त गर्न सम्भव भएको छ । सूचना र संचारमा भएको गुणात्मक विकासले हामीहरुलाई हरेक गतिविधिबाट सूसुचित तुल्याउन सहयोग भै रहेको छ । सूचना तथा संचारमा आएको विविध प्रविधिको माध्यमबाट हामीहरु संसारको कुनाकुनासम्म रहेका आफन्तसँग प्रत्यक्ष कुराकानी गरे सरह कुरा गर्न, देख्न वा भेट्न सक्दछौं । यसरी सूचना प्रविधिले विश्वलाई नै नजिक बनाइ रहँदा हामीहरु संचार माध्यमहरु जस्तै फोन, अखवार, रेडियो, टेलिभिजन वा सूचनाका अन्य माध्यमहरुको पहुँच भन्दा टाढा रहनै नसक्ने बनाइदिएको छ । यसरी संचार माध्यमसँग आम नागरिक हरुको गहिरो सम्बन्ध गाँसी रहँदा ति सुविधा प्रदान गर्ने निकायहरु भने आम नागरिकहरु प्रति जवाफदेहि तथा जिम्मेवार नबनेका जनगुनासा भने बेला–बेला आइरहन्छन् । चाहे ति सरकारी हुन वा गैह्रसरकारी जुन सुकै संघ संस्था वा सेवा प्रदायक सरकारी जिम्मेवार निकायहरु जनतालाई प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जिम्मेवार बन्नै पर्दछ ।
सेवा प्रदाय निकायहरुको गुणस्तरिय सेवा प्रदानका विषयमा यस लेखमा सदरमुकामको मुटुमा रहेको नेपाल टेलिकमले प्रदान गर्ने सेवाका बारेमा जनगुनासा पस्किने प्रयास गरिएको छ । उसो त त्यस संस्थाले प्रदान गर्ने सेवाहरु जस्तैः टेलिफोन, मोबाइल, इन्टरनेट लगायतका सेवाको गुणस्तरको बारेमा पटक–पटक प्रत्यक्ष वा विभिन्न संचार माध्यम मार्फत जनगुनासा बाहिर आइरहेकै पनि हुन् । तर पनि उक्त नेपाल टेलीकमले आफ्नो सेवामा गुणस्तरियता जाँच गर्न सकिरहेको पाइदैन । फोन तथा मोबाइलमा घण्टी जाने तर ग्राहकले कुराकानी गर्न नसक्ने तथा नेटको प्रयोगमा नियमितता नहुनु हप्तौं सम्म ग्राहकले नेट सुविधाबाट बञ्चित हुनुपर्दा एकातिर ग्राहकको पैसा अनाहकमा सेवा प्राप्त विना नै समाप्त हुने र अर्को तर्फ सेवा प्राप्त हुनबाट बञ्चित भै आफ्नो नियमित क्रियाकलाप संचालन गर्नमा कठिनाइ भएको पाइन्छ । बैंक तथा वित्तिय संस्थामा रुपैयाँ पैसा झिक्न वा राख्न जाँदा त्यही नेटका कारण घण्टौं सम्म कुर्नुपर्ने बाध्यता छ भने कहिले काँही त दिनमा कुरेर बस्दा समेत बैंकिङ्ग सेवा प्राप्त गर्न सकिदैन । यसरी आम नागरिकहरुको दैनिकी फोन, मोबाइल वा इन्टरनेट सँग जोडिइरहँदा सेवा प्रदायक निकायको गैह्रजिम्मेबारीका कारण उक्त संस्थाद्वारा प्रदान गरिएको सेवा प्रति आम नागरिकहरु सेवा प्रदायक निकायको सेवा प्रति असन्तुष्टि रहेता पनि जिम्मेबार निकाय भने उक्त सेवाका बारेमा मौन रहेको पाइन्छ । उसो त उक्त सेवा बाट जिल्लामा संचालित सम्पूर्ण सरकारी वा गैह्र सरकारी निकायहरु पनि उत्तिकै मारमा परेका छन् । तर पनि नेपाल टेलिकमद्वारा प्रदान गरिएको सेवाका बारेमा कुनै पनि जिम्मेबार निकायहरु मौन बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उसो त बागलुङ जिल्ला र खासगरि सदरमुकामभित्र संचालित सरकारी निकायहरु चाहे त्यो नेपाल टेलिकम होस् वा नेपाल विद्युत प्राधिकरण, घरेलु उद्योग कार्यालय होस् वा मालपोत कार्यालय र नापी कार्यालय, बागलुङ नगरपालिका कार्यालय होस् वा जिल्ला समन्वय समितिको कार्यालय कनुैपनि सेवा प्रदायक निकायले प्रदान गरिएको सेवामा गुणस्तरियताको बारेमा पटक–पटक नागरिक हरुको जनगुनासो आइ नै रहेका हुन्छन् । तर पनि जिम्मेवार निकायहरु जनगुनासाको समाधान गर्ने विषयमा त्यति संवेदनशिल रहेको पाइदैन ।
यस लेखमा कुरा गर्न थालिएको नेपाल टेलिकमको सेवाको विषयमा पहिल्लो दिनहरुमा नागरिकहरुको गुनासा अत्याधिक आएको पाइन्छ । उक्त संस्थाले प्रदान गरेका फोन लाइनको मर्मत, ठाउँसारी वा नयाँ सेटव जडान र इन्टरनेटको बारेमा नागरिकहरुले हदैसम्मका हैरानी भोगिरहेका छन् । एउटा फोन लाइन विग्रेर कमप्लेन लेखाएको एक हप्ता सम्म पनि बजार क्षेत्र भित्रको लाइन मर्मत नहुँदा नागरिकहरुले हैरानी खेप्नुका साथै सेवाबाट सञ्चित हुनु परेको छ । त्यती मात्र हैन बजार क्षेत्र भित्र नै एक ठाउँको फोन अर्को ठाउँमा सार्नको लागि रसिद काटेको १ हप्तासम्म पनि उक्त कार्यालयका कर्मचारी उपस्थित हुँदैनन् । इन्टरनेट सुविधा प्राप्त नभै कम्पेलेन देखाउँदा हप्तौं सम्म उपभोक्ताले सेवा प्राप्त गर्न सक्दैनन् । यसरी उक्त संस्थाद्वारा संचालित हरेक सेवाहरु प्रति आम नागरिकहरुले प्रश्न उठाइरहँदा समेत न त सो विषयमा सम्बन्धित कार्यालयले ध्यान दिएको पाइन्छ न त सरोकारवाला निकायहरुले नै । सदरमुकाम भित्र बस्ने र सेवा प्रयोग गर्ने नागरिकहरुको त उक्त निकायले प्रदान गर्ने सेवा तथा सुविधाका विषयमा यो हविगत छभने दरदराजका नागरिकहरुले उक्त सेवा प्रदायक निकायबाट के आशा राख्ने ? अझै भन्नुपर्दा अहिलेको समय प्रतिस्पर्धाको समय पनि हो । नेपाल टेलिकमले प्रदान गर्ने किसिमका सेवा प्रदान गर्ने अन्य कम्पनी तथा संघ संस्थाहरु पनि छन् । एकातिर उक्त संस्थाहरुसँग प्रतिस्पर्धी भुमिका निर्वाह गर्नुपर्ने हुन्छ भने उपभोक्ताहरुको माग र चाहाना अनुसारको सेवा सुलभ भरपर्दो सरल र शिघ्र तथा गुणस्तरिय सेवा प्रवाह गर्नु दरसंचार कार्यालय बागलुङको कर्तव्य पनि हो । त्यसैले अहिलेको समय सुहाउँदो चुस्त र दुरुस्त सेवा प्रवाह गरी आफ्नो ग्राहकहरुको इच्छा चाहाना र आवश्यकता अनुसारको सेवा प्रवाहको गर्नको लागि उचित प्रविधिको र सक्षम जनशक्तिको प्रयोग गरी आफ्नो ग्राहक हरुको समस्या सम्बोधन गर्न सम्बन्धित निकायको ध्यान जाओस् । आगामी दिनहरुमा उपभोक्ता हरुको गुणस्तरिय सेवा प्राप्त गर्ने अधिकारमा सेवा प्रदायक निकायको हैसियतले समस्याको उचित समाधान गर्न तर्फ सेवा प्रदायक संस्था नेपाल टेलिकम लगायत सम्बन्धित निकायको ध्यान केन्द्रित होस् यही शुभकामना !!!