पहिलो चरणको स्थानिय तहको निर्वाचनमा पहिलो स्थान ओगटेको नेकपा एमालेले दोस्रो चरणको चुनावमा पनि पहिलो बन्यो । शान्तिपुर्ण तरिकाले दोस्रो चरणको चुनाव हालै सम्पन्न भएको छ । पहिलो बनेको नेकपा एमाले १ सय ५१ स्थानिय तहमा जित दर्ता गरायो भने दोस्रो बनेको देशकै ठुलो पार्टी नेपाली कांग्रेसले १ स य २२ मा विजयको झण्डा फहरायो । तेस्रो बनेको माओवादी केन्द्रले ३८ स्थानिय तहमा जित्यो । राप्रपा, फोरम–नयाँ शक्ति, फोरम लोकतान्त्रिक र अन्य साना दलले ४ देखि ८ स्थानिय तहमा चुनाव जिते । कतिपय ठाउँमा एकल चुनावी प्रतिष्पर्धा गरेपनि केही ठाउँमा राजनीतिक दलहरुले चुनावमा तालमेल समेत गरेका थिए । संविधान संशोधन नभएसम्म चुनावमा सहभागी नहुने राष्ट्रिय जनता पार्टी (राजपा) अडान लिएपनि कार्यकर्ताले भने स्वतन्त्र रुपमा उम्मेदवार दिए, चुनाव प्रतिष्पर्धा गरी विजयको झण्डा समेत फहराए ।
राजपाले तराई–मधेस क्षेत्रमा आफ्नो पकड रहेको बताउँदै आएका थिए । उनीहरुको आधार इलाकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले विजयको ध्वजा फहराएका छन् । राजपाका पकड क्षेत्र भनिएका निर्वाचन क्षेत्रमा मतदान गर्नको लागि जनताको लहर नै चल्यो । वर्षा याममा खेतमा धान रोप्ने काम छाडेर तराई–मधेशका जनताले चुनावमा उत्साहजनक सहभागिता जनाए । यसले प्रष्ट सन्देश दिएको छ कि मधेसी जनता चुनाव चाहेका छन् । निर्वाचनमा सहभागी भएर तराई–मधेसका जनताले आफ्ना जनप्रतिनिधिहरु छानेका छन् । अब आफ्नो ठाउँमा विकास हुनेमा उनीहरु उत्तिकै ढुक्क छन् । एकपछि अर्काे माग तेर्साउँदै आएको राजपालाई अब जसरी पनि सहभागी हुनुपर्ने बाध्यता हुनेछ । किनभने मधेसका जनता संविधान संशोधन जस्तो विषयमा अल्झिएर देशलाई धरापमा पार्न चाहदैनन् । स्थानिय तहको चुनाव समयमै गर्नुपर्ने अर्काे बाध्यता पनि छ । चुनाव समयमै सम्पन्न भएन भने संविधान कार्यान्वयनमा कठिनाई हुन्छ । जसले देशलाई केवल बर्बादीतिर धकेल्ने छ ।
मुलुकको राष्ट्रिय राजनीति नै चुनावमय भएको छ । वर्षायाम र कामको चटारो भए पनि जनताको उत्साह अत्याधिक रहेको छ । विगत लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय तहको निर्वाचनले आम नागरिकमा ठूलो तरङ ल्याउन सफल भएको छ । देशलाई अस्थिर बनाउन चाहने राजपाको योजनामा मधेसी जनता सहमत छैनन् भन्ने कुरा चुनावले प्रष्ट पारेको छ । उनीहरुको दाबी गरेको आधार इलाकामा प्रभाव कस्तो रहेछ भन्ने कुरा पनि चुनाव छर्लङ पारेको छ । दुई नम्बर प्रदेशमा तेस्रो चरणको चुनावको चर्चा गर्नुपर्ने बेलामा फेरि राजपाले संविधान संशोधनको एजेण्डालाई अघि सारेको छ । संविधान संशोधनमा राप्रपाले मुख खोलेको छैन भने एमालेले ठाडै अस्वीकार गरेको छ । चुनावसम्म संशोधनलाई स्थगित गरि र त्यसपछि खुला छलफल गर्न सकिने भएपनि सत्ता पक्ष र राजपाले त्यही मागमा अड्डी कस्नु जायज पनि छैन । त्यसैले संविधान संशोधनको मुद्दा थाती राख्दै दुई नम्बर प्रदेशको चुनावमा सबै जुट्नु पर्छ ।
Previous Article३५ खेलाडीलाई विशेष प्रशिक्षण
Next Article गुणस्तरिय सेवा र जिम्मेवार निकाय