बागलुङ, २७ असार – जिल्लाका एक कृषि समूहले वार्षिक रु १५ लाख बराबरको तरकारी उत्पादन गर्दै आएको छ । गलकोट नगरपालिका–११ रिघाको मिलिजुली कृषि समूहले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो । एकै याममा रु. पाँच÷छ लाखको तरकारी बेच्ने गरेको समूहका अगुवा किसान जितबहादुर रानामगरले बताए । अठार रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले बाह्रैमास उत्पादन दिने गरेको उनको भनाई छ । किसानले भाडा, तलब र अन्य व्यवस्थापन खर्च कटाएर आम्दानीको आधा रकम नाफा लिने गरेका छन् । समूहमा चारजना किसान आबद्ध रहे पनि मुख्य जिम्मेबारी रानामगरको काँधमा छ । ‘हामी चार जनाको लगानी छ, काममा भने म मात्र खटिएको छु’, रानामगरले भने, ‘कृषि कर्मले सन्तुष्टि दिएको छ, हामी सफल छौँ ।’ समूहले रिघाको फेदीमा र नजिकै पर्ने बढीगाड गाउँपालिका–२ खरबाङ्मा गरी दुई स्थानमा जग्गा भाडा लिएर तरकारी खेती गरिरहेको छ । वार्षिक रु. ४५ हजारमा जग्गा भाडामा लिएर सूमहले छ वर्षअघि देखि व्यावसायिक तरकारी खेती सुरु गरेको हो । ‘शुरुमा रु नौ लाख लगानी ग¥र्यौं, अहिले लगानी बढेर रु. २५ लाख पुगेको छ’, रानामगरले भने । बाह्रवटा प्लास्टिक घरमा मौसमी बेमौसमी सबैखाले तरकारी उत्पादन हुने गरेकोे छ । समूहले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु. १० लाख अनुदानसमेत पाएको छ । उक्त अनुदान रकमबाट तरकारी खेती विस्तार गर्दै जाने योजनामा समूह लागिपरेको छ । यही वर्ष थप उच्चस्तरीय प्रविधिको प्लास्टिक घर थपेको समूहका अर्का किसान शेरबहादुर श्रीसले बताए । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको अनुदानबाहेक अन्य निकायबाट कुनै पनि सहयोग नपाएको उनको भनाई छ । समूहले मुख्यगरी गोलभेँडा, काउली, बन्दा, सिमी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन गर्दै आएको छ । प्लास्टिक घरमा मलेसियाली सिमीसमेत उत्पादन भइरहेको किसानको भनाई छ । त्यहाँ उत्पादन हुने तरकारी खरबाङ्, हटिया, गुल्मीको टक्सार लगायतका बजार क्षेत्रमा बिक्री हुने गरेको छ । तरकारी उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसान बताउँछन् । मिलीजुली कृषि समूह जिल्लामै नमुनाका रुपमा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कृषिको व्यावसायिकीकरणमा समूहले राम्रो उदाहरण दिएको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए ।
Previous Articleगर्भवती श्रीमतीको यसरी गरौ हेरचाह
Next Article औषत ५० ग्राम मात्र मह खान्छन् नेपाली