काठमाडौं, २७ असार– नेपाली युवा फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपालका लागि आजको खेल महत्वपूर्ण हुने छ । सातदोवाटोस्थित एक्फा कम्प्लेक्स मैदानमा हुने खेलमा गल्ची सच्याउनु नेपालको महत्वपूर्ण चुनौती हुने छ । नेपाली टोलीको प्रशिक्षक राजुकाजी शाक्यले पनि गल्ती सच्याएर उत्कृष्ट प्रदर्शन गर्ने मूख्य लक्ष्य रहेको बताएका छन् ।
नेपाल र बंगलादेशको २३ वर्ष मुनिको टोली पछिल्लो समय भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा भिडेका थिए । समूह चरणको खेलमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो । एएफसी यू–२३ च्याम्पियनसिप छनोट प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा असार ३१ गतेदेखि साउन ४ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘डी’मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान छन् ।