बागलुङ, २० असार – खेतमा पानी लाने कुलोमा आएको बाढीले कुस्मीसेरा बजारबासीलाई हैरान पारेको छ । बर्खा सुरु भएसँगै कुलोमा आएको बाढी कुस्मीसेराको तल्लो बजारमा पसेपछि स्थानीयबासी हैरानीमा परेका हुन् । जैमिनी नगर पालिकाको मुख्य ब्यापारिक केन्द्र केुश्मी सेरामा व्यवस्थित ढल निकासीको अभावका कारण बर्खाको समयमा स्थानीयहरु सास्ती व्यहोर्ने गरेका छन् । कुश्मिसेरामा रहेको खेतमा लैजाने पानीको कुलो समेत तल्लो बजारको बिचभागमा रहेकाले कुलोबाट तल्लो बजारमा बाढि पस्ने गरेको स्थानीय नारायण शर्माले जानकारी दिए । ‘जब रातमा वर्षा हुन्छ तब जागाराम बस्नुपर्छ’ स्थानीय नबिन प्रताप जिसिले भने–‘रातमा उठेर कुलो सफा नगरे बाढि घर भित्र जान्छ ।’ समयमै कुलो–नाली बनाएर सफा र व्यवस्थित बजार निर्माणको लागि कुलोको बैकल्पिक उपाय अपनाउनु पर्नेमा स्थानीयको जोड छ । व्यवस्थित कुलोको अभावमा पैदल यात्रीलाई समेत सास्ती हुने गरेको छ । जैमिनी नगरपालिकाका सर्कुवा, बिनामारे, अर्जेवा, जैदी, छिस्ती लगायतका ठाऊँबाट कामले कुश्मीसेरा आउने–जाने पैदल यात्रीहरु हिले÷कुलोबाटोबाट हिड्नु पर्ने अवस्था रहेको छ । जैमिनी नगरपालिकाको कार्यालय अघिबाटै कुलो बगेपनि कुलो व्यवस्थित गराउन तर्फ जनप्रतिनिधिहरुले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ । वर्षौँदेखि एउटै समयस्या भोग्दै आएका कुश्मीसेराबासीले व्यवस्थित बजारको लागि कुलो÷नालिलाई व्यवस्थित गराउनु पर्ने, अव्यवस्थित तरिकाबाट निर्माण भइरहेका घरहरुलाई रोक्नु पर्ने, व्यवसायीक आचरण विकासको लागि नगर क्षेत्रमा तालिम सञ्चालन गर्नु पर्ने लगायतका कुराहरु उठाउँदै आएका छन् । यसैबीच, बागलुङको जैमिनी नगरपालिका वडा न. ७ जैदी बोरका २ घर पहिरोको जोखिममा परेका छन् । बोरका बिक्रम राना र डिलबहादुर रानाको घर पहिरोको जोखिममा परेको हो । घर भन्दा तल देखि ५५ मिटर लामो पहिरो गएको छ भने घरभन्दा माथिको भागबाट पनि पहिरो गएकोले २ घर पहिरोको उच्च जाखिममा परेका हुन् । अव्यवस्थित तरिकाबाट मोटरबाटो खनेकाले बर्षा सँगै पहिरो जान थालेपछि घरहरु उच्च जोखिममा पर्दै गएका हुन् । इन्जिनियरले नापेर व्यवस्थित मोटरबाटो खन्ने भन्दा पनि निश्चित व्यक्तिहरुले आफुहरुलाई पायक पर्ने गरि मोटरबाटो खन्ने गर्दा देशका विभिन्न ठाऊँमा खनिएका मोटरबाटोमा मोटर गुड्न समेत गाह्रो हुने गरेको छ । बाटोको तह नमिलाई खन्दा मोटरबाटो ठाडो उकालो÷ओरालो हुने, ठाउँठाऊमा घुम्ति हानिएकाले गाडी चलाउन मुस्किल हुने गरेको छ ।
Previous Articleपर्वतमा खानेपानी आयोजना निर्माण
Next Article २० असार २०७४, धौलागिरी स्टार साप्ताहिक