म्याग्दी, २८ असार – जिल्लाको सदरमुकाम बेनीमा मङ्गलबार भू–उपयोगसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, राष्ट्रिय भू–उपयोग आयोजना बानेश्वर काठमाडौंको आयोजनामा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल गरिएको हो । कार्यक्रममा आयोजनाका नापी अधिकृत ईन्जिनियर सुमिर कोईरालाले भू–उपयोगसम्बन्धी विषयमा श्रब्यदृश्य सामाग्रीसहित सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पछिल्लो समय जग्गा प्लटिङ बढ्दै गैरहेको हुँदा यसलाई रोक्नुपर्ने बताउँदै स्थानीय तहले भू–उपयोग नीति लागू गरेमा नयाँ भवन तथा घर बनाउँदा सहज हुने बताएका थिए । नेकपा माओवादी केन्द्रका देवराज सुवेदीले खेतीयोग्य जमिनमा जग्गा प्लटिङको कार्य बढेको हुँदा भू–उपयोग नीति निर्माण गर्दाखेरी सरोकार राख्ने निकाय र उच्च तहमा छलफल गरी लागू गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले जमिनको जिओलोजिकल हिस्टोरी हुन्छ कि हुँदैन भन्दै मानिस बस्दै आइरहेको जमिन पहिरो गएको होकी नदिले छोडेको हो ? भनी प्रश्न गरेका थिए । कार्यक्रमका सहभागीले उठाएको जिज्ञासाको उत्तर दिँदै इन्जिनियर कोईरालालाले भू–उपयोगसम्बन्धी नीति ऐनको रुपमा आउन लागेको बताएका छन् । उनले अहिले सम्बन्धित मन्त्रालयमा नीतिबारे छलफल भैरहेको बताउँदै उनले साउन भदौबाट कार्यान्वयनमा आउने बताए । कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले विकास निर्माणसम्बन्धी योजना बनाउँदा र घर तथा भवनको निर्माणमा भू–उपयोग नीति अबलम्बन गर्नुपर्ने बताएक थिए । प्रजिअ पौडेलको अध्यक्षता, मालपोत अधिकृत कृष्णबहादुर बानियाँको स्वागत र आयोजनाका खरिदार सरिता गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधिको सहभागीता थियो ।