बागलुङ, २८ असार – गुल्मी अमराईकी गिता नेपालीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खर्वाङ प्रहरी चौकीले बडीगाड गाउँपालिकाका–२ सक्नेरका २० वर्षिय हिराबहादुर मगरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हरिचौरमा पठाएको छ । खर्वाङबाट प्रनानि भोजबहादुर बानियाँको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्त मगरलाई घरबाटै पक्राउ गरेको हो । प्रहरी निजको घरमा पुगेपछि उनका बाबुले चार पाँच दिनदेखी छोरालाई घरमा नदेखेको बताएपछि घर खानतलासी गर्न लाग्दा अभियुक्त मगर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । घटनाका दिन अभियुक्त मगर, मृतक गीता नेपाली र उनकी भाउजु सीता नेपाली राति ८ बजेसम्म संगै बसेर मदिरा सेवन गरेको खुल्न आएपछि घटना थप रहस्यमय बनेको छ । गीताको हत्यामा को–कसको संलग्नता थियो ? के कारणले हत्या गरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले सोधपुछका लागि लब्दीखोला मोटरेबल पुलका ठेकेदारलाई हरिचौर इलाका प्रहरी कार्यालयमा पठाएको श्रोतले बताएको छ । अहिले मृतक गीता नेपालीका श्रीमान धनबहादुर नेपाली, बुबा, भाउजू सीता नेपाली सहितका समूह हरिचौरमा रहेको छभने मृतकको शव पोष्टमार्टम आज गरिने बताईएको छ ।
Previous Articleथापाखोला विद्युत आयोजना अन्तिम चरणमा
Next Article ३५ खेलाडीलाई विशेष प्रशिक्षण