बाढी पहिराबाट देशका विभिन्न भागमा जनधनधको क्षति भईरहेको छ । क्षति रोकथामका लागि दीर्घकालिन उपाय अवलम्बन गर्नको लागि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएपनि काम भने कछुवा गतिमा भईरहेको छ । वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्की लगायतका जिल्लामा बाढी, पहिरो, भारतीय बाँध, अतिवृष्टि र खण्डवृष्टिका कारण स्थानीयवासी प्रभावित भईरहेका छन् । सरकारले व्यवस्थित बस्ती प्रणाली स्थापना गरी पीडितलाई उचित क्षतिपूर्ति दिन पनि सकेको छैन । विशेषतः हरेक वर्ष तराईका जनता बाढीबाट प्रभावित हुँदै आएका छन् । भारतले एकतर्फी रुपमा तराईका सीमावर्ती क्षेत्रमा बनाएका बाँध थुनिँदा नेपाली भूभाग जलमग्न हुँदै आएको छ । तराईका जनताहरुले हरेक वर्ष यस्ता समस्या भोग्दै आएपनि नेपाल सरकारले कूटनीतिक पहलबाट भारत सरकारसँग संवाद गर्नुबाहेक अरु काम हुन सकेको छैन । भारतले बनाएका एकतर्फी बाँध भत्काउने विषयमा नेपाली नागरिक ज्यान गुमाएका पनि छन् । मातृभूमी बचाउन जनताले बलिदानी दिएपनि सरकारले भारतीय बाँध भत्काउनेबारे ठोस कदम चाल्न सकेको छैन ।
मधेस आन्दोलन र अघोषित नाकाबन्दीसंगै भारतले बाँकेको दक्षिणी सीमावर्ती क्षेत्र दशगजासँगै जोडेर सडक निर्माण गरेको छ । उक्त बाँधले नेपालबाट भारत बग्ने पानीको निकाश रोकिएर नेपाली भूभाग डुबानमा पर्दै आएको छ । नेपाल सरकारको आपत्तिका कारण केहि समय निर्माण कार्य सुस्त भएपनि नेपालीको ध्यान मधेश आन्दोलन र नाकाबन्दीमा परेको मौका छोपी भारतले सडकबाँधको निर्माण कार्यलाई तिब्रता दिएको थियो । यही समस्याका कारण सीमावर्ती क्षेत्रमा दुई देशका नागरिकबीच समय–समयमा तिक्ततासमेत बढ्दै गएको छ । समस्याको दीर्घकालिन समाधान द्धिदेशीय समाझदारीबाटै गर्नुपर्छ र यो जतिसक्दो चाँडो हुनुपर्छ । अन्यथा हरेक वर्ष तराईका जनता डुबानमा पर्नुपर्ने छ । यसका लागि नेपाल सरकारले भारत सरकारलाई घच्घच्याउन जरुरी छ । गत आइतबार मात्रै अविरल बर्षाका कारण खाँडो लगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीका एक हजार पाँच सयभन्दा बढी घर डुबानमा पर्नुका साथै जनजीवन अस्तब्यस्त भएको छ ।
बाढीले सप्तरीकाका एक दर्जनभन्दा बढी बस्ती मात्रै प्रभावित भएका छैनन्, सडक कल्भर्टलगायतका भौतिक संरचनासमेत तहसनहस भएका छन् । बाढीका कारण तिलाठी, करपुरा, रम्पुरा मल्हनियाँ, बसविट्टी पौवा मुसहरनिया पिपराही रुपनी, पकरी त्रिकौल लौहजारा, मैनाकडेरी, भारदह, पोर्तालगायतका गाउँका बासिन्दाको जनजीबन अस्तव्यस्त भएको हो । यो सबै हुनुका पछाडि भारतले एकपक्षिय रुपमा बनाएका बाँधका कारणले हो । सीमावर्ती भारतीय भागमा जर्बजस्ती बाँध बाँधेर नदीको मुहान थुन्ने गरेकाले नेपाली भु–भाग डुबानमा पर्ने गरेको प्रस्टै छ । यस्तो गंभीर विषयमा कुटनीतिक संयन्त्रमार्फत संरचना निर्माणका बिषयमा देखिएका विवाद निरुपण खोज्न सरकारले तदारुकता देखाउनु पर्छ । त्यसो गरेमात्र तराई मधेस क्षेत्रमा बर्सेनि आउने बाढीबाट हुने सम्भावित क्षति न्युनिकरण गर्न सकिन्छ । सरकारले तराईका जनतालाई सहज जीवनयापन गर्ने वातावरण बनाउन भारतसंगै संवाद गर्नुपर्छ ।
Previous Articleकेन्द्रिय विद्युत विस्तारगर्न सरोकार समिति
Next Article कर्जा संकट र कारणहरु