म्याग्दी, २७ असार – चालु आर्थिक वर्ष २०७३/७४ मा म्याग्दी जिल्लामा न्युन मात्रामा यार्सागुम्बा सङ्कलन भएको छ । आधा जीव र आधा वनस्पतिको अस्तित्वमा रहने शक्तिबद्र्धक बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनका लागि पुर्जी लिएका व्यापारीले थोरै परिमाणको मात्रै यार्सागुम्बा सङ्कलन गरेका हुन् । यसवर्ष यार्सागुम्बा सङ्कलनका लागि पाँच जनाले पुर्जी लिएको र उनीहरुले जम्मा साढे ४ केजी सङ्कलन गरेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । साढे ४ केजी सङ्कलन लिएकोमा ३ केजी २० ग्राम यार्सागुम्बा सङ्कलनकर्ता व्यापारीले लगेको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार स्थानीय तहमै यार्सागुम्बा सङ्कलन गरिनु, गुणस्तरीय कम हुनु, बजार मुल्यमा गिरावट, जलवायु परिवर्तनको असर, समयमा हिउँ नपर्नु र लोप हुँदै जान थालेपछि यार्सागुम्बा सङ्कलनमा कमी आएको हो । गतवर्ष पनि विनाशकारी भूकम्प, नाकाबन्दी, हिउँदको समयमा वर्षा नहुनु, राजश्वको दरमा वृद्धि, बजार मूल्यमा गिरावटलगायतका कारणले गर्दा न्युन मात्रामा यार्सागुम्बा सङ्कलन भएको थियो । देशका हिमाली क्षेत्रका विभिन्न जिल्लाहरुमा यार्सागुम्बा सङ्कलन भए पनि म्याग्दीमा भने पछिल्लो समय अपेक्षा गरेअनुसार यार्सागुम्बा सङ्कलन हुन सकेको छैन । नेपाल सरकारले २०६७ सालदेखि अनुमति दिएपछि जिल्लाको गूर्जा, मुदी, लुलाङ, चिमखोला, कुईनेमङ्गले लगायतका उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन हुने गरेको सहायक वन अधिकृत ठाकुरको भनाई छ । यार्सागुम्बा सङ्कलनका लागि पुर्जी लिन सीमित व्यापारी आउँदा राजश्वमा समेत गिरावट आएको उनले बताए । जिल्लाको हिमाली भेगमा यार्सा खोज्न जाने गरिए पनि पर्याप्त यार्सा पाइन छाडेको स्थानीयवासिन्दाले बताएका छन् । जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार २०६७ सालमा १६.५० केजी, ०६८ मा ९.९५० केजी, ०६९ मा ९.९ केजी र ०७० मा सबैभन्दा धेरै २० केजी मात्रै यार्सा सङ्कलन भएको थियो । हिमाली क्षेत्रमा पाइने विभिन्न जडिबुटीमध्ये यार्सागुम्बा निकै महत्वपूर्ण र सबैको रोजाइमा पर्ने गरेको छ । यसवर्ष मुदीबाट यार्सा खोज्न हिमालतिर गएका स्थानीयले पर्याप्त यार्सा नपाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । अनुकूल मौसममा हिमाली क्षेत्रका बासिन्दाले डेढ महिनासम्म यार्सा सङ्कलन गर्ने गर्दछन् । सरकारले एक किलो यार्सागुम्बा खरिदका लागि २५ हजार रुपैयाँ राजश्व तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यार्साको बजार मुल्य न्युनतम सात लाखदेखि माथि रहेको व्यापारीहरु बताउँछन् । एक किलो यार्सामा ३५ सयदेखि ४ हजारसम्म बुटी हुने गर्दछ । नेपाली बजारमा खपत हुने अधिकांश यार्सा भने अवैध रुपमा चोरी निकासी हुने गरेको छ । हिमाली क्षेत्रका बासिन्दाका लागि यार्सागुम्बा जडीबुटीहरुमध्ये प्रमुख आयस्रोत मानिन्छ । यार्सागुम्बालाई यौन क्षमता बढाउने औषधीका रुपमा पनि लिने गरिएको छ । विगतका वर्षहरुमा यार्सा खरिदका लागि व्यापारीहरुले हेलिकप्टर नै चार्टर गरेर ओसारपोसार गर्ने गरेको भए पनि पछिल्लो समय म्याग्दीमा त्यस्तो देखिएको छैन । यार्सा खोज्नका लागि विकट गाउँका स्थानीय विद्यालय नै बन्द समेत जाने गर्दथे ।