पर्वत, २६ असार – जिल्लाको कुश्मा नगरपालिका –१ पाङ घर भएका शिक्षक नारायण पौडेलको मृत्यु हत्याका कारण भएको भन्दै आफन्तले शबयात्रा सहित सदरमुकाम कुश्माबजारमा बिरोध प्रदर्शन गरेका छन् । मृतक पौडेलको शबलाई काठमाण्डौमा डिएनए परिक्षण र पोष्टमार्टम गरि सदरमुकाम ल्याइएपछि आफन्तहरुले पौडेलको हत्या नै भएको भन्दै दोषीलाई कारबार्हीको माग गरेर बिरोध जुलुस निकालेका हुन । जिल्ला प्रहरी कार्यालयबाट शुरु भएको जुलुसले कुस्माबजार परिक्रमा गरेको थियो । जुलुसमा सहभागीले ‘हत्यारालाई काबार्ही गर’ शिक्षक पौडेलले पढाउने आइबल बोडिङ्ग’ खारेज गर लगायतका नारा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय अगाडी सडक अबरोध गर्ने क्रममा केहीबेर दोहोरो झडप समेत भएको थियो । झडपमा परी प्रहरी जवान दिवान शाही, म्यादी प्रहरी कुश्मा नगरपालिका–७ निवासी अंकित नेपाली, कुनपा–१२ निवासी डम्बरबहादुर कुँवर र कुनपा–५ बस्ने लालबहादुर पुन समेत प्रदर्शनकारीको ढुंगा प्रहारबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । स्थानिय आफन्तहरु उनीहरु पौडेलको हत्या नै भएको भन्दै घटनाको राम्रोसँंग अनुसन्धान गर्न र दोषीलाई कारबाहीका लागि दबाब स्वरुप आन्दोलन नै गरिएको बताएका छन् । पोष्टमार्टम रिपोर्टमा ‘घाँटीमा लागेको चोटका कारण मृत्यु भएको’ भन्ने देखिएपछि मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले घटनाको अनुसन्धान भैरहेको बताए । ‘पोष्टमार्टम रिपोर्ट आएपछि घटना शंकास्पद देखिएकाले अनुसन्धान भैरहेको छ’ उनले भने ‘घटनाको अनुसन्धान गरि यथार्थ बाहिर ल्याउने र दोषी भेटिएमा काबार्ही हुन्छ ।’ बिद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार सात दिनको म्याद थपेको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अन्र्तगत कालीगण्डकी नदी किनारमा शव भेटिएको थियो । कुश्मा–१ पाङ घर भएका २० बर्षिय पौडेल कुश्मा–५ मेलमिलापचोकमा डेरा लिएर बस्दै आएका थिए । बिद्यालयमा बिद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई माफी माग्न आग्रह गरिएको र उक्त दिनपछि नारायण बिद्यालय जान समेत छाडेका थिए । पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएको प्रहरीले जनाएको थियो । तीन छोरामध्ये उनी परिवारका माइला छोरा हुन् ।